पोखरा महानगरमा एमालेको उम्मेदवार छान्न मतदान, को-को छन् आकांक्षी ?

पोखरा । नेकपा एमालेले गत मंगलबार मेयर र उपमेयरको आकांक्षीको नाम टिप्यो । पोखरा महानगर कमिटीले यहाँका दुवै पदमा नाम टिपेपछि सर्वसम्मतको प्रयास गरियो ।

४ दिनसम्म सर्वसम्मत हुन नसकेपछि नयाँ प्रक्रियाबाट चयन सुरु भएको छ । आज मेयर उपमेयरको उम्मेदवार छान्न मतदान हुनेछ । पोखरा महानगर कमिटीका सदस्य र महानगरभित्रका जिल्ला सदस्यहरूले भोट हालेर आफ्ना उम्मेदवार छान्ने छन् ।

यहाँ एमालेको ११० मतदाता छन् । यसअघि मेयरमा १२ र उपमेयरमा ११ जनाले आकांक्षा देखाएका थिए । आज मनोनयन भने ती नाम बाहेक अरूले पनि दिन पाउने व्यवस्था छ । यसका लागि एमालेले आफू निकटका ४ वकिल सम्मिलित निर्वाचन मण्डल गठन गरिसकेको छ । वकिलहरू कमल अर्याल, यामबहादुर खड्का, भगवती पहारी र जुनाकुमारी गुरुङलाई चुनावी जिम्मा दिइएको छ ।

मंगलबार भएको नामावली संकलनका क्रममा मेयरका लागि केन्द्रीय सदस्यहरू भीम कार्की, कृष्णबहादुर थापा, राजीव पहारी र मीनाकुमारी गुरुङ, प्रदेश उपसचिव रश्मी आचार्य, प्राडा विश्वकल्याण पराजुली, पोखरा १३ का वडाध्यक्ष लेखबहादुर तामाङ (दर्शन लामा), नेताहरू पुष्पज्योति दुंगाना, पुष्पराज अधिकारी, दीपक पौडेल, बालसिंह काउचा मगर र सावित्री भण्डारीले आन्तरिक बैठकमा उम्मेदवारी दिएका थिए ।

महानगर उपमेयरमा पोखरा १९ का वडाध्यक्ष शोभामोहन पौडेल, वडा नम्बर १६ का अध्यक्ष जीवन आचार्य, वामदेव ढुंगाना, टीकाराम पंगेनी, तेजनारायण अधिकारी, सञ्जीवबहादुर कोइराला, देवका पहारी, जीवनप्रसाद आचार्य, बैनबहादुर अधिकारी क्षेत्री, हरिमाया गुरुङ, बलराम गायक र सुष्मा पौडेलले आन्तरिक बैठकमा उम्मेदवारी दर्ता गरेका छन् । आकांक्षीहरु सबैले आज मनोनयन दर्ता गर्नुपर्ने छ । दुवै पदका लागि ३ हजार मनोनयन शुल्क तोकिएको छ ।

एमालेले १ महिला सहित ३ जनाको नाम मेयरमा र सोही सङ्ख्यामा उपमेयरमा उम्मेदवार सिफारिस गर्नेछ । उक्त नामावली वैशाख ४ गतेसम्म प्रदेश कमिटीमा पुग्ने र त्यहाँबाट छलफल भएर केन्द्रमा पठाइने एमालेले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *