यी हुन् सुर्खेतका ९ स्थानीय तहमा एमालेबाट उम्मेदवार बन्न चाहनेहरू

सर्खेत । नेकपा (एमाले) सुर्खेतले जिल्लाका नौवटै पालिकाका प्रमुख तथा उपप्रमुख एवम् अध्यक्ष र उपाध्यक्षको उम्मेदवार चयन प्रक्रिया शुरू गरेको छ । एमाले सुर्खेत अध्यक्ष अमृत बिसीका अनुसार पालिकामा आकाङ्क्षीहरूको सङ्ख्या धेरै रहेको छ ।

पार्टीले वैशाख ३ गते भित्र जिल्लामा पालिकाबाट उम्मेदवारको अन्तिम नाम सिफारिस गर्न समेत अनुरोध गरेको छ । तर, हालसम्म पालिकामा छलफल नै जारी रहेको एमालेले जनाएको छ । अध्यक्ष बिसीले सुर्खेतको पूर्व गुर्भाकोट नगरपालिकामा मात्रै मेयरमा तिलक खत्रीको नाम अगाडी आएको बताए ।

यस्तै, गुर्भाकोट बाहेक अन्यत्र आकाङ्क्षीको सङ्ख्या धेरै भएपछि उम्मेदवार छान्न एमालेलाई सकस परेको छ । चौकुने गाउँपालिकाको अध्यक्षका लागि निर्मला राना मगर, हरि अधिकारीको दाबी छ भने पञ्चपुरी नगरपालिकाको मेयरका लागि धनबहादुर थापा, रेशम राना मगर, भीम रावत र शान्ति खरालको दाबी छ । बराहताल गाउँपालिकामा घनश्याम पाण्डे र इन्द्र केसीको दाबी छ ।

सबैभन्दा बढी वीरेन्द्रनगर नगरपालिकामा मेयर पदका आकाङ्क्षी धेरै देखिएका छन् । यो नगरपालिकामा एमाले जिल्ला अमृत बिसी, उपाध्यक्ष कुलमणि देवकोटा, वीरेन्द्रनगर नगरपालिका उपप्रमुख मोहनमाया ढकाल, महेन्द्र शर्मा, डिलराम गिरी, नीलकण्ठ खनाल, हरिहरनाथ योगीलगायत एक दर्जनले दाबी गरेका छन् ।

यस्तै, लेकबेशी नगरपालिकाको मेयरमा टिकाराम सोमै, देव राना र शान्ति छन्तेलले दाबी गरिरहँदा भेरीगंगा नगरपालिकामा भने यज्ञ ढकाल, टिकाराम सुवेदी र धनसिंह खड्काले आकाङ्क्षा व्यक्त गरेका छन् । सिम्ता गाउँपालिकामा कविन्द्रकुमार केसी, टेकेन्द्र बस्नेत र ऐनबहादुर चन्दले अध्यक्ष पदमा दाबी गर्दै आइरहेका छन् । चिंगाड गाउँपालिकामा बोधविक्रम जिसीको नाम चर्चामा छ भने बखत खत्रीले पनि अध्यक्ष बन्ने चाहना राखेको एमालेले जनाएको छ ।

यस्तै, सुर्खेतका स्थानीय तहमा आकाङ्क्षी देखिएका नेताहरुबीच छलफलबाट नै उम्मेदवारको टुङ्गो लगाउन प्रयास भइरहेको अध्यक्ष बिसीको भनाइ रहेको छ । वीरेन्द्रनगरमा १६ वटा वडा रहेका छन् । यी १६ वटा वडामा एमालेले वडा अध्यक्ष तथा वडा सदस्यहरूको उम्मेदवारको छनौट प्रक्रिया सर्मसम्मतबाट नै अन्तिम अन्तिम चरणमा पुगेको बिसीले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *