पूर्वाञ्चल विश्वविद्यालयद्वारा निवृत्तिभरण कोष सञ्चालनको सम्झौता

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय र नेपाल बैंक लिमिटेडबीच निवृत्तिभरण (पेन्सन) कोषको सञ्चालन सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । विश्वविद्यालयका सेवा निवृत्त शिक्षक तथा कर्मचारीहरूलाई निवृत्तिभरणको सुविधा प्रदान गर्ने उद्देश्यले विश्वविद्यालय र बैंकबीच सम्झौता-पत्रमा हस्ताक्षर भएको हो ।

इटहरीमा आयोजित कार्यक्रममा विश्वविद्यालयको तर्फबाट रजिस्ट्रार नीलमणि पोखरेल र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । विश्वविद्यालयका उपकुलपति प्राडा यादवराज कोइरालाले विश्वविद्यालयबाट सेवा निवृत्त हुने शिक्षक तथा कर्मचारीहरूलाई समयमै पेन्सनको सुविधा प्रदान गर्ने उद्देश्यले नेपाल बैकसँग सम्झौता गरिएको बताए । विश्वविद्यालय र बैंकबीच सहकार्यको सुरुवात भएको उल्लेख गर्दै उनले बैंकबाट प्राप्त हुने सेवा-सुविधाका आधारमा यसलाई विस्तार गर्दै लैजान सकिने बताए ।

विश्वविद्यालयका रजिस्ट्रार पोखरेलले सम्झौताबाट विश्वविद्यालय र बैंक दुवै पक्ष लाभान्वित हुने बताउँदै सम्झौताको कार्यान्वयनमा पनि दुवै पक्षले उत्तिकै ध्यान दिनु पर्ने आवश्यकता औँल्याए । पहिलो बैंकको पहिचान बोकेको नेपाल बैंकबाट गुणस्तरीय वित्तीय सेवा प्राप्त हुने विश्वासका साथ सहकार्यको सुरुवात गरिएको उनले स्पष्ट पारे ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अधिकारीले आफू पूर्वाञ्चल विश्वविद्यालयको पूर्व विद्यार्थीसमेत भएको बताउँदै उच्च शिक्षा अध्ययन गरेको विश्वविद्यालयसँग नेपाल बैंकका तर्फबाट वित्तीय सेवा र सहकार्यका लागि सम्झौता गर्न पाएकोमा खुशी व्यक्त गरे । नेपाल बैंकले हाल १ सय १९ वटा शाखामार्फत देशैभरि गुणस्तरीय वित्तीय सेवा प्रदान गरिरहेको बताउँदै उनले आगामी आषाढ मसान्तसम्म थप ११ वटा शाखा विस्तार गर्ने लक्ष्य रहेको जानकारी दिए ।

आगामी दिनमा सबै प्रकारको गुणस्तरीय वित्तीय सेवा प्रदान गर्ने गरी विश्वविद्यालयसँग थप सहकार्य गर्न इच्छुक रहेको बताउँदै प्रमुख कार्यकारी अधिकृत अधिकारीले विश्वविद्यालयका सेवानिवृत्त शिक्षक तथा कर्मचारीलाई गुनासो नआउने गरी सम्झौताबमोजिमको निवृत्तिभरण सम्बन्धी सुविधा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

बैंकको प्रदेश नम्बर १ प्रबन्धक सूर्यप्रकाश भट्टले विश्वविद्यालयले विश्वास गरेर निवृत्तिभरण कोष सञ्चालनको अवसर दिएको उल्लेख गर्दै नेपाल बैंकले पनि गुणस्तरीय वित्तीय सेवामार्फत् त्यसको पुष्टि गर्ने विश्वास दिलाए । कार्यक्रममा पूविका तर्फबाट पाठ्यक्रम अनुसन्धान तथा विकास केन्द्रका निर्देशक प्राडा मेदिनीप्रसाद शर्मा, अनुसन्धान केन्द्रका निर्देशक प्राडा मीनराज ढकाल, योजना महाशाखाका प्रमुख डा. कोमलप्रसाद दुलाल, मुख्य अधिकृत फणीन्द्रराज गौतम, आर्थिक प्रशासन प्रमुख खगेन्द्रराज ढकाल लगायतको उपस्थिति थियो ।

बैंकका तर्फबाट प्रादेशिक कार्यालयका साथै विभिन्न शाखाका प्रबन्धक र कर्मचारीहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *