पोखरा महानगर एकीकृत समाजवादीलाई दिने संकेत

पोखरा । पोखरा महानगरपालिकाको मेयर पद एकीकृत समाजवादीले पाउने संकेत नेताहरूले गरेका छन् । पोखराको मेयर दाबी गर्न काठमाडौँ गएको कास्की कांग्रेसको टोलीसँग कुरा गर्दै महामन्त्री गगनकुमार थापाले दबाबले नउल्टिए पोखराको मेयर समाजवादीको पोल्टामा जाने बताएका हुन् ।

‘हाम्रो पार्टीमा औपचारिक रूपमा कुनै छलफल भएको छैन । माधव नेपाल पोखराको मेयर आफ्नो पार्टीले पाउनेमा पूर्ण विश्वस्त हुनुहुन्छ,’ उनले भने, ‘जसरी पनि पोखराको मेयर लिएरै छाड्ने अवस्थामा हुनुहुन्छ । अब ठूलै दबाब पुग्यो भने उल्टेला नत्र उल्टिँदैन ।’

केन्द्रीय सदस्य शेखर कोइरालाले पनि पोखरा कांग्रेसले जित्न सक्ने भन्दै देउवालाई फकाउन आग्रह गरे । ‘हामी स्पष्टै छौँ । सभापति ज्यूलाई अझै बुझाउनुस् र इम्प्रेस्ड पार्नुस्,’ उनले भने, ‘हाम्रा कार्यकर्ताले हामीले भनेको ठाउँमा भोट हाल्दैनन् । हामीहरूको त मासवाला भोट हो ।’ कास्कीका सभापति किशोरदत्त बरालले मेयर कुनै हालतमा अरू पार्टीलाई दिन नहुने जानकारी सभापति सहित शीर्ष नेताहरूलाई दिए । ‘अहिले पोखरा छोड्ने बित्तिकै आउने चुनावहरूमा जित्न सकिँदैन, उनले भने, ‘अहिले पोखरा छोड्ने बित्तिकै त्यसको प्रभाव गण्डकी प्रदेशभरि पर्छ ।’

गठबन्धनको होहल्लाले आम नागरिकहरू निराश भएका भन्दै प्रमुख पद विना गठबन्धन नगर्न उनको आग्रह छ । ‘नागरिकलाई निराशामा राखेर चुनावमा जाँदा समस्या हुन्छ । हामी गठबन्धनको बाध्यता बुझ्छौँ । तर पोखरामा समाजवादी र माओवादीले चुनाव जित्ने सम्भावना छैन,’ उनी भन्छन्, ‘हजुरहरूले पोखरालाई विशेष रूपमा सोचिदिनोस् । यदि भोलि अन्यथा भयो भने जिल्लाका नेताहरूलाई गाली गर्न पाउनुहुन्न ।’ बरालले एकीकृत समाजवादीसँग अहिले महानगरभरि मुस्किलले ५ हजार मत रहेको भन्दै कांग्रेसका ६० हजारसँग मतादाता उनीहरूलाई जिताउन कन्भिन्स गर्न गाह्रो हुने बताए ।

उनीहरूको कुरा सुनेपछि सभापति शेरबहादुर देउवाले महानगरमा गठबन्धनबारे अहिलेसम्म छलफल नभएको बताए । उनले कुन महानगर कसले पाउने भन्ने टुंगो लाग्नै बाँकी रहेको भन्दै होहल्लाको पछि नलाग्न नेताहरूसँग आग्रह गरे । ‘तपाईँहरू बुझ्दै नबुझी आउनुभयो । महानगरका विषयमा छलफल भएकै छैन,’ उनी भन्छन्, ‘समाचारको कुरा सुनेर हुँदैन । हामीले यसबारे निर्णय लिएका छैनौँ ।’ उनले पोखरामा आफूले जित्ने आधार दिन प्रतिनिधिमण्डलसँग माग गरे । ‘गठबन्धन नगरेर भएन । कम्युनिस्टहरू मिल्नेबित्तिकै हामी सबैतिर हार्छौँ,’ उनले भने, ‘पोखरामा एक्लै लडेर जित्ने आधार के छ ? कांग्रेसले टिकट पाए उम्मेदवार को हो ? सर्वसम्मत सिफारिस गर्न सक्नुहुन्छ ?’ उपसभापति पूर्णबहादुर खड्काले पनि महानगर बाँडफाँट नभएको दाबी गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *