गण्डकीका सभामुखको विवादित बयान – ‘आयोगलाई ढाँटेर चुनावी खर्च पेश गरेँ’

पोखरा । गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले आयोगलाई ढाँटेर चुनावी खर्च पेश गरेको बताएका छन् ।

पोखरामा एक कार्यक्रममा उनले कति खर्च गरेको भन्ने खुलाएनन् । चुनावमा आयोगले तोकेको खर्चले नपुग्ने अवस्था आएको भन्दै चुनावी खर्च बढ्दै जानु निकै नराम्रो विषय भएको बताए ।

‘एकजना माननीयले प्रमाणपत्र बेच्ने थिएँ भन्नुभयो । एकजनाले अहिलेको चुनावमा ६ करोड खर्च भयो, अब ७ करोड खर्च हुन्छ भन्नुभयो । त्यो सामान्य आवाज होइन,’ उनले भने, ‘त्यो मेरो र अहिलेका सबै जनप्रतिनिधिको आवाज हो । आयोगलाई एउटा रिपोर्ट दिने र अर्को खर्च गर्नुपर्ने अवस्था सबै जनप्रतिनिधिलाई छ ।’

उनले आयोगमै झुट बोलेर विवरण भरेको स्वीकारे । ‘आयोगमा खर्च बुझाउने बेला भनेको थिएँ, मैले यो लेख्दैछु, तपाईंलाई ढाँट्दैछु । तपाईंहरूले पाउनु हुँदैन मैले जे लेखेको छु भनेर बुझाएको थिएँ,’ उनी भन्छन्, ‘भन्नुस् त हिजो वडाअध्यक्ष जित्नेले कति खर्च गर्नुभयो ? कति थियो मापदण्ड ?’ अहिलेका कार्यकर्ताको मानसिकताका कारण खर्च बढी भएको उनको भनाई छ ।

‘जुन प्रणालीमा चुनाव गर्दैछौँ, यो मानसिकताका कारण खर्च बढेको छ । शक्ति कमजोर भएर होइन हाम्रो कल्चरका कारण खर्च बढेको हो,’ अधिकारीले थपे, ‘पार्टी कार्यकर्तामा कुन मानसिकता विकास भएको छ ? साँच्चै हामीले यो बुझ्न सक्दैनौं ?’ अधिकारी पर्वत क्षेत्र नम्बर (क) बाट निर्वाचित भएका हुन् । केही दिनअघि नवलपुरबाट निर्वाचित संघीय सांसद डा. शशांक कोइरालाले ६ करोड खर्च भएको सार्वजनिक अभिव्यक्ति दिएपछि निर्वाचन आयोगले स्पष्टीकरण सोधेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *