५ महिनामा पोखरा एयरपोर्ट सञ्चालन गर्ने मन्त्री आलेको दाबी

पोखरा । पोखरामा आजदेखि नयाँ वर्ष महोत्सव शुरू भएको छ । होटेल संघको आयोजनामा १७ औँ संस्करणको महोत्सव शुरू गरिएको हो ।

महोत्सव उद्घाटनपछि पर्यटन मन्त्री प्रेम आलेले पोखरालाई पर्यटकीय राजधानी बनाउन सरकारले आगामी नीति तथा कार्यक्रम र बजेटमा स्पष्ट व्यवस्था गर्ने बताए ।

‘आउँदो नीति तथा कार्यक्रम र बजेटमा पोखरालाई पर्यटनको राजधानी बनाउने एजेन्डा राख्छौँ । अर्को वर्षदेखि औपचारिक रूपमा पर्यटकीय राजधानी बन्छ,’ उनले भने, ‘यसको नामकरण गर्ने र क्याबिनेटबाट पास गर्ने गरी अगाडी बढाई रहेका छौँ । म त्यो बनाएर छोड्ने प्रतिबद्धता जनाउँछु ।’

उनले ५ महिनाभित्रै निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका सबै तयारी सकेर पूर्ण सञ्चालनमा ल्याउने दाबी गरे । अहिले विमानस्थलको करिब ९५ प्रतिशत काम पूरा भएको छ । यसबाहेक बाहिरी समस्या समाधान गरेर ५ महिनाभित्रै उडान शुरू गर्ने उनले बताएका हुन् ।

मन्त्री आलेले पोखराको रत्न मन्दिर र हिम गृह पनि छिटै सञ्चालनमा ल्याएर पर्यटकका लागि थप आकर्षण थप्ने बताए । कार्यक्रममा होटेल संघ नेपालका उपाध्यक्ष विनायक शाहले कोरोनाका कारण पर्यटन क्षेत्र प्रभावित भएका कारण सरकारले पर्यटन क्षेत्रलाई विशेष प्याकेजको व्यवस्था गर्न आग्रह गरे ।

नेपाली नयाँ वर्षलाई स्वागत गर्न आयोजित महोत्सव वैशाख १ गते सम्म चल्ने छ । नेपाली संस्कृतिको संरक्षण र परम्परागत नेपाली खानाको प्रवर्द्धन गर्न महोत्सव आयोजना गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *