पाकिस्तानका नयाँ प्रधानमन्त्रीसामू चुनाैतीका चाङ

पाकिस्तानका नवनियुक्त प्रधानमन्त्री शहबाज शरीफका अगाडि चुनौतीहरूका पहाड छन् । पाकिस्तानी मुस्लिम लिग-नवाजका अध्यक्ष शहबाज शरीफ तीनपटक प्रधानमन्त्री भइसकेका नवाज शरीफका भाइ हुन् ।
त्यसो त शहबाज शरीफ निर्विरोध पाकिस्तानका प्रधानमन्त्री चुनिनु भयो किनकि इमरान खानको पार्टीले चुनाव मात्र हैन संसद नै बहिस्कार गरेर हिँडिसकेको छ । यसभन्दा अगाडि विपक्षका नेता र पाकिस्तान मुस्लिम लिग-नवाजका अध्यक्ष शहबाज शरीफ प्रधानमन्त्री भएपछि अमेरिका र पश्चिमका अन्य मुलुकसँग सम्बन्ध सुधार गर्ने चुनौती त छँदैछ त्यस बाहेक शरीफका अगाडि देखिएका पाँच मुख्य चुनौतीहरू यस्ता छन्ः
भ्रष्टाचारको आरोपः शहबाज शरीफका बारेमा पूर्व प्रधानमन्त्री इमरान खानले भनेका छन्, “एक त्यस्तो व्यक्ति जसमाथि १६ अर्ब पाकिस्तानी रुपैयाँको भ्रष्टाचारको आरोप छ । उसलाई पाकिस्तानको प्रधानमन्त्री बनाउनुजस्तो ठूलो पाकिस्तानको बेइज्जती अरू हुनै सक्दैन ।”
त्यसमाथि शहबाज शरीफका ठूल्दाई तथा पूर्व प्रधानमन्त्री नवाज शरीफको नाम पानामा पेपर मामिलामा मुछिएको छ र भ्रष्टाचारको मुद्दा छ । उपचारका लागि चार हप्ताको अनुमति लिएर लन्दन गएका नवाज शरीफ पाकिस्तान फर्किएका छैनन् ।
गिरफ्तारीको खतराः पाकिस्तानको प्रधानमन्त्री बन्न अगाडि शहबाज शरीफ र उनका छोरा हमजा शहबाजका विरूद्ध मनी लन्ड्रिगको एउटा ठूलो मुद्दा चलिरहेकोछ । सोमवार मात्रै अदालतले यो अभियोगलाई २७ अप्रिलसम्मका लागि रोकिदिएको छ । यसका साथै सोमवारनै शहबाज शरीफको पक्राउ पर्नबाट रोक्ने जमानतको समय पनि २७ अप्रिलसम्मका लागि थाँती राखिदिएको छ । यसको अर्थ हो शहबाज गिरफ्तारीको खतरा अझै छ । पाकिस्तानको फेडरल इन्भेस्टिगेशन एजेन्सीले पनि सोमवारका लागि शहबाज शरीफलाई व्यक्तिगत रूपमा अदालतमा उपस्थित हुन नपर्ने गरी छुट दिएको थियो ।
पाकिस्तानमा चुनावको मुद्दाः पाकिस्तानमा अगामी चुनाव नोभेम्बरसम्म गराउनु पर्ने छ । सदनमा अविश्वास प्रस्तावमा हारेपछि इमरान खानलाई आमजनताको सहानुभूति देखिएको छ । यो सहानुभूति अगामी चुनावसम्म कायम भएमा जनताको भोट इमरान खानको पार्टीमा खनिन सक्ने ठूलो चुनौती शहबाज शरीफका अगाडि छ ।
पाकिस्तानमा विपक्षी एकतामा खतराः अहिले १३ पार्टीको विपक्षी गठबन्धनबाट निर्विरोध रूपमा शहबाज शरीफलाई प्रधानमन्त्री बनाइएको हो । तर यी विपक्षी पार्टीको एकआपसमा अनेकन मतभेद छ । इमरान सत्ताबाट बाहिरिएसँगै शहबाज शरीफलाई यी सबैसँग सत्ता बाँडफाँडको ठूलो चुनौती छ ।
पाकिस्तानको अर्थव्यवस्थाः पाकिस्तानमा इमरान सरकारको सबैभन्दा ठूलो मुद्दा पाकिस्तानमाथि बढिरहेको विदेशी ऋण र बढिरहेको महँगी थियो । १३ पार्टीको विपक्षी गठबन्धनको इमरान विरूद्धको सबैभन्दा ठूलो हतियार पनि यही नै थियो । शहबाज शरीफका लागि पाकिस्तानको जर्जर अर्थव्यस्था सम्हाल्नु सबैभन्दा ठूलो चुनौती साबित हुनेछ । स्राेतः INS न्यूज








