नफेरिएको शासकीय संस्कारको कसीमा हाम्रो परीक्षा

नयाँ वर्ष शुरू हुँदैछ । वर्ष बढ्नु वा पात्रो पल्टिनु नित्य नियति हो । फेरिँदो समयसँगै हामी कति फेरियौँ, कति सुध्रियौँ वा झन् बिग्रियौँ ? भन्ने कुरा मुख्य हो, हुनुपर्छ । अन्यथा केही थान शुभकामनाको कर्मकाण्डमा यो समय यसै सकिइजानेछ । काम गर्नुपर्ने समय घर्कने छ । अवस्था उन्नत होइन उस्तै बरू अझ तन्नम बन्ने छ ।

देश र परिवेश कता र कुन मार्गमा अघि बढिरहेको छ भन्ने कुराले यसको गन्तव्यको अनुमान गर्न सकिन्छ । किनकि गन्तव्य पुर्‍याउने यात्राले हो । यात्रा जताको गरिन्छ, पुगिन्छ त्यतै । गन्तव्यमा पुग्न बाटो त्यतैतर्फ उन्मुख हुनुपर्छ । हाम्रो देश कुन गन्तव्यतर्फ अघि बढिरहेको छ भनेर सोचविचार गर्ने हो भने आशा कम र निराशा बढी हुने अवस्था छँदैछ । मिठा सपना देखाएर फेरिएका विभिन्न व्यवस्थामा किन ती सपनाहरू बिपना बन्न सकेनन् ? नाम फेरिए पनि समग्रमा देशलाई हाँक्ने शासकीय संस्कार किन मूलभूत रूपमा फेरिन सकेन ? यो लगभग उस्ताको उस्तै रहनुको अन्तर्य के हो ? अब घोत्लिनुपर्ने विषय यो हो । भलै यसका लागि कुनै नयाँ वर्ष लाग्नुपर्ने वा वर्ष थपिनुपर्ने हुँदैन नै । तर हामी केही गर्न कुनै साइत निकाल्ने वा कुनै बहाना कुर्न बानी परेका छौँ ।

कुरा सिम्पल छ, लोकतन्त्र भनिने व्यवस्थामा पनि शासन विधिको नभएर व्यक्तिको अनि सिस्टमको नभएर सनकको नै हुने हो भने निराशा नबढेर के बढ्छ ? परीक्षणका लागि पटक पटक पाएको समयमा पनि नफेरिने शासकीय चरित्रसँग संशय बढ्नु नाजायज पक्कै होइन ।

नागरिक निराश हुनु भनेको देशको भविष्य अँध्यारो हुनु हो । किनकि जहाँ आशा हुन्न त्यहाँ प्रयत्न गरिन्न नै । जहाँ आफ्ना आशा अङ्कुरित हुने अवस्था देखिँदैन, जहाँ सपनाले उडान भर्ने सम्भावना देखिँदैन, त्यहाँ कसैले किन कुनै प्रयत्न गरोस् ? देश बनाऊँ, मातृभूमिको भार तिरौँ वा पुर्खाको पौरख र गौरव जोगाउ भन्ने भावका स्वदेशगान वा कविता पढेर जुरुक्क जुरुक्क हुनु क्षणिक कुरो मात्र हो । जिन्दगी क्षणिक भावना, वा उत्तेजना वा भावुकपनाले चल्दैन । अबको समयमा जोसुकैले जति नै छेके पनि मानिसले आफ्नो गुणस्तरीय जीवनको सपना देख्छ नै ।

नाम फेरिए पनि समग्रमा देशलाई हाँक्ने शासकीय संस्कार किन मूलभूत रूपमा फेरिन सकेन ? यो लगभग उस्ताको उस्तै रहनुको अन्तर्य के हो ? अब घोत्लिनुपर्ने विषय यो हो । भलै यसका लागि कुनै नयाँ वर्ष लाग्नुपर्ने वा वर्ष थपिनुपर्ने हुँदैन नै । तर हामी केही गर्न कुनै साइत निकाल्ने वा कुनै बहाना कुर्न बानी परेका छौँ ।

एकछिन् आँखा चिम्म गरेर गमिहेरौँ त- कतै आवाज पुर्‍याउन नसक्ने, कसैलाई प्रभावमा पार्न नसक्ने, सोझो चिताई इमानका साथ काम गर्न चाहने विधि र प्रणालीलाई मात्र मान्छु भन्ठान्ने कुनै व्यक्तिका लागि हाम्रो अहिलेको परिवेश कस्तो छ ? समाजको कसको बोलवाला छ ? कसको आवाज बिक्छ ? कसले भनेको राज्यले सुन्छ वा कसलाई राज्यले चिन्छ ? चौतर्फी आक्रमणले थिलथिलो भएको थितिको उपचार कसले र कहिले गर्ला ? जताततै परेको भ्वाङ कसले कहिलेबाट टाल्न थाल्ला ? वर्षौंदेखि ऐजेरुका रूपमा रहेका गलत कुराहरू हटाएर हामी कहिले हाम्रो प्रणालीमा एन्टिभाइरस स्क्यानिङ गरौँला ? एउटा सुधो नागरिकलाई उसको देशप्रति आशा जगाउने कुरा यस्तै होइनन् र ? कतै न कतै कुनै न कुनै पहुँच पुर्‍याउँछु, मनि वा मसलले काम गराउँछु भन्नेहरूका लागि त कुरै भएन । जेबी टुहुरेको गीतमा उहिल्यै उल्लेख गरिएकै छ- ‘लाखौँका लागि उजाड छ यो देश, मुट्ठीभरलाई त स्वर्ग छ ।’ फरक यत्ति हो कि त्यो मुट्ठीभरको परिभाषाभित्रका परिवार र पात्र फेरिए तर मूल चरित्र र अवस्थामा हुनुपर्ने जति बदलाव आउन सकेन ।

नातावाद कृपावादको विरोधमा भनेर गरिएका अनेकौँ आन्दोलन र तिनले ल्याएका परिवर्तनको वर्षौं बित्दा पनि शासकीय चरित्रको मूल जरोकिलो यसैको वरिपरि घुमिरहनु लज्जाको मात्र होइन चिन्ताको विषय हो । छर्लङ्गै छ- जे गरिनु हुँदैन, त्यही गरिनु अनि जे गरिनुपर्छ त्यो नगरिनु कुशासन र भ्रष्ट आचरण हो । अब सुध्रन्छौँ भनेर पटक पटक कसम खाएका पात्रहरू नै मौका पाउनासाथ ‘नानीदेखिको बानी’ देखाउन थालिहाल्नु उदेकलाग्दो मात्र होइन खेदजन्य पनि हो । अर्कोतिर यो नागरिकप्रतिको धोकाधडी र बेइमानी पनि हो । यसबापत सजाय पाउनुपर्नेमा उनै पात्र र प्रवृत्तिले पुरस्कार पाइरहनु अर्को विडम्बना हो ।

अब, अलिकति आशाको कुरा । अलिकति जिम्मेवारीका कुरा ।

वर्ष २०७८ राजनीतिक रूपमा निकै उतारचढावको वर्ष रह्यो । दुखद कुरा यो वर्षले प्रवृत्तिगत रूपमा आशा जगाउन भने सकेन । हुन पनि प्रवृत्ति नफेरिएसम्म पात्र फेरिनुको खास औचित्य हुँदैन । व्यवस्थालाई बाधक मानेर गरिएका आन्दोलनहरूबाट प्राप्त उपलब्धि र प्रणाली सञ्चालनमा पटक पटक चुक्नु राजनीतिक दलहरू र तिनका अगुवाहरूको सबैभन्दा ठूलो कमजोरी हो । गल्ती हुनु भन्दा ठुलो कुरा त्यसबाट सिकेर अघि बढ्नु हो । तर पटक पटक उस्तै पारा देखिन्छ भने त्यो जानाजान गरिएको अपराध हुन जान्छ ।

मलाई फाइदा हुन्छ भने म किन बोल्ने भन्ने अनि गल्ती कमजोरी हटाउन पहल र प्रयत्न होइन नदेखेको जस्तो गर्ने वा यस्तै त हो नि भन्ने नागरिकको बानीले पनि शासनको आसनमा बस्ने अवसर पाउनेहरूलाई सहज भइरहेको छ । यिनीहरूलाई कुनै न कुनै रूपमा आफ्नो प्रभावमा पार्न सकिन्छ भन्ने आँट उनीहरूमा त्यसै आएको होइन । हामी नसुध्री सुखै छैन भन्ने चेत आउनका लागि नागरिकको खबरदारी र मतैक्य सबैभन्दा ठुलो हतियार हो ।

चुनावमा उम्मेदवार चयन गर्दै गर्दा हामी उसका चिल्ला कुरा र ठूला सपनामा मक्ख मात्र पर्छौं कि उनीहरूका योजनाबारे प्रश्न गर्छौं, सदाचार हेर्छौं वा भिजनबारे पर्गेल्छौँ ? आफूलाई केवल जिन्दावाद र मुर्दावाद भन्नेहरूको बगालमा मात्र मिसाउँछौँ वा फरक स्वर गर्नेछौँ ? परीक्षा हाम्रो हुनेछ नै । यो परीक्षामा फेरि पनि फेल भए क्रम उही दोहोरिने छ । वर्ष बढ्नेछ, पात्रो पल्टिने छ तर निराशा घटेर आशा अहँ बढ्ने छैन ।

वर्ष २०७९ निर्वाचनको वर्ष हुनेछ । तीनै तहको चुनाव हुने यो वर्ष दल र उनीहरूले तय गर्ने उम्मेदवारका लागि त परीक्षणको वर्ष हुने छ नै, परीक्षण आम नागरिकको पनि हुनेछ । थिति बसाउन र बेथिति हटाउन नागरिक कति जिम्मेवार हुन्छौँ भन्ने कुरा हामीले मतपत्रमा जाहेर गर्ने अभिमतले प्रस्ट पार्ने छ । यसका लागि मतदाताले आफूमा निहित विशिष्ट अधिकारको प्रयोग कहाँ र कसरी गर्नेछौँ भन्ने कुराले हाम्रो परीक्षा लिनेछ ।

कुनै विचार वा सिद्धान्तमा आस्था राख्ने र विश्वास गर्ने विकल्प भन्नु नै लोकतन्त्रले दिएको आधारभूत र महत्त्वपूर्ण सुविधा हो । जुनै विचारमा विश्वास गरे पनि वा जुनै सिद्धान्तलाई शिरोपर गरे पनि देशमा थिति बसाऊँ, सबैका लागि समान कानुन लागू होस्, कुनै काम कसैलाई भन्दा वा मनाउँदा बन्ने त्यसो गर्न नसके नबन्ने अवस्था नहोस्, व्यक्ति वा संस्था सनक र आवेगमा होइन वि धीमा चलुन् भन्ने आधारभूत कुरा कुनै पनि विचार वा सिद्धान्तमा शायदै फरक होला ।

चुनावमा उम्मेदवार चयन गर्दै गर्दा हामी उसका चिल्ला कुरा र ठूला सपनामा मक्ख मात्र पर्छौं कि उनीहरूका योजनाबारे प्रश्न गर्छौं, सदाचार हेर्छौं वा भिजनबारे पर्गेल्छौँ ? आफूलाई केवल जिन्दावाद र मुर्दावाद भन्नेहरूको बगालमा मात्र मिसाउँछौँ वा फरक स्वर गर्नेछौँ ? परीक्षा हाम्रो हुनेछ नै । यो परीक्षामा फेरि पनि फेल भए क्रम उही दोहोरिने छ । वर्ष बढ्नेछ, पात्रो पल्टिने छ तर निराशा घटेर आशा अहँ बढ्ने छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.