उम्मेदवारलाई अंकुश लगाउने दलहरूको तयारी

विराटनगर । मोरङकका राजनीतिक दलहरूले स्थानीय तहको निर्वाचनमा उम्मेदवार चयन गर्दादेखि नागरिक प्रति जवाफदेही बनाउने भएका छन् ।

पहिलो स्थानीय तहको निर्वाचनको ५ वर्षको बिचमा नागरिक र पार्टीप्रति जनप्रतिनिधि इमान्दार नभएको आरोप लागिरहेको अवस्थामा दलहरूले टिकट वितरण गर्दा देखि नै नागरिक प्रति जिम्मेवार नबने कारबाही गर्नेसम्मको अंकुश लगाउने तयारी गरेका हुन् ।

तल्लो तहबाट उम्मेदवार छान्ने विषयलाई प्राथमिकतामा राख्ने, तल्लो तहबाट नै सिफारिसबाट छनौट भएर आउँदा धेरै समस्या हल भएर जाने र निर्वाचित जनप्रतिनिधि नागरिक प्रति जिम्मेवार बनाउने दलहरूको प्रतिबद्धता छ ।

विराटनगरमा सोमबार संवाद समूहले आयोजना गरेको संवादको क्रममा मोरङमा क्रियाशील राजनीतिक दलहरूले नेतृत्व व्यक्तिवादी स्वार्थमा केन्द्रित हुँदा त्यसकै प्रभाव तल्लो तहसम्म पनि देखिएकोले यसलाई सुधार गरेर जाने पनि जनाएका छन् ।

दलहरूले पार्टी र जनप्रतिनिधिसँग जोडेर राख्ने, जनता प्रति जिम्मेवार हुनेगरि उम्मेदवार चयन गर्ने तयारी भएको उनीहरूको भनाई छ। ‘जनप्रतिनिधिले आफ्नो अनुकूल नहुनेगरी काम गरी दलको घोषणापत्र प्रति जवाफदेही बन्नका लागि दलले आफ्ना नीति, विधि र निर्देशिकाले बाँध्ने छन्’, दलहरूले जारी गरेको प्रतिबद्धता पत्रमा भनिएको छ, ‘पहुँच, पैसा, निकटता र सम्बन्धका व्यक्तिलाई उम्मेदवार छनौट गर्नुभन्दापनि इमान्दार र सक्षम व्यक्तिलाई जनप्रतिनिधि बनाउने छौँ ।’

नेकपा एकीकृत समाजवादीका नेता महेश रेग्मीले पहुँच, पैसा, निकटता र सम्बन्धका आधारमा टिकट दिने प्रवृत्तिको अन्त्य नगरेसम्म दल र जनप्रतिनिधिको अवस्था नसुध्रिने बताए । ‘सुरुमा टिकट लिनको लागि नै आर्थिक चलखेल हुन्छ भने पछि त्यो व्यक्ति नागरिकप्रति जवाफदेही हुँदैन’, रेग्मीले भने, ‘नागरिकप्रति जवाफदेही बनाउने हो भने टिकट वितरण गर्दादेखि नै ध्यान दिनु पर्छ ।’

नेपाली कांग्रेसका उपसभापति भक्तिनाथ माझीले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले तीन/तीन महिनामा छलफल, समन्वय, संवाद गर्नेगरि, जनता र पार्टी प्रति अनुत्तरदायी भएको अवस्थामामा कारबाही गर्नकालागि नेपाली कांग्रेसले नीति नियम र विधि बनाइएको बताए । हिजो निर्वाचित जनप्रतिनिधि जनताप्रति र पार्टीको घोषणा कार्यान्वयन प्रति अनुत्तरदायी भएको आरोप लागेपछि उनीहरूलाई अंकुश लगाउनको लागि नीतिमा नै व्यवस्था गरेर अघि बढेको उनले जानकारी दिए ।

विधि र प्रक्रियाबाट उम्मेदवार छनौट गर्ने क्रम सुरु भएकोले तल्लो तहबाट नै उम्मेदवार टुंगो लगाउने हो भने यस अघि निर्वाचनमा देखिएका समस्याहरू हल भएर जाने एमाले जिल्ला सचिव रुपेश खतिवडाले बताए । ‘नेकपा एमालेले विधि र प्रक्रियाबाट छनौट भएका उम्मेदवारलाई राखेर प्रशिक्षण दिन्छ’, उनले भने, ‘स्थानीय तहको विकास, घोषणा पत्र र नागरिक प्रति जिम्मेवार बनाउन प्रतिबद्धता पत्रमा हस्ताक्षर गराएर निर्वाचनमा पठाउने तयारी भएको छ ।’

अहिलेको निर्वाचनबाट निर्वाचित भएका जनप्रतिनिधिसँग निरन्तर छलफल गर्ने, नागरिक प्रति जवाफदेही नुहुने र घोषणा पत्र कार्यान्वयन नगरेको अवस्थामा विधि प्रक्रियाअनुसार त्यस्ता जनप्रतिनिधिलाई कारबाही गरिने समेत एमालेले प्रतिबद्धता जनाएको छ।

जनता समाजवादी पार्टीका मोरङ अध्यक्ष राजकुमार यादवले घोषणा पत्र अनुसार काम गर्न सक्ने खालका उम्मेदवार बनाउने दाबी गरे । भोलि जनपक्षीय काम नगरेको अवस्थामा उसलाई पार्टीबाट नै निष्कासन गर्नेसम्मको तयारीमा जसपा रहेको यादवले भनाई छ ।

राप्रपाले टिकट दिँदाको अवस्थामा नागरिक प्रति जिम्मेवार बनाउन उम्मेदवारलाई धार्मिक आस्थाका केन्द्रमा लगेर शपथ खुवाइने प्रतिबद्धता जनाएको छ। राप्रपा मोरङ सचिव टंक गुरागाईँ र उपाध्यक्ष शोभा श्रेष्ठले जनता प्रति जवाफदेही बनाउन धार्मिक आस्थाको केन्द्रमा शपथ खुवाएर मात्र पठाइने बताए । यस्तो अवस्थामा पनि जवाफदेही नहुनेलाई पार्टीले कारबाही गर्ने राप्रपाको तयारी छ ।

नेकपा एकीकृत समाजवादीका जिल्ला सचिव राजन केसीले पार्टीको घोषणा पत्र कार्यान्वयनमा दल लाग्ने बताए । उनले पार्टी विधि विधान अनुसार काम नगरेको अवस्थामा फिर्ता बोलाउने लगायतको नीति र विधि बनाउने काम पार्टीले गरेकोले विधान अनुसार कारबाही गर्न तयार रहेको उनको प्रतिबद्धता छ ।

नेकपा माओवादी केन्द्रका सचिव प्रकाश पौडेलले निर्वाचनमा प्रतिबद्धता पत्रमा हस्ताक्षर गरी नागरिक र स्थानीय पार्टीले प्रति जिम्मेवार बनाउने अवस्थाको सिर्जना गरिने बताए । ‘सत्तामा पुगेपछि चिल्ला र सुकिला मान्छेहरू हाबी भएको देखिन्छ तल्लो वर्ग ओझेलमा पर्छन्’, उनले भने, ‘पहिलो स्थानीय तहमा पनि त्यही देखियो, सचेत मतदाता, उम्मेदवारको मात्र पनि कुरा हुँदैन, चुनावमा दलका कुरा हुन्छन् तर निर्वाचित भएपछि उ दललाई बेवास्ता गरेको देखिएको छ, यस्तालाई कारबाही गर्नु पर्छ ।’

लोकतान्त्रिक समाजवादी पार्टीका मोरङ जिल्ला अध्यक्ष मोहम्मद काफिरले जनप्रतिनिधिलाई दलले अंकुश लगाएर जनताको काम प्रति जवाफदेही बनाउनु पर्ने बताए । ‘प्रतिबद्धता पत्र हस्ताक्षर गराएर उम्मेदवारलाई चुनावी मैदानबाट खटाउन हामी प्रतिबद्ध छौँ’, उनले भने, ‘त्यस्तो अवस्थामा पनि निर्वाचित जनप्रतिनिधि पनि नागरिक प्रति जिम्मेवार नभएको अवस्थामा कारबाही गर्नुको अर्को विकल्प छैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *