खाँदबारीको मेयरमा कांग्रेसका कार्कीको दाबेदारी

विराटनगर । स्थानीय तहको निर्वाचन नजिकिँदै छ । दलहरू आफ्ना उम्मेदवार राम्रो छान्ने तयारीमा छन् । कतिपय दलहरूले आफ्ना आकांक्षीको नामावली सहित पार्टी कमिटीमा सिफारिस भइसकेको छ भने कतिपय दलहरू गठबन्धनको तयारीमा छन् । कुन दलसँग गठबन्धन गर्दा जित्न सकिन्छ भन्नेमा केन्द्रित देखिन्छन् ।

उम्मेदवारी दर्ता गर्ने दिन नजिकिँदै गर्दा पालिकाहरूमा नेतृत्वका लागि कसलाई अघि सार्ने विषय अहिले चर्चाको विषय छ । कतिपय टिकटको लागि लबिङ गरिरहेका छन् भने कतिपय पार्टीले राम्रो ठाने टिकट पाइएला भनेर पर्खिएर बसेका छन् । त्यसैगरि पर्खिएर बस्ने मध्येका एक हुन् । पूर्वी पहाडी जिल्ला सङ्खुवासभाको खाँदबारी नगरपालिकाको मेयर पदका आकांक्षी भीम कुमार कार्की ।

नेपाली कांग्रेसबाट आफूले टिकट पाउने दाउमा उनी छन् । नेपाली कांग्रेस प्रदेश नम्बर १ समितिका सदस्य समेत रहेका कार्की खाँदबारी नगरपालिकाको मेयरमा उठ्ने हो भने आफूले राम्रो काम गरेर देखाउने बताउँछन् । विराटनगरमा लामो समयसम्म कम्प्युटर इस्टिच्यूट सञ्चालन गरेका कार्की एक दशकदेखि खाँदबारी नै फर्किएका छन् । खाँदबारीमा उनी व्यवसायसँगै राजनीतिमा सक्रिय रहेको बताउँछन् । अघिल्लो निर्वाचनताका राष्ट्रिय प्रजातन्त्र पार्टीको राजनीति गर्दै आएका उनले पछिल्लो समय भने कांग्रेसको राजनीतिमा सक्रियता देखिएका छन् ।

विकट मानिएको पूर्वी पहाडी जिल्ला सङ्खुवासभाको विकासका साथै खाँदबारी नगरपालिकाको स्थापनामा समेत योगदान पु-याएको दाबी कार्कीको छ। परिवारका तर्फबाट विगतमा भीम कुमारका बाबु पद्मकेशरले नगर पञ्चायत र जिल्ला विकास समितिको नेतृत्व सम्हाल्ने अवसर पाएको उनी बताउँछन् ।

विभिन्न व्यवसायसँगै बाबुको बिँडो थाम्न राजनीतिमा होमिएका भीमकुमारले मेयरको टिकट पाएमा आफूले जित्ने दाबी गरे । ‘यहीको हावापानी र ढुंगामाटोमा खेलेर खाँदबारीको समस्यालाई नजिकबाट नियालिरहेको छु,’ उनले भने, ‘नगर विकासको स्पष्ट योजनासहित नेतृत्वमा दाबेदारी प्रस्तुत गरेको हुँ ।’

११ वटा वडामा बाँडिएको खाँदबारी नगरपालिकाको मेयरका लागि कांग्रेसबाट भीमकुमारसँगै झन्डै आधा दर्जन नेताहरू मेयरको दौडमा छन् । उनीहरूले समेत मेयरको टिकटका लागि पार्टीका विभिन्न शक्तिकेन्द्रमा आ-आफ्नो लबिङ तीव्र पारेका छन् ।

२०७४ सालको निर्वाचनमा खाँदबारी नगरपालिकाको मेयरमा नेकपा एमालेका मुरारीप्रसाद खतिवडाले ४ सय ३४ मतले नेपाली कांग्रेसका महेश थपलियालाई पराजित गरेका थिए । एमालेका खतिवडाले ५ हजार १ सय ३१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी थपलियाले ५ हजार ५ सय ६५ मत ल्याएका थिए ।

तेस्रो स्थानमा नेकपा (माओवादी केन्द्र)का वीरबहादुर लिम्बू र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रतिस्पर्धामा उत्रिएका भीमकुमार कार्की चौथो स्थान प्राप्त गरेका थिए । उप-प्रमुखमा एमालेकै डेगेस्वरी श्रेष्ठ विजयी हुँदा कांग्रेसकी निर्मला तामाङ (बस्नेत)ले दोस्रो स्थान प्राप्त गरेकी थिइन् । खाँदबारी नगरपालिका एमालेको पकड क्षेत्रको रूपमा लिइँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *