विराटनगरमा बालागुरु षडानन्दको प्रतिमा अनावरण

विराटनगर । विराटनगरमा आवाल ब्रम्हाचारी बालागुरु षडानन्द अधिकारीको प्रतिमाको अनावरण गरिएको छ । एक कार्यक्रमका बिच विराटनगरमा स्थापना भएको प्रतिमाको अनावरण गरिएको हो ।

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई र विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले प्रतिमाको अनावरण गरे । विराटनगर महानगरपालिका वडा नम्बर ३ मा रहेको वडा कार्यालय प्राङ्गणमा आवाल ब्रम्हाचारी बालागुरु षडानन्दको शालिकको प्रतिमा राखिएको वडा अध्यक्ष विनोद बस्नेतले जानकारी दिए ।

बालागुरु षडानन्द वि ।सं । १८९२ मा दिङ्ला गढिगाउँ भोजपुरमा जन्मिएका हुन् । उनी शिक्षाका प्रबर्द्धकको रूपमा चिनिन्छन् । उनको निधन १९७३ सालमा पचलीघाट काठमाडौँमा भएको थियो । आवाल ब्रम्हाचारी बालागुरु षडानन्द प्रतिष्ठानको आयोजनामा प्रतिमा राखिएको संयोजक दिनेशराज सुवेदी दिङ्गाली कान्छोले बताए । प्रतिमाको अनावरणसँगै त्यस चोकलाई षडानन्द चोकको रूपमा स्थापित गरिएको पनि उनले जानकारी दिए । रोडलाई षडानन्द मार्गको रूपमा स्थापित गरिएको छ ।

बाला गुरु षडानन्दले विक्रम सम्वत १९३२ चैत्र शुक्ल राम नवमी, सोमवारको शुभ साइतमा दिङ्ला, भन्ज्याङको रमणीय उच्च स्थल कैलासमा स्थानीय जनताको सक्रिय संलग्नतामा नर्मदेश्वर शिव मन्दिर निर्माण गरी विद्यालय स्थापना गरेका थिए ।

विद्यालय प्रारम्भका वर्षहरूमा आफैले अध्यापन कार्य सञ्चालन गरेका थिए । जनस्तरबाट व्यवस्थित यो विद्यालय नेपालको पहिलो विद्यालय हो भनिन्छ । यस पाठशालामा त्यस भेगका विद्यार्थीका अतिरिक्त नेपालको गुल्मी, सल्यान, प्युठानसम्मका र भारतको सिक्किम तथा आसाम समेतका विद्यार्थीहरू आई अध्ययन गर्दथे । यस विद्यालयमा वेद, व्याकरण, ज्योतिष तथा साहित्यको अध्ययन अध्यापनका लागि छुट्टा छुट्टै कक्षाकोठाको व्यवस्था गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *