रेमिट्यान्स वृद्धिका लागि पहल गर्न राजदूतहरूलाई अर्थमन्त्रीको निर्देशन

काठमाडौंँ । अर्थमन्त्री जनार्दन शर्माले विदेशमा रहेका नागरिकबाट जतिसक्दो धेरै रेमिट्यान्स भित्र्याउनका लागि पहल गर्न विदेशस्थित नियोग प्रमुखलाई निर्देशन दिएका छन् ।

दुई दर्जनभन्दा बढी राजदूत, कार्यबाहक राजदूत, महावाणिज्यदूतलगायत विभिन्न देशका नियोग प्रमुखहरूसँग आइतबार दिउँसो भर्चुअल बैठक गर्दै अर्थमन्त्री शर्माले यस्ताे निर्देशन दिएका हुन् ।

उनले विदेशी मुद्रा बढाउनुपर्ने र भुक्तानी सन्तुलन सकारात्मक बनाउनु पर्ने दबाबमा सरकार रहेकाले सबै पक्ष मिलेर काम गर्नुपर्ने बताए । ‘हामीलाई यतिबेला विदेशी मुद्राको सञ्चिति बढाउनुपर्ने दबाब छ । यसका लागि तपाईंहरूले विशेष भूमिका खेल्नुपर्छ’, उनले भने, ‘रेमिट्यान्सका माध्यमबाट पैसा पठाउन त्यहाँका नागरिकलाई प्रोत्साहन गर्नुस् । नेपाल कोभिड-१९ बाट तंग्रिसकेको सन्देश दिँदै पर्यटन प्रबर्द्धनका विभिन्न कार्यक्रम गरी धेरै भन्दा धेरे पर्यटक नेपाल आउने वातावरण सृजना गर्नुस् ।’

चैत महिनामा ९१ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको जानकारी दिँदै यतिमा मात्रै सन्तुष्ट नभई अझै वृद्धि गर्न सकिने खाँचो रहेको उनले बताए । ‘रेमिट्यान्स बढाउनका लागि विभिन्न प्याकेज ल्याउन लागेका छौं । रेमिट गर्नेहरूलाई आइपिओ र एफपिओमा निश्चित प्रतिशत नै छुट्याएर लगानी गर्न दिनेसम्मका गृहकार्य भएका छन्’ उनले भने । आगामी आबको बजेट निर्माणका लागि सुझाव लिन नियोग प्रमुखहरूसँग छलफल भएको थियो । सो छलफल परराष्ट्र मन्त्रालयमा गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *