पोखरामा टिप्परको ठक्करले पुल भाँचियो

पोखरा । पोखरामा टिप्परको ठक्करले एउटा पुल भाँचिएको छ । पोखरा २१ भुङे खोलामा निर्माण गरिएको पुल टिप्परको ठक्करले पुरै ढलेको हो ।

डेढ वर्षअघि निर्माण गरिएको पुल निर्माणमा गुणस्तर नभएका कारण भाँचिएको स्थानीयको भनाई छ । दोपहरेबाट स्याङ्जा जोड्ने बाटो निर्माणका लागि खोलाबाट गिट्टी झिक्न गएको टिप्परले पुललाई ठक्कर दिएको हो ।

स्थानीय पूर्णदीप सिग्देल निर्माणकै क्रममा भएको गल्तीका कारण भाँचिएको हुन सक्ने बताउँछन् । ‘हावाले मात्रै ढल्ने पुल त होइन । ठक्करले नै ढलेको हो,’ उनले भने, ‘त्यतिबेला प्राविधिकले पास गरेको पुल अहिले सामान्य ठक्करले पनि ढल्न नहुने हो । अचम्मै पो भयो ।’

तत्कालीन समयमा २६ लाखको स्टिमेट गरिएपनि निर्माणका क्रममा २८ लाख भन्दा बढी खर्च भएको निर्माण कम्पनीले जनाएको छ । दोपहरीबाट ड्युलीपिपल जाने सडक निर्माणका लागि विनियोजित रकमबाट टेण्डरमा घटेको २५ लाख पुल निर्माणमा लगानी गरिएको थियो । पुल भत्किएपछि त्यस क्षेत्रका नागरीहरूलाई खोला तर्न समस्या भएको छ ।

पुल ढलेपछि ठेकेदारलाई बोलाएर छोरेपाटन प्रहरी चौकीमा १ महिनाभित्रै बनाइदिने सहमति भएको वडाध्यक्ष खगराज आचार्यले बताए । ‘पुल निर्माणमा कमजोरी भएको होइन । अहिले टिप्परकै दोष बढी छ । टिप्परले मज्जैसँग ठक्कर दिएको रहेछ,’ उनले भने, ‘वैशाखभित्र बनाउने सहमति भएको छ । वडाकै पिच गर्ने कम्पनीको टिप्पर हो । काम हुन्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *