कांग्रेस मोरङको हिसाब : तीनबाहेक सबै पालिकामा एक्लै चुनाव जितिन्छ

विराटनगर । नेपाली कांंग्रेसले तीन पालिका बाहेक एक्लै चुनाव जित्ने आकलन गरेको छ । मोरङ जिल्ला पार्टी समितिको आयोजनामा शनिबार विराटनगरमा बसेको क्षेत्रीय सभापति तथा पालिका सभापतिहरू सहितको बैठकले चुनावी तालमेल गर्नु परेपनि तीन पालिकामा मात्र गर्नु निष्कर्ष निकालेको हो ।

नेपाली कांग्रेस मोरङमा पालिकाको अवस्था रिपोर्टिङ गर्ने क्रममा मिक्लाजुङ, कानेपोखरी र केराबारी गाउँपालिकामा चुनावी गठबन्धन गर्नुपर्ने हुनसक्ने भएपनि अन्य स्थानीय तहमा कांग्रेसले तालमेल गर्नुपर्ने अवस्था नभएको सुझाव आएको छ । दुई दिनअघि मात्र नेपाली कांग्रेस विराटनगर महानगर समितिले महानगरमा पार्टीले कुनैपनि दलसँग चुनावी तालमेल नगर्ने र पार्टी नेता कार्यकर्तालाई पनि अन्य दलको चुनाव चिन्हमा भोट हाल्न भनेर भन्न नसक्ने निर्णय गरेको थियो ।

नेपाली कांग्रेस महानगर पार्टी समितिको निर्णय पछि जिल्ला समितिले सबै पालिकाका सभापति, संघीय र प्रदेश क्षेत्रीय सभापति सहितलाई बोलाएर अवस्थाको बारेमा जानकारी लिएको थियो । छलफलको क्रममा कानेपोखरी, मिक्लाजुङ र केराबारीले चुनावी तालमेल गर्दा हुने प्रस्ताव ल्याएका थिए भने अन्य पालिकाका सभापतिहरूले चुनावी तालमेल आवश्यक नभएको बताएको कांग्रेस मोरङ उपसभापति नागेश कोइरालाले जानकारी दिए । कोइरालाका अनुसार पार्टी केन्द्रको निर्णय अनुसार पालिकाको आवश्यकताका आधारमा चुनावी तालमेल गर्ने वा नगर्ने भन्ने बारेमा पालिकाबाट आएका सुझावलाई लिखित रूपमा केन्द्रमा पठाइने छ ।

कांग्रेसको क्षेत्रीय र पालिका स्तरको बैठकपछि गठबन्धनको बैठक बसेको छ । साँझ बसेको मोरङ जिल्ला स्तरीय गठबन्धन पार्टीको बैठकले चुनावी तालमेल गर्ने बारेमा कुनै निर्णय गर्न सकेन । गठबन्धनको बैठकमा सहभागी जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष राजकुमार यादवले बैठकमा धेरै कसरी चुनावी तालमेल गर्ने भन्ने बारेमा छलफल भएपनि कुन पालिकामा कसरी जाने भन्ने कुनै निर्णय नभएको बताए ।

यसअघि नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी र जसपाका नेताहरूले छुट्टै गठबन्धन बनाएर जाने बारेमा छलफल गरेका थिए । कांग्रेस मोरङ जिल्लामा चुनावी तालमेल गर्न अनिच्छुक देखिएको निष्कर्ष निकालेको तीन दलले कांग्रेस बाहेक पनि चुनावी तालमेल गर्न सकिने भन्दै बैठक बसेर निष्कर्ष निकालेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *