कैलालीमा पनि गठबन्धनले चुनावी तालमेल गर्ने, कार्यदल गठन

धनगढी । कैलालीमा पनि सत्ता गठबन्धन दलबिच चुनावी तालमेल हुने भएको छ । चुनावी तालमेलका लागि गठबन्धन दलहरूले शुक्रवार कार्यदल गठन गरेका छन् ।

नेकपा एकीकृत समाजवादी संसदीय दलको कार्यालयमा शुक्रवार बसेको पाँच दलीय सत्ता गठबन्धन दलबिचको बैठकले चुनावी तालमेलका लागि कार्यदल गठन गरेको छ । गठबन्धन दलको बैठकले चुनावी तालमेलका लागि प्रक्रिया सुरु गर्न पाँच सदस्य कार्यदल गठन गरेको नेपाली काँग्रेस कैलालीका सचिव नृपबहादुर सुनारले बताए ।

कार्यदलमा नेकपा (एकीकृत समाजवादी)का तर्फबाट सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रीसमेत रहेका दीर्घ सोडारी, नेपाली काँग्रेस कैलालीका सभापति नारायणदत्त भट्ट, नेकपा माओवादीका नेता हरिक ज्ञवाली ‘अखण्ड’ जनताका समाजवादीका नेता होरीलाल चौधरी र राष्ट्रिय जनमोर्चाका तर्फबाट जगतप्रसाद जोशी रहेका छन् ।

सचिव सुनारका अनुसार गठित कार्यदलले अब आवश्यकताका आधारमा चुनावी तालमेलको प्रक्रिया सुरु गर्नेछ । बैठकमा पाँचवटै दलका जिल्ला तथा प्रदेश स्तरका नेताहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *