कर्मचारीको विवरण खोज्दै निर्वाचन कार्यालय, १३७ स्थानीय तहमा ३३ लाख ४७ हजार मतदाता

विराटनगर । स्थानीय तह निर्वाचनमा २०७९ को लागि प्रदेश १ बाट ३३ लाख ४७ हजार ३ सय ८४ जनाले मतदान गर्दै छन् ।

प्रदेश १ को १ महानगरपालिका, २ उपमहानगरपालिका, ४६ नगरपालिका, ८८ गाउँपालिका गरी १३७ स्थानीय तहमा निर्वाचनको तयारी तीव्र पारिएको छ। प्रदेश १ को १३७ पालिकाका प्रमुख उपप्रमुख सहित १ हजार एक सय ५७ जना वडा अध्यक्ष तथा हरेक वडामा ४ जनाका दरले वडा सदस्य निर्वाचित गराउनको लागि निर्वाचन आयोगले सबै स्थानीय तहहरूमा निर्वाचन अधिकृतहरू खटाउने काम गरिसकेको छ ।

आगामी वैशाख ८ गतेदेखि कार्यालय स्थापना गरी वैशाख ११ गते मनोनयन दर्ता गरिँदै छ । यसको लागि जिल्ला निर्वाचन कार्यालयहरूले काम गरिरहेको प्रदेश १ निर्वाचन कार्यालयका निर्वाचन अधिकारी लेवन कश्याम अधिकारीले जानकारी दिए । प्रदेश १ का १३७ पालिकामा मतदान गराउनको लागि १ हजार ८ सय ७७ मतदान स्थल मार्फत ४ हजार ५१ मतदान केन्द्रमा कर्मचारी व्यवस्थापनको काम भइरहेको उनले जानकारी दिए ।

२०७४ सालमा ५ लाख ७४ हजार ५ सय मतदाता रहेको मोरङमा नजिकिँदै गरेको स्थानीय तहको निर्वाचनमा ७ लाख १५ हजार २ सय २३ जनाले मतदान गर्ने उनले जानकारी दिए । एक लाख ४० हजार ७ सय २३ जना मतदाता मोरङमा मात्र थपिएको छ।

देशकै सबैभन्दा धेरै मतदाता रहेको मोरङमा ३ सय मतदान स्थलमा ८२० मतदान केन्द्र रहने व्यवस्था गरिएको छ । निर्वाचन गराउनको लागि ४ हजार ५ सय कर्मचारीलाई तयारी अवस्थामा राखिएको निर्वाचन कार्यालयले जनाएको छ। ‘स्थानीय तह निर्वाचन २०७९ वैशाख ३० गतेको लागि तयारी तीव्र पारिएको छ, प्रमुख अधिकारीले भने, आन्तरिक व्यवस्थापन, कर्मचारी विवरण लिने, आयोगले तोकेको फम्र्याटमा अद्यावधिक गर्ने, मतदान कालागि आवश्यक पर्ने सामाग्री खरिद, अनुसूची छपाईको काम जिल्लाबाट भइरहेको छ।’

कर्मचारीको विवरण संकलन गरेर मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई बुझाइने निर्वाचन कार्यालयका प्रमुख अधिकारीले जानकारी दिए । प्रति मतदान केन्द्र बराबर पाँच सय बढी मतदाता भएको अवस्थामा ८ जना र ५ सय भन्दा कम मतदाता भएको केन्द्रमा ७ जना कर्मचारीका दरले अहिले कर्मचारी तयारी अवस्थामा राखिएको उनले बताए ।

मतदानको लागि ३५ दिन मात्र बाँकी रहँदा निर्वाचन कार्यालयहरू सक्रिय रूपमा निर्वाचनको तयारीमा जुटेका छन् । जिल्ला निर्वाचन कार्यालयहरूलाई प्याकेजिङ र भण्डारणको विषय मुख्य समस्याको रूपमा रहने कार्यालयले जनाएको छ ।

अघिल्ला निर्वाचनहरूको तुलनामा यो वर्ष मतदाता शिक्षाको विषय फरक कार्यविधि बनाइएको उनले बताए । यो वर्ष मदतदाता शिक्षा हरेक मतदान स्थलमा २९ र ३० गते सहायता कक्ष स्थापना गरी त्यहीँको मतदान अधिकृत र कर्मचारीहरूको सहयोगमा स्वयंसेवक राखेर दिइने तयारी भएको आयोगले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *