बहुमत पालिका जित्ने एमाले गण्डकीको दाबी

पोखरा । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बहुमत पालिका जित्ने दाबी सहितको प्रतिवेदन तयार गरेको छ । गण्डकीका ८५ पालिका मध्ये २७ पालिका एक्लै चुनाव लड्दा पनि जित्ने गरी केन्द्रमा प्रतिवेदन बुझाइएकोमा प्रदेश कमिटी बैठकबाट त्यो सङ्ख्या बढाएर अहिले जितेका पालिका भन्दा बढी जित्ने दाबी गरिएको छ ।

एमालेले यसअघि ३४ पालिकाको प्रमुख जितेको थियो । सत्तारुढ गठबन्धन हुँदा पनि खासै नोक्सान नहुने आकलन एमालेको छ । ‘बहुमत जित्ने तयारी छ । सोही अनुसार ब्रिफिङ गरेका छौँ,’ प्रदेश सचिव धनन्जय दवाडीले भने, ‘साह्रै कम भएपनि अघिल्लो चुनावको नतिजा घट्दैन । अहिले केही पालिका थप्छौँ ।’

एक्लै चुनाव लड्दा कास्कीका सबै पालिकामा आफ्नो नेतृत्व हुने दाबी छ भने म्याग्दीमा २, बागलुङमा १, लमजुङमा ४, पर्वतमा २, मुस्ताङमा ३, स्याङ्जामा ८, तनहुँमा ४, नवलपुरमा १ र मनाङमा २ पालिका जित्ने आकलन छ । गोरखामा भने कुनैपनि पालिकामा आफूले नजित्ने एमालेका नेताहरूको भनाई छ । सत्ता गठबन्धन नभए गण्डकीबाट ५० पालिका चुनाव जित्ने दाबी एमालेको छ । आफूले अरू पार्टीसँग एकता गर्न सके ८१ पालिकामा चुनाव जित्ने बताएको छ । तर एकता कोसँग गर्ने भन्ने खुलाइएको छैन ।

यसअघि एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले गण्डकीमा माओवादीसँग एकता गर्ने बताएका थिए । ‘माथिको राजनीतिक परिस्थिति जे भएपनि हामीले माओवादीसँग गठबन्धन गर्नुपर्छ,’ पार्टी विभाजनपछि उनले भनेका थिए । अहिले पनि माओवादीसँगको गठबन्धन बहसलाई उनले चटक्कै छोडेका छैनन् । २०७४ को निर्वाचन नतिजा, त्यसपछिको पार्टी प्रवेश, संगठन विस्तार लगायत आधारबाट उक्त आकलन निस्किएको दवाडीले बताए ।

यसैबीच, एमालेको चुनावी कार्ययोजना तयार भएको छ । गण्डकी प्रदेश कमिटीको पूर्ण बैठकले आफ्ना उम्मेदवारहरू २७ गतेसम्म वडाले सिफारिस गर्ने, २९ गते पालिकाले सिफारिस गर्ने र जिल्ला हुँदै वैशाख ४ गतेसम्म प्रदेशमा आइसक्नुपर्छ । गाउँपालिका र नगरपालिकाका वडासम्मको टिकट जिल्ला कमिटीले दिन्छ भने पालिकाका प्रमुख उपप्रमुख र महानगरको वडाको टिकट प्रदेश कमिटीले वितरण गर्छ ।

बैठकले प्रदेश कमिटी र जिल्ला कमिटी सदस्य सहित १८५१ जनाको प्रचार प्रसार कमिटी गठन गरेको छ । यसमा २०१ जनाको सचिवालय बनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *