पालिकामा साझा उम्मेद्वार खोज्दै गण्डकीको गठबन्धन

पोखरा । बैशाख ३० को स्थानीय तहको चुनाव लक्षित गरी सत्ता गठबन्धनको दोस्राे बैठक गण्डकी प्रदेशमा बसेको छ ।

कांग्रेस प्रदेश कार्यालयमा बसेको बैठकमा गठबन्धन भित्र साझा उम्मेद्वारको खोजीबारे छलफल भएको छ । गठबन्धनलाई वडा तहसम्म प्रभावकारी विस्तार गर्ने र सहमतिमै उम्मेद्वार छनोट गर्ने निर्णय गरेको हो ।

कांग्रेस सभापति शुक्रराज शर्माको अध्यक्षतामा बसेको बैठकमा नेकपा माओवादी केन्द्र गण्डकी अध्यक्ष गायत्री गुरुङ (कुशुम), नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष केशवलाल श्रेष्ठ, जनता समाजवादी (जसपा) अध्यक्ष मोती प्रसाद रिजाल, राष्ट्रिय जनमोर्चा अध्यक्ष शंकर बराल लगायतका नेताहरु सहभागी थिए ।

बैेठकले पाँच दलीय सहमति अनुरूप दलीय आधारमा योग्य उमेदवारको चयन गर्ने निर्णय गरेको कांग्रेस महामन्त्री किरणबाबू श्रेष्ठले जानकारी दिए । सोही निर्णयलाई वडासम्म पु¥याउन आ–आफ्नो पार्टीलाई निर्देशन दिन सबै राजी भएका उनको भनाई छ । गठबन्धनका उमेदवारले पार्टीका तर्फबाट उमेदवारी दिँदा पाँचै दलबाट सहज रूपमा स्वीकार गर्न सक्ने गरी छनोट गर्नुपर्ने समझदारी बनेको छ ।

निर्वाचन आयोगले उमेदवारी नभएको जिल्लामा दलको नामबाट अनावश्यक चुनाव चिन्ह छापेर मतदातालाई भ्रमित पार्न सक्ने भन्दै त्यसतर्फ सचेत हुन सुझाव दिइएको छ । आगामी स्थानीय तहको निर्वाचनमा सत्तारूढ दलहरु बिच तालमेल गर्ने सहमति भएसँगै गण्डकी प्रदेशमा पनि नियमित बैठक बसिरहेको छ । बैठकमा सहभागी नेताहरुले गठबन्धनका उमेदवारको व्यवस्थापन र निर्वाचन परिचालन साझा रूपले नै अगाडि बढाउनुपर्ने सुझाव दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *