कार्यक्रम प्रस्तोता खेलकुद बोर्डको उपाध्यक्ष !

विराटनगर । प्रदेश १ खेलकुद विकास बोर्डको सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम) मंगलवार बिहान खेलकुद विकास बोर्डमा गएर हाजिर गरेर फर्किए । उनलाई बिहानसम्म पनि प्रदेश सरकारले बर्खास्त गरेको बारेमा जानकारी थिएन ।

मकालुखबरसँगकाे कुराकानीमा बस्नेतले आफूलाई बर्खास्त गरिएको बारे आधिकारिक जानकारी नआएकोले हाजिर गरेर फर्किएको प्रतिक्रिया दिए । प्रदेश १ को मन्त्री परिषद बैठकले सोमबार उनलाई बर्खास्त गर्दै मंगलबार बिहान नयाँ उपाध्यक्ष र सदस्यसचिव नियुक्त गरेको थियो ।

सोमबार साँझ बसेको मन्त्री परिषदको बैठकले प्रदेश खेलकुद बोर्डका उपाध्यक्ष बाबा मेन्याङ्बो र सदस्यसचिव कृष्ण (पर्शुराम) बस्नेतलाई हटाउने निर्णय गरेको थियो । सरकारलाई असहयोग गरेको, खेलकुद क्षेत्रमा कुनै काम नगरेको भन्दै सरकारले यसअघि नै पदाधिकारीलाई स्पष्टिकरण सोधेको थियो । नवनियुक्त पदाधिकारीले आजै पद तथा गोपनीयताको सपथ लिएका छन् ।

यी हुन् पदाधिकारी

बोर्डको सदस्यसचिवमा पूर्वभलिबल खेलाडी हंसराज वाग्ले र उपाध्यक्षमा जीना कार्कीलाई नियुक्त गरेको हो ।

राजनीतिक भागवण्डाका आधारमा एकीकृत समाजवादीको तर्फबाट नियुक्त भएका वाग्ले सोही पार्टीका ओखलढुंगा अध्यक्ष समेत हुन् । उनी हाल वैदेशिक रोजगार व्यवसायमा संलग्न छन् ।

एकीकृत समाजवादी हुनुभन्दा अघि वाग्ले वैदेशिक रोजगार व्यवसायी महासंघको अध्यक्षमा नेपाली कांग्रेसबाट विजयी भएका थिए । कांग्रेसको वैदेशिक विभागको केन्द्रीय सदस्य रहिसकेका वाग्ले गतवर्ष पुसमा एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।

नेपाली कांग्रेसको कोटाबाट उपाध्यक्ष भएकी कार्की रेडियो र अनलाईन टिभीको कार्यक्रम प्रस्तोता हुन् ।

बहिर्गमनको आक्रोश

निबर्तमान सदस्य सचिव बस्नेतले आज पनि कार्यालयमा गएर काम गरेको बताए । आधिकारिक जानकारी नआउँदासम्म कार्यालय जाने तर आधिकारिक जानकारी आएपछि मात्र कानुनी प्रक्रियामा जाने उनले प्रतिक्रिया दिए । खराजनैतिक प्रतिशोधकै आधारमा अवैधानिक तवरले नयाँ नियुक्ति गरेको जानकारीमा आएकोले कानुनी बाटो अवलम्बन गर्ने उनले बताए ।

बस्नेत तत्कालीन मुख्यमन्त्री भीम आचार्यको कार्यकालमा बोर्डमा नियुक्त भएका हुन् । राजेन्द्र राई नेतृत्वको सरकार बनेसँगै प्रादेशिक खेलकुद बिकास बोर्डको सम्पूर्ण बजेट रोक्का गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *