खोटाङका ३५ मतदानस्थल अतिसंवेदनशील

काठमाडाैँ । आगामी वैशाख ३० गते देशभर एकैसाथ सञ्चालन हुने स्थानीय तहको निर्वाचनअन्तर्गत खोटाङमा १३६ मतदानस्थल र १९४ मतदान केन्द्र निर्धारण गरिएको छ ।

जिल्लामा निर्धारण गरिएका मतदानस्थलमध्ये ३५ वटा अतिसंवेदनशील, ५८ वटा संवेदनशील र ४३ वटा सामान्यमा राखिएको छ ।

सुरक्षा संयन्त्रको पहुँच, विगतका घटना र भौगोलिक विकटताको आधारमा जिल्लामा तीन समूहमा वर्गीकरण गरेर शान्ति/सुरक्षाको व्यवस्था मिलाउने तयारी गरिएको जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले जानकारी दिए ।

मतदानस्थल तथा मतदान केन्द्रको सुरक्षाका लागि जिल्लामा कार्यरत सुरक्षाकर्मी तथा म्यादी प्रहरी अभाव हुने भएकाले थप सुरक्षाकर्मी सम्बन्धित निकायमा माग गर्ने तयारी गरिएको जिल्ला सुरक्षा समितिले जनाएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा २४ मतदानस्थल र ४४ मतदान केन्द्र, हलेसी तुवाचुङ नगरपालिकामा १८ मतदानस्थल र २७ मतदान केन्द्र निर्धारण गरिएको छ । त्यस्तै केपिलासगढी गाउँपालिकामा १३ मतदानस्थल र १५ मतदान केन्द्र, ऐँसेलुखर्क गाउँपालिकामा १३ मतदानस्थल र १५ मतदान केन्द्र, रावाबेँसी गाउँपालिकामा १० मतदानस्थल र १४ मतदान केन्द्र, साकेला गाउँपालिकामा आठ मतदानस्थल र १२ मतदान केन्द्र, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा १३ मतदानस्थल र १८ मतदान केन्द्र, खोटेहाङ गाउँपालिकामा १५ मतदानस्थल र २१ मतदान केन्द्र, बराहपोखरी गाउँपालिकामा १० मतदानस्थल र १३ मतदान केन्द्र तथा जन्तेढुङ्गा गाउँपालिकामा १२ मतदानस्थल र १५ मतदान केन्द्र निर्धारण गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *