सुदूरपश्चिमका तीन जिल्लामा चुनावी तालमेलको टुंगो

धनगढी । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा पाँच दलीय गठबन्धन दलबीच चुनावी तालमेल गर्ने टुंगो लागेको छ ।

प्रदेशका नौवटा जिल्लामध्ये कञ्चनपुर, अछाम र डडेल्धुरामा पाँच दलीय गठबन्धनबीच चुनावी तालमेल गर्ने निर्णय भएको हो ।

काँग्रेस केन्द्रीय समितिले स्थानीय तहको आवश्यकताको आधारमा गठबन्धन दलबीच चुनावी तालमेल गर्ने निर्णय गरेपछि जिल्ला तहमा पनि गठबन्धन गर्ने निर्णय गर्न थालिएको हो ।

कञ्चनपुरमा नेपाली कांग्रेस पार्टी कार्यालय महेन्द्रनगरमा सोमबार बसेको बैठकले केन्द्रमा भएको सहमतिअनुसार नै आपसी समझदारी तथा सहकार्य गरी स्थानीय स्तरमा तालमेल गरे अगाडि बढ्ने निर्णय गरिएको छ । यद्यपि विस्तृत छलफल भने हुन बाँकी रहेको नेकपा (माओवादी केन्द्र) का जिल्ला इन्जार्च टेकेन्द्रप्रसाद भट्टले बताए । ‘तुनावमा तालमेल र्ने सहमती भइसकेको छ,’ उनले भने, ‘यस विषयमा थप विस्तृत रुपमा छलपल गर्न यही २३ गते (बुधबार( पुनः बैठक बोलाइएको छ ।’

नेपाली कांग्रेसका जिल्ला सभापति पदम बोगटीको अध्यक्षतामा बसेको बैठकमा माओवादी केन्द्रका जिल्ला इन्चार्ज भट्ट, जिल्ला संयोजक खेमराज पाण्डेय, नेकपा (एकीकृत समाजवादी) का जिल्ला इन्चार्ज लालबहादुर खड्का, राष्ट्रिय जनमोर्चाका रामबहादुर कार्की लगायतको सहभागिता रहेको थियो । माओबादी इन्चार्ज भट्टका अनुसार आगामी बैठक माओबादी केन्द्रको कार्यालयमा बस्नेछ ।

यस्तै अछाममा स्थानीय तहको चुनावमा तीन राजनीतिक दलबीच वडातहसम्म तालमेल गर्ने निर्णय भएको छ । सोमबार बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको जिल्लास्तरीय नेताको बैठकले चुनावी तालमेल गरेर जाने निर्णय गरेका हुन् । काँंग्रेस सभापति पुष्पबहादुर शाह, माओवादी संयोजक रवीन्द्र साउद र नेकपा एकीकृत समाजवादीका अध्यक्ष हिरण्ड भट्टराईले जिल्लाका १० स्थानीय तह र ९१ वडामा चुनावी तालमेल गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् ।

स्थानीय तहका कमिटी र कार्यसमितिलाई गठबन्धनको मर्म र भावनाअनुसार अघि बढ्न सार्वजनिक रूपमा अनुरोध गरिएको उनीहरूले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा आइतबार नै गठबन्धन दलबीच तालमेल गर्ने जाने निर्णय भएको छ । जिल्ला सदरमुकाम तुफानडाँडास्थित नेपाली कांग्रेस डडेल्धुराका उपसभापति एवं कार्यवाहक सभापति डिल्लीराज जोशीको अध्यक्षतामा बसेको जिल्लास्तरीय गठबन्धनको बैठकले गठबन्धनले केन्द्रमा गरेको निर्णयको स्वागतसमेत गरेको छ । बैठकले जिल्लामा गठबन्धनको विरुद्ध अभिव्यक्ति नदिने निर्णयसमेत गरेको नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष तुलाराम बोहराले जानकारी दिए ।

प्रदेशका बाँकी सात जिल्लामा गठबन्धनका विषयमा सुझाव संकलन गर्ने कार्य भइरहेको छ । सुझाव संकलनपछि जिल्लास्तरीय बैठकले गठबन्धनबारे निर्णय गर्ने काँग्रेसले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *