पोखरा माओवादीमा चरम अन्तरविरोध, शुरू भयाे समानान्तर गतिविधि

पोखरा । नेकपा माओवादी केन्द्र पोखरा महानगरमा चरम अन्तरविरोध शुरू भएको छ । असन्तुष्ट पक्षले समानान्तर गतिविधि शुरू गरेका छन् । नेतृत्व चयनमा कुरा नमिलेपछि अध्यक्षका दावेदारले आफैलाई आधिकारिक भन्दै बैठक आयोजना गरेका हुन् । महानगरको अध्यक्षमा शिवजी लामिछाने आकांक्षी थिए । तर अर्का आकांक्षी हरिनारायण गिरी (विज्ञान) अध्यक्षमा चुनिए ।

लामिछानेले मंगलबारका लागि बैठक आयोजना गरेका थिए । उनले स्थानीय तहको निर्वाचनका सन्दर्भमा छलफल गर्ने भन्दै पार्टी अध्यक्ष र इन्चार्जलाई समेत जानकारी नगराई बैठक बोलाएका नेता कार्यकर्ताहरूले बताएका छन् । ‘उहाँले फोन गरेर बैठकमा बोलाउनुभयो । पछि अरु नेताहरूसँग सल्लाह गर्दा कुनै बैठक नै नभएको जानकारी आयो,’ एक नेताले भने ।

आफूखुसी बैठक बोलाइएपछि महानगर इन्चार्ज दीपक कोइरालाले मंगलबार कुनै बैठक नरहेको जानकारी गराएका छन् । ‘मंगलबारका दिन नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) पोखरा महानगर समितिको बैठक भनि खबर गरिएको पाईएको हुँदा आधिकारिक रूपमा पार्टीको कुनै बैठक आयोजना नगरिएको जानाकारी गराउँदछु,’ कोइरालाले सामाजिक सन्जाल फेसबुकमा लेखेका छन् ।

यहाँ कोइराला र जिल्ला इन्चार्ज राजकाजी गुरुङ करणको चरम अन्तरद्धन्द्ध छ । त्यसो त, गण्डकी प्रदेश कमिटीकै अधिवेसनमा समेत त्यो खालको गुट प्रष्टै बाहिरिएको थियो । अध्यक्ष चुनिएको ४ महिनासम्म गुटकै तछाडमछाडले पदाधिकारी टुंगिन सकेन । माओवादी अध्यक्ष प्रचण्ड समेत गण्डकीको पार्टी राजनीतिबाट आजित बनेका थिए । केही समयअघि सभागृहमा आयोजित प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्दै उनले स्थानीय निर्वाचनका लागि आक्रामक हिसावले संगठन गर्नुपर्नेमा आफैभित्र मतभेद सिर्जना हुँदा पार्टीलाई सकस परेको बताएका थिए ।

महानगर कमिटीमा एकले अर्काको अस्तित्व नै स्वीकार नगर्ने अवस्था छ । अहिलेको कमिटीको विरोधमा बहुमत सदस्यले हस्ताक्षर गरेर पत्र बुझाएका छन् । मंसिर २४ गते पोखराको अधिवेसन तोकिएको थियो । तर नेतृत्व कसलाई दिने भन्ने टुंगो लागेन र ९९ सदस्यीय कमिटी घोषणा भयो । त्यसपछि फागुन १९ गते नगर इन्चार्ज कोइरालाले कमिटीको बैठक बोलाए । सोही बैठकले विज्ञानलाई अध्यक्ष निर्वाचित ग¥यो ।

यो बैठक विधिसंगत नभएको भन्दै निर्णय नै नमान्ने बहुमत सदस्यको आवाज छ । कोइरालाले बनाएको कमिटीको विरोधमा करणको समूहले अर्को कमिटी बनाउनुपर्ने माग राख्यो । प्रचण्डलाई समेत उनीहरूले पत्र बुझाए । करणले अर्का आकांक्षी विपिन आचार्यलाई अध्यक्ष बनाउन चाहेको स्राेत बताउँछ ।

९९ सदस्यीय कमिटीका ५७ सदस्यले कोइरालाले बनाएको कमिटी भंग गरेर नयाँ कमिटी घोषणाको माग गरेका थिए । तर कोइरालाले भने पार्टी विधानकै आधारमा कमिटीको टुंगो लगाएको बताएका छन् । दुवैजना केन्द्रमा प्रचण्ड पक्षका हुन् । अहिले प्रचण्डसँग को बढी नजिक हुने भन्नेमा दौडधुप छ । ‘रैथाने माओवादीलाई घेराबन्दीमा पारेर लखेट्दाको परिणाम अहिले कास्कीको माओवादीहरूमा देखिँदैछ,’ सामाजिक सन्जालमार्फत एक नेताले लेखेका छन्, ‘ढिलो चाँडो कास्कीका मै हुँ भनाउँदा नेताहरू पार्टी छोडेर हिँडे भने आश्चर्य नमान्दा हुन्छ । ३/४ करोडका झुपडीमा बस्ने सर्बहाराहरू गरिब सर्बहाराको पार्टी माओबादीमा मिलेर रहन सक्दैनन् ।’ नेताहरूबीचकै अहमताले पार्टी जिल्लामा निकै कमजोर अवस्थामा पुगिसकेको नेता कार्यकर्ताहरूको निष्कर्ष छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *