सोच बदल्नुहोस्, बद्लिनेछ तपाईंको सहर

३० वैशाख २०७९ मा स्थानीय चुनाव हुँदैछ । त्यसको पूर्वसन्ध्यामा मलाई केही भन्न मन छ । एक सक्षम मेयरले कसरी सहरवासीको हृदयमा सन्तुष्टि तथा पर्यटकहरूको अनुभवमा खुसी जगाउन सक्छ भन्ने विषयमा मैले दुई वर्ष लामो शोध र मिहिनेत गरेको छु । त्यसैको आधारमा म जे भन्दैछु, त्यो कल्पनामात्र होइन, सक्षम व्यवस्थापनको सम्भव परिकल्पना र दूरदृष्टिको दस्ताबेज पनि हो । काठमाडौँलाई सुन्दर स्वरूपमा बदल्ने मेरो परिकल्पना र धारणा प्रस्तुत गर्न चाहन्छु ।

हिजो राति मूलढोका बाहिर राखिएको दुई पोका फोहोर थियो- एउटामा कुहिने र अर्कोमा नकुहिने । महानगरपालिकाले झिस्मिसेमै उठाएर लगिसकेछ । बिहान काममा निस्किने बेला ढोका अघिल्तिर सिनित्त सफा थियो । यो मेरो पहिलो कल्पना ।

आजकल बस कुर्नपनि त्यति पर्दैन र वरिपरि प्लास्टिकका पोकामा दुर्गन्ध फैलाउने फोहरहरू पनि देखिँदैनन् । घरका फोहर हुनेखानेले आफ्नै बारीमा गाडे कि कुनै दीर्घकालीन समाधान निकाले, त्यो चाँहि पत्तो पाइनँ । र, नकुहिने प्लास्टिक वा सिसालाई महानगरले रिसाइकल गर्ने ठाउँमा लग्यो कि थाहा छैन । जेहोस्, सहर सफा छ, चिटिक्क छ । यो मेरो पहिलो कल्पनाको सिलसिला ।

बसहरू भनिएकै स्थानमा रोकिएका छन् र बसमा मान्छेको कोचाकोच छैन । गन्तव्यतर्फ ट्राफिक नियम पालना गरी सीमित गतिमा बसहरू गुडिरहेछन् । नगरपालिकाद्वारा सञ्चालित आधाआधा घण्टामा चल्ने बसमा मासिक टिकट सस्तोमा पाइने र जतिपटक चढेपनि हुने व्यवस्था बनेछ । यो मेरो दोस्राे कल्पना ।

बसहरू भनिएकै स्थानमा रोकिएका छन् र बसमा मान्छेको कोचाकोच छैन । गन्तव्यतर्फ ट्राफिक नियम पालना गरी सीमित गतिमा बसहरू गुडिरहेछन् । नगरपालिकाद्वारा सञ्चालित आधाआधा घण्टामा चल्ने बसमा मासिक टिकट सस्तोमा पाइने र जतिपटक चढेपनि हुने व्यवस्था बनेछ । यो मेरो दोस्राे कल्पना ।

आजकल पर्यटकहरू पनि दङ्ग छन्- काठमाडौँ उनीहरूलाई सुनाइएझैँ छैन, सफा र लोभलाग्दो छ । ठाँउठाँउमा शौचालय छन्, अनि सफा छन् । ‘हप अन’ र ‘हप अप’ लेखिएको बसहरूबाट एअरपोर्ट, बसपार्क र पर्यटकीय स्थलहरूमा यात्रु चढ्दै र ओर्लँदै गरेको दृष्य छिनछिनमा देख्न पाईन्छ । रात विरात हिँड्न सुरक्षित महसुस हुने सहर बनाउन महानगरपालिकाको मिहिनेतलाई मान्नै पर्छ । यो मेरो अर्को कल्पना ।

महानगरका प्रहरीको भूमिका सराहनीय भएछ । पहिले सडक व्यापारीलाई मात्र खेद्नमा नामूद नगर प्रहरीले अचेल सहरका फुटपाथ अतिक्रमणको अनुगमन गरिरहेका छन्, इन्जिनियरहरू नक्शा पास अनुसारको निर्माण र जनसुरक्षालाई ध्यानमा राखी निर्माण कार्य भए नभएको नियमित निरीक्षण गरिरहेछन् । सहरमा ट्राफिक प्रहरीसँगको समन्वय पनि गज्जबै मिलेको देखिन्छ अहिले । यस्ता कल्पनाका सूची लामै छन् ।

मानिसहरू भन्दैछन्, ‘कुन चाहिँ मेयरले जितेछ यसपालि ? जो आफ्नो सपनाको संसारबाट निक्लेर विपनालाई आफ्नो सपनासँग जोड्न खोजिरहेछ । पक्कै कोही असल, परोपकारी र सामुहिक शक्तिमा विश्वास गर्ने मान्छे हुनुपर्छ मेयर ।’

साकार होला त मेरो कल्पना यस सहरमा ? म विश्वस्त छु, हुन्छ । बस् केही नियमपालन, केही अनुगमन र केही नयाँ योजनाहरूको कार्यान्वयन । त्यति गर्न सक्यो भने सपना विपनामा बद्लिन कुनै समय लाग्नेछैन ।

घर बनाउने कुरालाई लिउँ- काठमाडौँमा वर्षेनी हजारभन्दा ज्यादा घरका नक्सा पास हुन्छन् । तर, घर बनाउँदा पालन गर्नुपर्ने मापदण्ड र नियम कानुन अधिकांशले पालन गरेको पाइँदैन । सोच्नुस् त, यसमा गरिने अनुगमन र पालनमा कडाई भयो भने त्यसले अप्रत्यक्ष रूपमा सहरलाई कति फाइदा गर्दो हो ?

दलीय राजनीतिक प्रणाली भन्दैमा जेमा पनि राजनितीकरण गर्न आवश्यक छैन । जुनैसुकै पार्टीका वडा अध्यक्ष या मेयर भएपनि उनीहरू सबैका साझा प्रतिनिधि हुन् । त्यसैले उनीहरूले गर्ने विकासका योजनामा कसको पार्टीलाई श्रेय जान्छ भनेर कसैले चिन्ता लिनु जरुरी छैन । नागरिकको प्रतक्ष्य सरोकारको काममा बाहेक अरूमा खर्च गर्नु भनेको करको पैसाको अपचलन गर्नु हो । यसलाई कडाईका साथ निषेध गरे पुग्छ । मेयरको तटस्थता, इमान्दारी र कार्यक्षमताले तत्काल महसुस हुने गरी सहरमा परिवर्तन आउँछ । यसमा कुनै शङ्का गर्ने ठावैँ छैन । दलले स्थानीय उम्मेदवार छनोट गर्ने व्यवस्था भएकाले त्यसले जनताभन्दा नेताको सेवालाई प्राथमिकता दिएको छ । कतिपय काम गर्लान् जस्ता देखिने जनप्रतिनिधि समेत लोभी र भ्रष्ट राजनीतिको भुमरीमा परी राम्रो सोच विपरीत ध्रुवतिर हिँड्नु परेको हामीले देखेकै छौँ । नयाँ निर्वाचित प्रतिनिधिहरूले यस कुरालाई मनन गरे भने त्यसको असल असर जनताले प्रत्यक्ष भोग्न पाउनेछन् ।

निरोगी सहरवासी हुनु महानगरपालिकाको पनि गौरव हो भन्ने कुरा मेयरले बुझ्ने हो भने सहरमा खुल्ला सार्वजनिक पार्क, व्यायामशालाको विस्तार र स्तरोन्नति मात्र हुने होइन, त्यसले प्रदूषण नियन्त्रणका योजना पनि कार्यान्वयन गर्दछ । के यो सहरको गरिमालाई बढाउने काम होइन र ?

सफाई र नियमपालनमात्र होइन नागरिक स्वास्थ्यमा महानगरपालिकाको ध्यान जान जरुरी छ । तिनको स्वास्थ्यमा कसरी सकारात्मक प्रभाव पार्न सकिन्छ र स्वास्थ्य नीतिहरू कार्यान्वयन र व्यवस्थापन गर्न जिम्मेवार अधिकारी र एजेन्सीहरूलाई ध्यानाकर्षण गर्ने भूमिकामा मेयर चुक्नु हुँदैन । निरोगी सहरवासी हुनु महानगरपालिकाको पनि गौरव हो भन्ने कुरा मेयरले बुझ्ने हो भने सहरमा खुल्ला सार्वजनिक पार्क, व्यायामशालाको विस्तार र स्तरोन्नति मात्र हुने होइन, त्यसले प्रदूषण नियन्त्रणका योजना पनि कार्यान्वयन गर्दछ । के यो सहरको गरिमालाई बढाउने काम होइन र ?

स्थानीय सरकारको प्रत्यक्ष निगरानी र अभिभावकत्वमा पुगेको सामुदायिक शिक्षा प्रणालीमा राम्रा डेस्क बेञ्च, राम्रो भवन, धुलो नउड्ने आँगन, परेड र खेलकूदस्थलको विकाससँगै आलोचनात्मक चेतना र सृजनशील विद्यार्थी तयार गर्न सही पाठ्यक्रम, योग्य र तालिमप्राप्त शिक्षक र परिष्कृत पढाउने तरीका समेतको महत्वपूर्ण भूमिका हुन्छ । यसमा ध्यान दिने मात्र होइन, यस्ता कुरालाई स्थायी रूपमा कार्यान्वयन गर्ने मेयर भए भने त्यसले काठमाडौँमा कस्तो दीर्घकालीन असर पर्ला ? के हामीले यसलाई गम्भीर भएर सोच्नु जरुरी छैन र ?

ठूला कारखानाको सम्भाव्यता असहज भइरहेको बेलामा स्वरोजगार मूलक प्राविधिक शिक्षा र साना तथा मझौला व्यवसायको उत्थानकालागि स्थान, कानुनीसल्लाह र इनकुबेसन सेन्टर अनि स्थानीय लगानीकर्ताको एउटा समूह खडा गर्न सक्दा के होला ? त्यसले रोजगारका निम्ति विदेश जाने युवाहरूलाई स्वदेशमै रोजगार सिर्जना हुने अवसर आउँदैनथ्यो र ? अनि यस विषयतर्फ नगरपिताको ध्यान आवश्यक छैन र ?

साँस्कृतिक सहर, खुल्ला संग्रहालय जे भनेपनि यसमा भौतिक संरचना सम्बर्द्धन र पुनर्निर्माण त महत्वपूर्ण छँदैछ, त्यसको पछाडि रहेका साहित्यिक र पौराणिक विवेचना एवं त्यसका द्योतक र धरोहरका रूपमा रहेका जात्रा, गुठी, नाच, पर्व र तिनीहरूसँग सम्बन्धित पहिरन र आभूषणलाई जगेर्ना गर्नु आगामी पुस्तालाई तिनको इतिहासको गरिमा बुझाउनु हो । पर्यटकहरूलाई हस्तकला र औद्योगिक उत्पादनबीचको फरक महसुस गराउनु त्यसको अर्को विशेषता हो । यस्ता कुरालाई संरक्षण र प्रोत्साहन गर्नु महानगरपालिकाको दायित्वभित्र पर्दैन र ?

सभ्यताको शुरुवात नदी किनारबाट भएको हुन्छ । त्यसैले नदीहरू सहरका गहना हुन् । नदीको दीर्घकालीन सरसफाईको योजना, तटबन्ध, हरियाली तथा रमणीय पार्क र क्रिडास्थलको स–साना परियोजनाले मात्र पनि सहरको सौन्दर्य उत्थानमा छिट्टै महसुस हुनेगरि प्रगति हुन्छ । काठमाडौँ सहर हुँदै बग्ने बिष्णुमती, रुद्रमती र बागमतीको बिजोग महानगरपालिकाले टुलुटुलु हेरेर बस्नुको के अर्थ होला र ? जनतासँग नदी स्वच्छ राख्ने योजना होलान्, तिनले सघाउलान् पनि, तर कार्यान्वयन गर्न महानगरपालिका नै अघि सर्नु पर्ने होइन र ?

काठमाडौँभित्र ६-७ ठाउँबाट लगभग दुई सय भन्दा बढी ट्याङ्करबाट ५ हजारदेखि बाह्र हजार लिटरसम्म एक पटकमा आपूर्ति हुन्छ । करिब सत्र सय रूपैयाँ पर्छ छः हजार लिटर पानीको । मेलम्चीको पानी आए पनि राजधानीमा पानीको व्यापार रोकिने देखिन्न । त्यसैले जनस्वास्थ्यमा प्रत्यक्ष असर गर्ने दैनिक करोडौँ लिटर पानीको गुणस्तरमा महानगरपालिकाले अनुगमन गर्नैपर्छ ताकि उपभोक्ता नठगिउन् । भविष्यमा महानगरपालिकाले त्यस भूमिकामा सक्रियता देखायो भने नगरवासीकालागि त्यो स्तुत्य हुँदैन र ?

यो महत्वपूर्ण सहरले धेरै राम्रो व्यवस्थापन पाउने योग्यता राख्छ र नगरबासीले आफू बाँचिरहेको सहरमा भइरहेका कार्यसम्पादन र योजनाबारे थाहा पाउनु हक समेत हो । त्यस्ता जानकारी वा सूचनाको पारदर्शिता डिजिटल प्रविधिको सहारामा सहजै उपलब्ध गराउनु नगरपालिकाको दायित्व होइन र ? कामपाका १४ विभाग, ३१ महाशाखा र ५५ शाखाहरूको उद्धेश्य बमोजिमका अधिकार, कर्तव्य र सांगठनिक आन्तरिक निरीक्षण चुस्त बनाउँदा निक्लने परिणामले कायापलट हुनसक्छ । के यसमा महानगरपालिका उदासीन रहन मिल्छ र ?

ठूल्ठूला सपनाका महल र मिथ्या प्रचारको पछि दौडिँदा दशकौँ खेर गईसके हाम्रा । सानातिना कामहरूलाई नै उल्लेखनिय सफलताको मानक हुन् भनेर महानगरपालिका आफैँले प्रचार प्रसार गर्दा नगरवासीमा नैराश्यता जाग्नु स्वाभाविक हो । केही किलोमिटर बाटो पीच गरेको, ढुङ्गा ओच्छ्याएको, ईँट्टा बिछ्याएको, बाटो मर्मत गरेको, ढल बनाएको, दुई चारवटा पुल बनाएको फेहरिस्तको पगरी गुथिरहँदा विकासका वृहत् कामहरू र त्यसको पर्खाईमा बसेका नगरवासीका अगाडि महानगरपालिकाको धोती फुस्किरहेको र नगरवासीमा निराशा चुलिएको अब धेरै भईसक्यो । जो मेयर हुन्, तिनले यसमा ध्यान दिनु पर्दैन र ?

भनिएको छ, कुनै भूल गर्नु गल्ती होइन, गल्ती नै नगर्नु बरू भूल हुन सक्छ । तर, दोहो-याएर गल्ती गर्नु महाभूल हो । आउनुहोस्, यसपाली महाभूल हुनबाट हामी जोगिउँ, अरूलाई पनि जोगिन प्रोत्साहन दिउँ ।

आज जो वृद्ध छन्, तिनले आफ्नो यौवन यसै सहरलाई समर्पित गरेका थिए । तिनको समस्या वा स्वास्थ्यप्रति के महानगरपालिकाले योजना बनाउनु पर्दैन ? जेष्ठ नागरिकहरूलाई दैनिक स्वास्थ्य, विशेषगरी बाथरोग, स्वासप्रस्वास सम्बन्धी रोग, फिजीयोथेरापी, मधुमेह, रक्तचाप, कान र आँखाको समस्याको सेवा दिने दिगो कार्यक्रम ल्याउने जिम्मेवारी पनि महानगरपालिकाकै हो । ७०–७५ वर्ष माथिकालाई पुरै छुट र पहिलो प्राथमिकता अनि अरूले पनि सीमित शुल्कमा जँचाउन पाउने भए कस्तो हुन्थ्यो होला ? पार्किन्सन, अलजाईमर, डिमेन्सिया, डिप्रेशन, मानसिक स्वास्थ्य र स्वास्थ्य परामर्श सेवाका आधार समेत तयार हुँदै गए कस्तो हुन्थ्यो होला ? के यसका लागि महानगरपालिकाले पहल लिनु पर्ने होइन र ?

सन् २०११ को गणना अनुसार नेपालमा १ प्रतिशत भन्दा बढी अपाङ्गता भएका नागरिकहरू छन् । त्यस अनुरूप झण्डै १७/१८ हजार त काठमाडौँमै भएको अनुमान गर्न सकिन्छ । तिनका लागि सक्रिय र सम्मानजनक जीवनयापन गर्न एउटा स्थायी कार्यक्रम ल्याउने अठोट कसले लिनु पर्ने हो ?

अब प्रश्नहरू छाडेर अहिलेको प्रमुखमध्ये एउटा तथ्यतिर जाउँ । विगत पाँचवर्षको अवधिमा कामपाको बजेट ३ दशमलव ६६ अर्बबाट सुरू भई १९ दशमलव ९० अर्ब पुगेको छ । यसले स्थानीय सरकार बलियो हुँदै गएको सङ्केत गर्दछ । तर, त्यसको लाभ नगरवासीले महसुस गरेको देखिँदैन । महानगरका आधारभूत आवश्यकताका कुरा छाडौँ, सडक निर्माण होस् या ढल निकास जस्ता देखिने कुरामा समेत महानगरपालिकाको व्यवस्थापन चुकेको छ । यस्तो लाग्छ यस नगरमा बाँच्नकालागि नगरवासी स्वयं आफैँ भिडेर बाँच्नु परेको छ । त्यसबाहेक बिगत पाँच वर्षमा झण्डै ६० अर्ब बजेटको व्यवस्थापनबाट प्राप्त विकासको तस्बिर कस्तो छ ? खर्च र जम्मापूँजीको तालमेल त छाडिदिउँ, अनावश्यक र आश्चर्यजनक खर्चले महानगरपालिकाको दायित्वबोधको धरातललाई कस्तो देखाउँछ, सहजै बुझ्न सकिने कुरा हो ।

भनिन्छ, सपना देख्नेहरूले सँधै जित्दैनन्, तर जसले जित्छन् तिनीहरू सबैले सपना देखेकै हुन्छन् । त्यसैले यसपालिको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा भोटहाल्दा यो दल/ऊ दल, पुरानो/नयाँ, जात/धर्म, वर्ण/लिङ्ग, पैसा/भोज आदि कुनैलाई पनि आधार नबनाउँ । आफ्नो मात्र नभई आउने पुस्ताको गौरवलाई मध्यनजर राखेर मतको सदुपयोग गरौँ । व्यवस्थापन क्षमता, स्वच्छ चरित्र भएको योग्य व्यक्तिलाई भोट हालि जिताएर आफूले दिएकै मतका कारण आफू बाँधिएको माखेसाङ्लो चुँडाउने कर्तव्य पालन गरौँ । महानगरको वास्तविक स्वरूप कस्तो हुनुपर्छ भन्ने सपना देख्नुभएको छ भने त्यो सपना साकार पार्ने पहिलो र प्रमुख हात तपाईंकै छ भन्ने कुरा सँधै सम्झिनुहोस् ।

भनिएको छ, कुनै भूल गर्नु गल्ती होइन, गल्ती नै नगर्नु बरू भूल हुन सक्छ । तर, दोहो-याएर गल्ती गर्नु महाभूल हो । आउनुहोस्, यसपाली महाभूल हुनबाट हामी जोगिउँ, अरूलाई पनि जोगिन प्रोत्साहन दिउँ ।

प्रतिक्रिया

One thought on “सोच बदल्नुहोस्, बद्लिनेछ तपाईंको सहर

  1. तर सोच बदलिने छैन, यो सपनामा मात्रै सीमित हुनेछ र आगामी ५ वर्ष यिनै अनुसार, यस्तै हालत देख्नेछौँ ।

Leave a Reply

Your email address will not be published.