श्रीलंकाका सबै मन्त्रीद्वारा राजीनामा

कोलम्बो । श्रीलंकामा आर्थिक संकटसँगै राजनीतिक संकट बढ्दै गएपछि मन्त्रिपरिषद्का सबै सदस्यहरूले राजीनामा दिएका छन् ।

प्रधान मन्त्री महेन्दा राजापाक्षे बाहेक सबै मन्त्रीहरूले राजीनामा दिएको अधिकारीहरूले जनाएका छन् ।

देशमा आर्थिक संकट बढेपछि सरकारका विरुद्धमा आन्दोलन शुरू भएकाले सरकारले संकटकाल लागू गरेको छ । संकटकालसँगै राजनीतिक संकट बढ्न थालेपछि उनीहरूले राजनीतिक संकट न्यूनिकरण गर्न भन्दै राजीनामा दिएको बताएका छन् ।

मन्त्रिपरिषद्का २६ सदस्यले राजीनामा बुझाएको शिक्षामन्त्रीले पुष्टि गरेका छन् । उनका अनुसार मन्त्रीहरूले आइतबार नै प्रधान मन्त्रीलाई राजीनामा बुझाएका हुन । राजीनामा दिनेमा प्रधान मन्त्रीका छोरा पनि रहेको उनले जानकारी दिए ।

विदेशी मुद्राको अभावका कारण इन्धनको आयातको भुक्तान गर्न नसकिएपछि मुलुकमा बहुपक्षीय संकट उत्पन्न भएको छ ।

अहिले दैनिक आधा समय लोडसेडिङ हुने गरेको छ भने खाद्यान्न, औषधि र इन्धनको अभावका कारण सर्वसाधारण आक्रोशित भएका छन् ।

आक्रोशित जनता खाद्यान्न र इन्धन अभाव हुनुमा सरकार दोषी रहेको भन्दै सरकार विरुद्ध आन्दोलनमा उत्रिएका छन् । आन्दोलन चर्किँदै गएपछि सरकारले ३६ घण्टाको कर्फ्यू घोषणा गरेको छ ।

आन्दोलनकारीहरूले राष्ट्रपति गोटाबय राजापाक्षेको निवास घेराउ गर्न थालेपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो । झडपका कारण आन्दोलन अझ चर्किने देखेर सरकारले संकटकाल घोषण गर्दै कर्फ्यू आदेश जारी गरेको हो ।

कर्फ्युका कारण मानिसहरूलाई सार्वजनिक सडक, पार्क, रेल वा समुद्री तटमा लिखित अनुमतिबिना जानमा प्रतिबन्ध लगाइएको छ । त्यसैगरी केही समयका लागि भन्दै सामाजिक सञ्जाल पनि बन्द गराएको छ । –रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + four =