पाँच वडाध्यक्षसहित वेदकोटका मेयर चन्द एकीकृत समाजवादी प्रवेश

धनगढी । कञ्चनपुरको वेदकोट नगरपालिकाका मेयर अशोककुमार चन्द नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।

यसअघि २०७४ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेबाट मेयरमा निर्वाचित भएका चन्द पाँच वडाध्यक्ष र सदस्यलगायतका जनप्रतिनिधिसहित एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।

आइतबार कञ्चनपुरको वेदकोट नगरपालिका–३ दैजीमा आयोजित कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मेयर चन्दसहितका जनप्रतिनिधिलाई पार्टीमा स्वागत गरे । मेयर चन्द यसअघि एमालेमै हुँदा पनि नेपाल पक्षधर नेता मानिन्थे ।

मेयर चन्दसहित वडा नम्बर ३ का वडाअध्यक्ष तिलक ठकुल्ला, ४ का भास्कर भट्ट, ७ का वीर बहादुर डगौरा, ८ का दुर्गा सिंह भन्डारी र १० का वडाअध्यक्ष केशव रावल पनि एमाले प्रवेश भएका हुन् ।

यस्तै कार्यपालिका सदस्यहरु चेतराम कामी, दलबिर टमटा, तारा रैकाल, निर्मला बिस्ट,माया महरा र पिङ्की दमाई पनि समाजवादीमा समाहित हुदै छन् ।

त्यस्तै पार्टीका जिल्ला कमिटीका अन्य नेताहरू पनि समाजवादीमा प्रवेश गरेका छन् । एमाले प्रदेश कमिटी सदस्य गजेन्द्र राना, जिल्ला कमिटी सचिवालय सदस्य हरिराम चौधरी, जिल्ला सचिवालय सदस्य तथा वेदकोट नगर कमिटी अध्यक्ष महेशराज जोशीलगायतका नेता तथा कार्यकर्ता समेत समाजवादीमा प्रवेश गरेका छन् ।

१० वटा वडा रहेको वेदकोट नगरपालिकामा आठ वडामा एमालेले जितेको थियो । चन्दकै कारण वेदकोट नगरपालिकामा एमालेको राम्रो प्रभाव थियो ।

एमालेमा रहँदा माधव नेपाल समूहमा रहेका चन्द नेकपा एमालेको जिल्ला अधिवेशनमा सचिव पदमा लडेका थिए । तर उनी पराजित भए । पार्टी विभाजनसँगै पार्टीभित्रै अन्तरसंघर्ष गर्दै आएका चन्द अन्ततः समाजवादीमा लागेका हुन् । उपमेयर सुशीला सिंह भने एमालेमै छिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *