पोखराको मेयरमा दलहरूकाे आ–आफ्नै दाउ

पोखरा । स्थानीय तहको निर्वाचन नजिकिँदो छ । दलहरू आन्तरिक छलफलमा व्यस्त छन् । पछिल्लो माहोल हेर्दा कांग्रेसको नेतृत्वमा देशभर सत्ता गठबन्धन बन्ने अवस्था छ भने एमाले बाँकी रहेका दलहरूसँग मिलेर चुनाव लड्ने योजनामा छ ।

भूगाेलका हिसाबले सबैभन्दा ठूलो र अन्तर्राष्ट्रिय सहर भएकोले पोखरामा सबै दलहरूको आकर्षण बढी छ । अघिल्लो स्थानीय तहको निर्वाचनमा नेकपा एमाले एक्लैले फराकीलो मतान्तर सहित जितेको पोखरामा यो चुनाव भने सत्ता गठबन्धनले खोस्ने दाउ गरेका छन् ।

अहिले सबै पार्टीले उम्मेद्वारको खोजी गरिरहेका छन् । एमालेले हालकी उपमेयर मन्जुदेवी गुरुङलाई मेयरको टिकट दिने सम्भावना बलियो छ । त्यसो त सांसद तथा पुर्व मेयर कृष्ण थापा, एमाले कास्कीका इन्चार्ज भीम कार्की, सांसद राजीव पहारी, व्यवसायीहरू भरत पहारी र पुष्प अधिकारी लगायतको दाबी पनि मेयरमा छ ।

गठबन्धनमा भने मेयरको भाग कसको पोल्टामा पर्ने निश्चित छैन । महानगरको निर्णय केन्द्रीय नेतृत्वबाट हुने भएकोले त्यतिधेरै चासो देखिँदैन । यद्यपी सबै पार्टीले आफ्नै दाबी गर्छन् । कांग्रेसले आफू गठबन्धनको नेतृत्व दल भएकोले महानगरको मेयर आफूले पाउनुपर्ने बताउँछ ।

गठबन्धनमा सबैभन्दा ठूलो दल कांग्रेस हो । सबैभन्दा ठूलो र प्रदेशको समेत राजधानी भएकोले पोखराको मेयर कांग्रेसले पाउनुपर्छ,’ कास्की सभापति किशोरदत्त बरालले भने, ‘कांग्रेसको मत यहाँ धेरै छ । त्यसमा हाम्रो दाबी स्वाभाविक हो ।’

गठबन्धनको दोश्रो ठूलो दल माओवादी भने अघिल्लो चुनावमा आफूहरूले कांग्रेसलाई सघाएकोले अहिले आफूले नेतृत्व पाउनुपर्ने तर्क गर्छ । ‘अघिल्लो पटक माओवादीले छोडेर कांग्रेसलाई सघाएको हो । अहिलेको चुनावमा अरू पार्टीले माओवादीलाई सघाउनुपर्छ,’ नेता विश्वप्रकाश लामिछानेले भने, ‘प्राकृतिक न्यायको सिद्धान्त पनि त्यहि हो । माओवादीले सधैँ त्याग मात्रै गर्ने होईन ।’

एकीकृत समाजवादी पनि एमालेले जितेको हुनाले पोखरामा आफूहरूलाई मेयर चाहिने दाबीमा छ । जिल्ला अध्यक्ष धनराज आचार्यले पोखरामा सबैले एकीकृत समाजवादीलाई सहयोग गर्नुपर्ने बताए । ‘पार्टी नै फोडेर गठबन्धनको पक्षमा लाग्यौँ । संविधान रक्षाका लागि हाम्रो पार्टीको भूमिका ठूलो छ,’ उनले भने, ‘अब पोखरामा हाम्रो दाबी रहन्छ । मेयरमा एकीकृत समाजवादीलाई टिकट दिनुपर्छ ।’

गठबन्धनभित्रकै जनता समाजवादी र राष्ट्रिय जनमोर्चाको समेत महानगरमा नजर छ । यद्यपि बलियो दाबी पेश गर्न सकेका छैनन् । गठबन्धनभित्रको छलफलबाट अघि बढ्ने सबै पार्टीको निष्कर्ष छ । कांग्रेसले मेयर पाउँदा महिला नेतृ सरस्वती गुरुङ, निर्वतमान जिल्ला सभापति कृष्ण केसी, प्रदेशका मन्त्री विन्दुकुमार थापा लगायतको दाबी छ ।

माओवादीबाट अघिल्लो निर्वाचनमा कांग्रेसलाई सघाएर उम्मेद्वारी फिर्ता लिएका विश्वप्रकाश लामिछाने, सांसद दीपक कोइराला, नेता बखानसिंह तमु लगायतको दाबी छ भने एकीकृत समाजवादीबाट प्रदेशका उपाध्यक्ष श्रीनाथ बराल र जिल्ला अध्यक्ष धनराज आचार्यले दाबी गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *