सुरक्षित मातृत्व र बाल स्वास्थ्यमा सहकार्य गर्न एआइआइएमएससँग डा आरजुको आग्रह

नयाँ दिल्ली । नेपाली कांग्रेसकी नेतृ डा आरजु राणा देउवाले अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइसेन्स (एआइआइएमएस)का पदाधिकारीहरूसँग भेट गरी सुरक्षित मातृत्व र बाल स्वास्थ्यका क्षेत्रमा सहकार्य गर्न सकिने बताएकी छन् । सो इन्स्टिच्युटको भ्रमणका क्रममा डा देउवाले यस किसिमको ‘डेडिकेटेड’ अस्पताल नेपालमा पनि आवश्यक रहेकाले त्यसका लागि आवश्यक जनशक्ति तयार गर्न र पूर्वाधार निर्माणमा सहयोग गर्नेबारेमा आग्रह गरेकी हुन् ।
इन्स्टिच्युटका विज्ञहरूसँगको अन्तक्र्रियामा डा देउवाले नेपालमा पनि एआइआइएमएसजस्ता संस्था स्थापना गरी तिनको संस्थागत विकास गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै यसबारेमा प्रधान मन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा राख्ने बताए । सरकारी र गैरसरकारी निकायको निरन्तर प्रयास हुँदाहुँदै नेपालमा मातृ मृत्युदर र नवजात शिशुको मृत्युदर घटाउन सकिएको भए पनि अझै यो समस्या चुनौतीका रूपमा रहेको उल्लेख गर्दै उनले मुलुकको सुदूरपश्चिम क्षेत्रमा यो समस्यामा अझै रहेको देखिएकाले त्यस क्षेत्रमा एआइआइएमएसको सेवा लैजान आवश्यक रहेको बताइन् ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएकी डा देउवाले तीन दशकदेखि नेपालमा सुरक्षित मातृत्व र बाल स्वास्थ्यका क्षेत्रमा काम गर्दै आएकी छन् । । उनी नेपालमा एक चुनौतीका रूपमा देखिएको मातृ मृत्यु तथा शिशु मृत्यु घटाउनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका अभ्यासहरू भित्र्याइ देशका विभिन्न भू–भागमा विशेष अभियान सञ्चालन गर्दै आएकी हुन् । प्रधान मन्त्री शेरबहादुर देउवाको औपचारिक भारत भ्रमणका क्रममा डा आरजु राणा देउवा पनि नयाँ दिल्लीमा छन् ।
डा देउवाको आग्रहलाई सहर्ष स्वीकार गर्दै छिट्टै यस सम्बन्धमा आवश्यक पहल सुरु गरिने एआइआइएमएसका निमित्त निर्देशक प्रा डा नीना खन्नाले बताइन् । उनले नेपालकी प्रथम महिला तथा सुरक्षित मातृत्वका क्षेत्रमा लामो अनुभव सँगाल्नुभएकी डा देउवासहितको नेपाली विज्ञहरूलाई स्वागत गर्न पाउँदा खुसी लागेको बताउँदै नेपाल सरकारसँग समन्वय गरी यस क्षेत्रमा काम गर्न इच्छुक रहेको धारणा राखेकी छन् । रासस








