घरघर जाऔं कांग्रेस जिताऔं भनेपछि माओवादीलाई कसरी भोट हाल्ने ? डा. कोइराला

पोखरा । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेपाली कांग्रेस आफ्नै जगमा चुनाव लड्नुपर्ने बताएका छन् । अहिलेको गठबन्धन विचार नमिल्ने पार्टीहरुबीच भएकोले चुनावमा सँगै जानु उपयुक्त नहुने उनको तर्क छ । ‘तालमेल गर्ने कुरालाई म खराव भन्दिनँ । तर यो कुरालाई पनि हामीले मध्येनजर गर्नुपर्छ कि नयाँ मतदातालाई हसियाँ हथौडामा कसरी भोट हाल भन्ने ?,’ उनी भन्छन्, ‘एकातिर घरघर जाऔं कांग्रेस जिताऔं भनेका छौं । कुनै वडामा माओवादीलाई दियौं भने यो नाराको के काम ? यो त मिलेन नि ।’


पोखरामा प्रजातन्त्रिक विचार समाजको कार्यक्रममा बोल्दै उनले अघि भने, ‘विचार नै नमिल्ने पार्टीसँग तालमेल गरेर जानुपरेको छ । निर्णय कार्यान्वयन गर्न अत्यन्तै गाह्रो छ ।’ तालमेलको मोडालिटीबारे दलहरु स्पष्ट नभएको उनले बताए ।

‘अलि दिन अघि प्रचण्डले सभापति जीलाई प्रश्ताव गर्नुभएछ कि पहिले चुनाव जितेको ठाउँ सोही पार्टीले लिने । एमालेले जितेका ठाउँमा दोश्रो हुने पार्टीलाई दिने भनिएको छ,’ उनले भने, ‘प्रचण्डले भरतपुरलाई मात्रै हेर्नुभयो । ‘३१९ पालिकामा हामी दोश्रो भएका छौं । २६६ मा हामी पहिलो भएका छौं । पहिलो र दोश्रो सहित लिँदा कांग्रेसको भागमा ५८५ पालिका पर्छ । प्रचण्डजीले साँच्चै यो पालिका कांग्रेसलाई दिन सक्नुहुन्छ ?’

गठबन्धनबारे कांग्रेसभित्रै फरक–फरक मत रहेको कोइरालाको भनाई छ । ‘केन्द्रिय समिति बैठकमा दुईवटा धार भयो । कोही गठबन्धन गर्ने र अर्को गठबन्धन नगर्ने भन्नुहुन्छ,’ उनले भने, ‘हिजो तत्कालीन सरकारले संविधान कुल्चिएर अगाडी बढ्न खोज्दा बनेको गठबन्धन निर्वाचनसम्म जानुपर्छ भन्ने तर्क छ । सरकार सन्चालन गर्ने गठबन्धन एउटा हो, निर्वाचनमा तालमेल गर्नु अर्को हो भन्ने बुझ्नु जरुरी छ ।’ लोकतन्त्रको रक्षा नेपाली कांग्रेसले मात्रै गर्न सक्ने भन्दै यसको मजबुतीका लागि सरकार सचेत हुन सुझाव दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *