यस पटकको तरलता अभाव ‘सिस्टेमिक’ हो, तत्काल समाधान हुँदैन 

काठमाडौँ । यो आर्थिक वर्ष अर्थतन्त्र का लागी उत्साहप्रद रहेन । कोभिडको त्रासले जति बिगार्छ भन्ने सोचेका थियौँ, त्यति बिगारेको थिएन । तर कोभिड शान्त हुँदै गर्दा अर्थतन्त्रले गति लिन्छ की भन्ने अपेक्षा थियो । त्यो पूरा हुन सकिरहेको छैन। केही सूचकांक निम्नानुसार छन्:

१. मुद्रास्फितिको दर दुई गुणा भन्दा बढीले बढेर ६ प्रतिशत हाराहारी पुगेको छ। थोक मूल्यको मुद्रास्फिति १० प्रतिशतभन्दा बढीले बढ्यो ।

‍२. कर्जा वृद्धिको एक तिहाइ पनि निक्षेपको वृद्धिदर हुन सकेन । स्थानीय सरकारको खाताको ८० प्रतिशतसम्म रकमलाई बैँक तथा वित्तीय संस्थाको निक्षेपमा गणना गर्न मिल्ने व्यबस्था गर्दासमेत सवा खर्ब निक्षेप वृद्धि पनी हम्मे हम्मे भयो । बैँकहरुको सीडी रेसियो ९१ प्रतिशतको हाराहारी छ ।

३. व्यापार घाटा ३८–४० प्रतिशतले बढेको छ। वैदेशिक मुद्रा सञ्चिति घट्दै गएर साढे छ महिनासम्मको बस्तु तथा सेवा आयात गर्न मात्र पर्याप्त छ र चाप बढ्दो छ ।

४. दुई लाखभन्दा बढी थप नेपाली नागरिक वैदेशिक रोजगारीमा जाँदा पनि रेमिट्यान्स ६ प्रतिशतको हाराहारीले घटेको छ ।

५. अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ५५ प्रतिशतभन्दा बढीले वृद्धि भएकाले त्यसको असर नेपालमा पनि परेको छ ।

७. सरकारले पूर्ववत पुँजिगत खर्च गर्न सकेन । वैदेशिक ऋण तथा सहायता बजेटको अनुरूप प्राप्त हुन सकेको छैन । वैदेशिक लगानीको लक्ष्य, गफ र तथ्यको अवस्था उस्तै छ ।

७. सरकार तथा सरकारी निकायहरूले नेपाल राष्ट्र बैंकमा खोलेका खाताहरूमा रु १०० अर्बभन्दा थप रकम जम्मा भएको छ । यसले तरलतामा थप चाप परेको छ।

८. ब्याजदरमा वृद्धि भएको छ । नयाँ कर्जा पाउनै मुस्किल, पाइहाले पनि १३ प्रतिशतभन्दा माथिको ब्याजदरमा लिनुपर्ने स्थिति छ । यसले उधमशीलतालाई निरूत्साहित गर्छ र यसको दूरगामी असर पर्दछ।

९. देशको अर्थतन्त्रका सूचकांकहरु जस्तै रहे पनि नेपालीहरूको वैदेशिक यात्रा राम्रै बढेको छ। देशमा भन्दा विदेशमा सम्भावना बढी देखिँदा पढ्न या पढ्न भनेर विदेशिने संख्या राम्रै बढ्दा यस्तो भ्रमणमा हुने खर्च ९२ प्रतिशत हाराहारीले बढेर रु‌ ३६ अर्बभन्दा माथि पुगेको छ ।

१०. पुँजी बजारप्रति सरकार र नियामकहरुको अस्थिर रवैया र लगानीकर्ताहरुको अस्थिर मनोवृतिले गर्दा दैनिक रु २०–२२ अर्ब कारोबार रकम पुगेको बजार घटेर रु‍ २–३ अर्ब दैनिक कारोबारमा सीमित भएको छ । यसले लगानीकर्तामा निराशासँगै पुँजी पलायनको समेत आशङ्का गरिएको छ । तरलता अभावमा शुरुवाती दिनमा एक अर्कालाई दोष दिँदै समाधानका बारेमा सोचिएन ।

यस पटकको तरलता अभाव सिस्टमेटिक हो र छिट्टै अनी सहजै समाधान हुँदैन भन्ने मेरो धारणा शुरुवात मै थियो । यस पटक अर्थतन्त्रका सूचकांकहरु सबैतिरबाट बिग्रेका छन् । एउटा प्वाल टाल्यो भने अरु दुई प्वाल पर्ने स्थिति छ ।

अहिले कसले कसलाई दोष दिएर आफू चोखो बन्ने भन्ने खेलमा लाग्ने बेला होइन । समाधानका उपायहरुमा लाग्नुपर्छ । होस्टेमा हैँसे गर्नु पर्छ । समयमै एउटा टास्क फोर्स (राजनैतिक रंग र स्वार्थ नभएको) बनाएर अल्पकालीन र दिर्घकालीन समाधानमा उपायमा काम गर्न जरुरी छ । (मनाेज ज्ञवाली बैंकर हुन् । उनी नविल बैंककाे  चिफ फाइनान्सियल अफिसर हुन्)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *