‘चुनावी तालमेलको मोडालिटी छिट्टै’

काठमाडौँ । नेपाली कांग्रेस नेता प्रकाशमान सिंहले गठबन्धनको औचित्य अझै नसकिएको बताएका छन् । त्यसैले केन्द्रीय कार्यसमिति बैठकले स्थानीय आवश्यकताका आधारमा सत्ता साझेदार दलहरुबीच तालमेल गरेर जाने निर्णय गरेको उनले बताएका हुन् ।
कहाँ कसरी तालमेल गर्ने विषयमा छिट्टै दलहरू बसेर मोडालिटी तय हुने समेत सिंहले बताएका छन् । ‘काँग्रेसको संसदमा उपस्थिति कस्तो थियो रु के कारण काँग्रेसको नेतृत्वमा सरकार निर्माण भयो रु यी सबै कुरा सबैले ख्याल राख्नुपर्छ’, उनले भने ।
नेपाली नागरिकलाई अधिकार दिलाउने पार्टी काँग्रेस भएको कुरा नबिर्सन उनले सबैमा अपिल गरे । बुधबार काठमाडौँको बुद्धनगरमा आयोजित स्थानीय नागरिकहरूसँगको भेटघाटका क्रममा उनले चुनावीमा जनताले पार्टीहरूको लेखाजोखा गर्ने बेला आएको बताए । ‘कसले कुन समयमा देश र जनताका लागि के गर्यो ? यसको सही मूल्याङ्कन गर्नुपर्छ । क्षणभरको घटनाक्रम मात्रै नभई विगतको पनि समीक्षा गरेर आफ्नो मत दिनु हुन मेरो आग्रह छ’ उनले भने ।
फरक प्रसङ्गमा बोल्दै परिवर्तनको नारा दिएर जनतालाई भ्रम छरेर क्रान्तिकारी कुरा गरेर राजनीतिमा आएको पार्टी विवेकशील साझाको हालत के भयो भन्दै प्रश्न गरेका छन् । राजनीतिमा नारा र भाषणले मात्रै चल्दैन भने कुरा पुष्टि भएको सिंहले बताए । उनले भने, ‘आज ती पार्टीका नेताको गतिविधि कस्तो छ ? पार्टी कस्तो छ ? सबैले देखे सुनेकै होला ? भ्रम छर्नेहरू बिस्तारै जनता माझ नाङ्गिँदै गएका छन् ।’








