निगमकाे घाटा कम गर्न ४ विकल्प : सवारीमा जाेरबिजाेरदेखि आइतबार बिदासम्म

काठमाडौँ । बढ्दो मूल्य वृद्धिका कारण निरन्तर घाटामा रहेको जनाउँदै आएको नेपाल आयल निगमले घाटा कम गर्न ४ वटा विकल्पसहित उद्योग, वाण्ज्यि तथा आपूर्ति मन्त्रालयलाई पत्र लेखेको छ ।

पेट्रोलियममा भएको मूल्यवृद्धिले मासिक ९ अर्ब रुपैयाँभन्दा बढी घाटा हुने भएपछि त्यस्तो घाटा कम गर्न निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले विकल्पसहित निगमलाई पत्र लेखेका हुन् ।

निगमले व्यहोर्दै आएको घाटा कम गर्न उक्त ४ विकल्पहरु मध्ये कुनै एक छनोट गर्न निगमको सुझावसमेत छ ।

निगमले सुधारएका विकल्पहरुमा सवारी साधनमा जोर–विजोर प्रणाली लगाउने, सरकारी कर्मचारीलाई शनिबार र आइतबार साताको दुई दिन सार्वजनिक विदा दिने, सरकारी सवारी साधन पूर्ण क्षमतामा (सीट खाली नराख्ने), पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ र ग्यासमा प्रतिसिलिन्डर २ सय रुपैयाँ कर घटाउने र बाँकी रहेको घाटालाई मूल्य समायोजन गरी परिपूर्ति गर्न सकिने विकल्प सुझाएको छ । त्यस्तै, एकै पटक आवश्यक मूल्य समायोजन गरी भविष्यमा पनि घाटा नहुने गरी अघि बढ्नुपर्ने उल्लेख गरिएको छ ।

‘अहिले अन्य उपाय अपनाउन सकेनाैँ भने पनि तेलको प्रयोग घटाउँदा हाम्नाे घाटा कम हुनसक्छ,’ निगमका निमित्त उप प्रबन्ध निर्देशक नागेन्द्र साहले भने, ‘कुनै न कुनै विकल्पमा जानै पर्ने देखिएको छ । यसरी नै अघि बढे घाटा बढ्दै जान्छ । हामीले देशकाे अर्थतन्त्र श्रीलंकाको जस्तो हुन नदिन पनि समयमै ध्यान दिनुपर्ने छ ।’

नेपालमा वार्षिक करिब २ खर्ब रुपैयाँको इन्धन आयात हुने गरको छ । अहिले रुस र युक्रेनबीचको युद्धले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको छ ।

त्यस्तै, रुसी मुद्राको अवमूल्यन भई अमेरिकी डलरको मूल्य बढ्दा पनि तेलकाे मूल्य बढेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *