गोरखामा छिमेकी पालिकाबीच भगिनी सम्बन्ध कायम

पोखरा । गोरखाका दुई गाउँपालिकाबीच भगिनी सम्बन्ध जोडिएको छ । शहीद लखन र गण्डकी गाउँपालिकाबीच औपचारिक कार्यक्रमबीच सम्बन्ध गाँसिएको हो । सिमाना जोडिएको र सहकार्य तथा समन्वय गरेर अघि बढ्दा विकास निर्माणमा समेत सजिलो हुने भन्दै सम्बन्ध स्थापना गरिएको हो ।

दुई पालिकाको संयुक्त कार्यपालिका बैठकसमेत बसेकाे छ । बैठकले ११ बुँदे सहमति गरिएको शहीद लखनका अध्यक्ष रमेशबाबु थापाले बताए । ‘एउटा गाउँपालिकाले गरेकाे राम्राे काम अर्कोले पछ्याउँछ,’ उनले भने, ‘विकास आयोजनाका पनि संयुक्त योजना बनाउने सल्लाह भएको छ ।’ खासगरी लक्ष्मीबजारदेखि तीनमाने बतासे हुँदै फुजेलबाट सिउरेनीटार जोड्ने सडक स्तरोन्नतिका लागि संयुक्त पहल गर्ने निर्णय भएको थापाले बताए ।

दुई पालिका जोडिएको भएपनि धेरै विविधता छ । रणनीतिक सडक, भौतिक पूर्वाधार निर्माण तथा स्तरोन्नतिका लागि मिलेर संघ र प्रदेश सरकारलाई घच्घच्याउने प्रमुख प्रशासकीय अधिकृत जीवन आलेले बताए । गण्डकीका अध्यक्ष होमबहादुर रानाले पर्यटन विकासका लागि यो सम्बन्ध महत्त्वपूर्ण हुने बताए ।

‘एक्लाएक्लै हिँड्दा टाढा पुग्न सकिएन । अब सँगै हिड्न सम्बन्ध गाँसेका हाैँ,’ उनले भनेका छन् । शहीद लखनले यसअघि देवघाट गाउँपालिकासँग पनि भगिनी सम्बन्ध गाँसेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *