बाक्लो तुवाँलोले उडान–अवतरण प्रभावित

काठमाडौँ । पछिल्लो केही दिनयता वायुमण्डलमा देखिएको बाक्लो तुवाँलोका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुने उडान अवतरण प्रभावित भएको छ । यसले त्रिभुवन विमानस्थलबाट आन्तरिक र बाह्य गन्तव्यमा जान र ती गन्तव्यबाट विमानस्थलमा ओर्लिन चाहने झण्डै ३५ हजार यात्रु प्रभावित भएका छन् ।
यसमध्ये आन्तरिक उडानतर्फ उड्ने र ओर्लिने गरी दैनिक १० हजार यात्रु प्रभावित भएका छन् । त्यस्तै, अन्तर्राष्ट्रिय उडानतर्फ उड्ने र ओर्लिने गरी झण्डै २५ हजार यात्रु प्रभावित भएको त्रिभुवन विमानस्थल सञ्चालन विभागका निर्देशक टेकनाथ सिटौलाले मकालु खबर जानकारी दिए ।
उनका अनुसार मौसम सफा हुँदा र अवस्था सामान्य हुँदा विमानस्थलबाट दैनिक अन्तर्राष्ट्रिय गन्तव्यतर्फ दैनिक २० हजार यात्रु उड्ने गरेका थिए । त्यस्तै, २० हजार यात्रु ओर्लिने गरेका थिए । तर, हाल दैनिक साढे १२ हजारका दरले झण्डै २५ हजार अन्तर्राष्ट्रिय यात्रुले उड्ने र ओर्लने गरेका छन् । त्यस्तै दैनिक साढे ४ सय वटासम्म उडान विमानस्थलबाट हुने गरेको थियो ।
हेलिकोप्टरसहित आन्तरिक तर्फ २० ओटा र अन्तर्राष्ट्रियतर्फ २५ ओटा एयरलाइन्सले विमानस्थलबाट उडान–अवतरण गरिरहेका छन् ।
यी सबै यात्रु हवाइ सेवा प्रदायक कम्पनीका विमानबाट यात्रा गर्ने यात्रु अहिले हैरानीमा परेका छन् । गन्तव्यमा पुग्न हतारिएर विमानस्थल पुगेका कयौँ यात्रु घण्टौँ विमानस्थलमा कुर्न बाध्य बन्न थालेका छन् ।
वायु मण्डलमा देखिएको बाक्लो धुँवा र धुलाेमिश्रित तुवाँलोले भिजिबिलिटी कमजोर हुँदा विमानस्थलको उडान ढिलो (डिले) भइरहेको छ । त्यस्तै, अवतरणका लागि विमानस्थल आएका कतिपय जहाज विमानस्थलमा ओभर ट्राफिकिङका कारण आकाशमाथि नै फन्को लगाउनु पर्ने वा होल्ड गर्नुपर्ने अवस्था देखिएको छ ।
विनमानस्थलबाट आन्तरिक उडानतर्फ बुद्ध एयरले मात्रै दैनिक १ सय ४० वटा उडान गर्ने गरेको छ । यी मध्ये धेरै उडान प्रभावित भइरहेको कम्पनीका कम्युनिकेशन म्यानेजर दिपेन्द्र कर्णले बताए ।
‘सकेसम्म सबै उडान गर्ने हाम्रो कोसिस जारी छ,’ उनले भने, ‘बुद्ध एयरको उडान अवतरणबारे हरेक क्षणको जानकारी लिन बुद्ध एयरको मोबाइल एप प्रयोग गर्नुभयो भने यात्रु महानुभावलाई सजिलो हुनेछ । अहिले इस्ट्रुमेन्टल फ्लाइट रुल्स(आईएफआर) अनुसार उडान भइरहेको छ । उडान प्रभावित भएका छन् ।’
विमानस्थल सञ्चालन विभागका निर्देशक सिटौलाका अनुसार यात्रुको समस्या कम गर्नेबारे छलफल समेत भइरहेको छ ।
‘हेज भनेको प्राकृतिक समस्या हो,’ उनले भने, ‘मानव सिर्जित समस्यालाई कम गर्न सकिएला । त्यसो हुँदा यात्रुलाई कसरी सहज हुन्छ भन्ने बारे छलफलका क्रममा छौँ ।’
खास गरी नेपालमा चैत–वैशाख जस्तो सुख्खा मौसममा महाभारत, चुरे तथा तराईमा ठूलो भूभागमा वन डँढेलो लाग्ने गरेको छ । त्यसले पनि वायु मण्डलमा धुँवा मिश्रित तुँवालो बन्दछ । त्यस्तै सुख्खा माैसममा वायु मण्डलमा धुलाेसमेत मिसिने भएकाेले तुँवालाे बाक्लो हुने गरेकाे छ । यसले दृश्यता(भिजिबिलिटी) कमजोर बनाउने गरेको छ ।









