स्थानीय तहका अब्बल उपप्रमुख अध्यक्ष र मेयरको दाबी गर्दै

विराटनगर । मोरङको पथरीशनिश्चरे नगरपालिकाकी उपप्रमुख यमुना विष्ट जसरी हुन्छ मेयरको लागि टिकट लिएरै छाड्ने दाउमा छिन् । व्यवसायी पृष्ठभूमिबाट आएकी विष्ट महिला र जेष्ठ नागरिकको साथ र सहयोगले नगरवासीको मन जितेकोले मेयरको लागि चुनाव जित्ने विष्टको दाबी छ ।

मानव अधिकार आयोगले देशभरीबाट छनौट गरेको स्थानीय तहको न्यायीक समितिमा पथरीशनिस्चरे नगरपालिकाको न्यायीक समिति उत्कृष्ट बनाउने काममा आफ्नो योगदान रहेकोले पनि कामको मूल्यांकन पार्टीले गर्नुपर्ने उनी सुनाउँछिन् ।

पार्टीले मेयरको लागि टिकट दिँदाको अवस्थामा ५० वर्षे भिजन सहितको दीर्घकालीन योजना अघि बढ्ने उनको भनाई छ । कार्यकाल ५ वर्षको भएपनि नगरलाई ५० वर्षपछि कस्तो बनाउने भन्ने बारेमा विज्ञसहितको टोली बनाएर दीर्घकालीन सोचका साथ अघि बढ्ने उनको योजना छ । पहिलो ५ वर्ष सिकाईकाबिच केही राम्रा काम भएपनि सोचेको जस्तो काम गर्न नसकेको स्वीकार गर्दै उनले अरू पालिकाको तुलनामा भने राम्रो काम भएको बताइन् ।

मेयरको दौडमा लागेकी विराटनगर महानगरपालिकाकी उपप्रमुख इन्दिरा कार्कीले आफू मेयरको बलियो उम्मेदवार भएको बताइन् । उपप्रमुखको रूपमा राम्रो काम गर्नेहरूलाई पार्टीले मेयरको रूपमा उभ्याउनु पर्ने उनको ठम्याई छ । ‘म जतिको सजिलो अरूलाई हुँदैन’, उनले भनिन्, ‘मैले नागरिकका पिर वेदनालाई नजिकबाट बुझेको छु, नागरिकका समस्या समाधान कसरी गर्ने भन्ने पाँच वर्षको अनुभवले सिकाएको छ ।’

स्थानीय तह कार्यान्वयनमा जाँदाको पहिलो पाँच वर्षको अवधिमा पनि पहिलो एक वर्ष केही कामै नगरेर अलमलमा बितेको थियो । अब आउने नयाँ जनप्रतिनिधिलाई पनि त्यस्तै हुने भएकोले उपमेयरलाई मेयरको लागि टिकट दिन पार्टीले कन्जुस्याइँ गर्न नहुने तर्क कार्कीको छ । ‘पार्टीभित्र पनि थुप्रै आकांक्षी देखिनु भएको हुनसक्छ, सबैलाई मिलाउन पनि समस्या नै होला तर कामलाई पनि मूल्यांकन पार्टीबाट हुने नै छ’, उनले भनिन्, ‘कामको मूल्यांकन गर्दा म पार्टी भित्रको बलियो उम्मेदवार हुँ ।’

मोरङको मिक्लाजुङ गाउँपालिकाकी उपाध्यक्ष सरला राई पालिकाको अध्यक्ष पदकोलागि टिकट पाए चुनाव जित्नेमा ढुक्क छिन् । लामो समयदेखि सामाजिक क्षेत्रमा काम गरेकोले पहिलो स्थानीय तहको निर्वाचनमा भारी मतकासाथ उपाध्यक्षमा जितेकी राई अध्यक्ष पदमा पनि चुनाव जित्न सफल हुने उनी बताउँछिन् ।

गाउँमा नागरिकले मन पराएको काम राम्रो गरेको भन्दै गर्ने प्रशंसाले उनलाई पार्टीले टिकट दियो भने जित्छु जस्तो लाग्छ । ‘उपाध्यक्ष हुँदा गरेका राम्रा कामको लेखाजोखा पार्टीले पनि गरेको होला उनी भन्छिन्, पार्टीले के कस्तो निर्णय गर्छ त्यसमा लाग्नु नै सबैको लागि राम्रो हुन्छ ।’ पार्टीले टिकट दिइहाले पनि अध्यक्ष पदको निर्वाचनको लागि ठूलो धनराशी निर्वाचनमा खर्च हुने डरमा उनी छिन् । ‘अध्यक्षमा टिकट दिएपनि ठिकै छ’, उनले भनिन्, ‘उपप्रमुखमा कसैले नाम काट्न सक्ने अवस्था छैन, आफूले राम्रो र अरूपालिका भन्दा उत्कृष्ट काम हामीले गर्न सफल भएका छौँ ।’

मोरङका १७ वटा स्थानीय तहहरूमध्ये सबै पालिकामा उपप्रमुख महिला छन् । तL उपप्रमुखहरू मध्ये करिब ५ जनाले प्रमुखको लागि दाबी गर्दै आएका छन् । त्यस्तै दाबी गर्ने मध्येकी बेलवारी नगरपालिकाका उपप्रमुख ढाकाकुमारी पराजुली पनि हुन् । उनी आफू सबैभन्दा धेरै काममा ईमान्दारीताको साथ काम गर्नेमा परेको दाबी गर्छिन् ।

‘नागरिक स्तरबाट मलाई नै मेयरको उम्मेदवार बन्नु पर्छ भन्नुहुन्छ’, उनले भनिन्, ‘पार्टीभित्र पनि मेयरको लागि कुरा भइरहेको छ, टिकट दिँदा मैले जित्ने धेरै आधारहरू छन् ।’ केराबारी गाउँपालिकाकी उपप्रमुख शान्ति लिम्बू पनि अध्यक्षको लाइनमा छिन् । पार्टीले टिकट दिँदा चुनाव जितेर देखाउने दाउ उनीमा छ । तर कतिपय उपप्रमुखहरू भने आफ्ने अहिलेको पद नै सुरक्षित गर्ने तर्फ केन्द्रित छन् ।

धनपालथान गाउँपालिकाकी उपप्रमुख नसिमा बानु पाँच वर्ष सिकाईमै बितेकोले अबको पाँच वर्ष उपप्रमुख दोहोर्याएर अध्यक्षको तयारीमा लग्ने बताउँछिन् । हामीलाई त चुनाव लागिसक्यो उनले भनिने, ‘अहिले भ्याई नभ्याई छ, यो वर्ष उपप्रमुख दोहोर्याएर अर्कोपटक अध्यक्षको लागि तयारी गर्छु ।’

उपप्रमुखहरू कामबाट खारिएका छन् । नजिकिँदै निर्वाचनमा कसरी आफ्नो उम्मेदवारलाई जिताउने भन्नेमा दलहरूछन् । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि दलहरू आन्तरिक गृहकार्यमा जुटेका छन् ।

कतिपय दलहरू आन्तरिक सर्वेक्षणमा जुटेका छन्भने कतिपय दलहरू आफन्त र आफ्ना मान्छेको खोजीमा पनि देखिएका छन् । राम्रालाई भन्दा हाम्रालाई छान्ने प्रवृतिले केही गरौँ भनेर अघि सर्दै गरेका उपप्रमुखहरू ओझेलमा पर्ने पो हुन् की आशंका पनि उत्तिकै छ ।

प्रतिक्रिया

One thought on “स्थानीय तहका अब्बल उपप्रमुख अध्यक्ष र मेयरको दाबी गर्दै

  1. समय सापेक्ष कुरो हो उप-ले नै प्रमुख पदको दाबि गर्ने हो -सदस्यले वडाको -वडाले उप को दाअबि गर्नु अनुपयुक्त हैन तर यहाँ त उस्तै परे छिमेकिको आँगन रिसले नटेक्ने हरु चुदुर बुदुर गरेको देख्दा अचम्म लाग्छ-न अरुले उठ्नु पर्छ भन्छ -न माथिल्लो संयन्त्रले तेरो पालो आयो भन्या छ न २-४ जना अगि पछी लगाउने हिम्मत छ -४ जना बस्या ठाँउमा चिया खानु पर्यो र पैसा तिर्ने बेला भयो भने लाष्टमा उठ्ने हरु जनप्रतिनिधी हुन्छन् होला र खै म त पत्याउँदिन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *