५ सयभन्दा कम मतान्तरले हारजित भएका गण्डकीका ३८ पालिका

पोखरा । २०७४ सालको स्थानीय चुनावमा मुस्ताङको बारागुङ मुक्ति क्षेत्र गाउँपालिकामा जम्मा १७ मतले हारजित भयो । कांग्रेस उम्मेदवार ६५४ मतसहित विजयी हुँदा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवारले ६३८ मत पाए । त्यो निर्वाचनमा गण्डकीका ८५ पालिकामध्ये सबैभन्दा कम मतान्तरले हारजित भएको पालिका हो यो।गण्डकी प्रदेशका ३८ वटा पालिकामा ५ सय भन्दा कम मतान्तरले जनप्रतिनिधिको हारजित भएको छ ।

धेरैजसो कांग्रेसले जितेका दोस्रोमा एमालेले जितेका पालिकामा मतान्तर कम पाइएको छ । कांग्रेसले जितेका २१, एमालेले जितेका १४ र माओवादीले जितेका ३ पालिकामा ५ सय भन्दा कम मतान्तर छ । एमालेले ५ सय भन्दा कम मतान्तरले जितेका सबै पालिकामा कांग्रेस दोस्रो भएको छ भने कांग्रेसले कम मतान्तरले जितेका १४ वटामा एमाले दोस्रो भएको छ । कांग्रेसले जितेको एउटामा राजमो, ५ वटामा माओवादी, एउटामा नयाँ शक्ति पार्टी दोस्रो भएको छ । माओवादीले कम मतान्तरबाट जितेका ३ पालिकामा कांग्रेस दोस्रो छ ।

त्यसो त, मनाङको नार्पाभूमी गाउँपालिकामा चुनाव नै भएन । कांग्रेसका उम्मेदवारको नेतृत्वमा सर्वसम्मत जनप्रतिनिधि चयन भए ।

मुस्ताङकाे घरपझोङ गाउँपालिकामा ३७ मतान्तरले मात्रै एमाले विजयी भएको हो । यहाँ माओवादीको ५५ मत आएको थियो भने दोस्रोमा कांग्रेस थियो । थासाङमा ५९ मतान्तर साथ कांग्रेस विजयी भयो भने लोमान्थाङमा १०८ मतान्तरले स्वतन्त्र उम्मेदवारलाई पराजित गरेको हो । स्वतन्त्र उम्मेदवार अहिले एमाले प्रवेश गरेर गण्डकी प्रदेश सांसदमा निर्वाचित भैसकेका छन् ।

मनाङको चामे गाउँपालिकामा ४१ मतान्तर र मनाङ ङिस्याङमा १६६ मतान्तरका साथ एमाले विजयी हुँदा नासों गाउँपालिकामा ८६ मतान्तरले कांग्रेस विजयी भएको थियो । मनाङ र मुस्ताङ कम मतदाता भएका ठाउँ भएकोले पनि यो मतान्तर फराकिलो मान्नुपर्छ । लमजुङको तीनवटा पालिकामा थोरै मतान्तरले एमाले विजयी भएको छ । दोर्दी गाउँपालिकामा २७३, बेंशीसहर नगरपालिकामा २९७ र राइनासमा १७५ मतान्तरबाट एमाले विजयी भएको थियो ।

गोरखाका अधिकांश पालिकाहरू ५ सय भन्दा कम मतान्तरमा हारजित भएका छन् । अजिरकोटमा ३३१, आरुघाटमा ३४०, गण्डकीमा २७४, चुमनुब्रीमा ६८, पालुङटारमा २०७, शहीद लखनमा ४०५, सिरान्चोकमा १६७ र धार्चेमा ६९ मतान्तर थियो । ११ मध्ये ३ पालिकामा ५ सय भन्दा बढी मतान्तर थियो । आरुघाट र सिरान्चोकमा एमाले दोस्रो भएको थियो भने, धार्चेमा तत्कालीन नयाँ शक्ति दोस्रो थियो । चुमनुब्रीमा एमालेको ६५ मत मात्रै आएको हो । सत्ता गठबन्धन भए गोरखाका सबै स्थानीय तह गठबन्धनले जित्छ । ११ स्थानीय तहमध्ये ९ वटा कांग्रेस र २ वटामा माओवादी विजयी भएको थियो । यहाँ तेस्रो शक्ति तत्कालीन नयाँ शक्ति थियो भने एमाले चौथो भएको हो ।

तनहुँको देवघाटमा सबैभन्दा कम मतान्तर थियो । ६५ मतान्तरबाट एमाले उम्मेदवार विजयी हुँदा माओवादीले ७ सय ९१ मत पाएको छ । यहाँ कांग्रेस उम्मेदवार दोस्रो भएका हुन् । भीमाद नगरपालिकामा ३८४ मतान्तरका साथ एमाले विजयी हुँदा आँबुखैरेनी ३४७ मतान्तरबाट कांग्रेस विजयी भयो । बन्दीपुर माओवादी एक्लै विजयी भएको हो, यहाँ कांग्रेसको मत मिसाउँदा झनै अन्तर फराकिलो हुन्छ । बन्दीपुरमा ४४२ मतान्तरले माओवादी विजयी हुँदा कांग्रेस दोस्रो थियो ।

स्याङ्जाको हरिनास गाउँपालिकामा १७६ मतान्तर मात्रै थियो । अर्जुनचौपारीमा ७८ मतान्तरले कांग्रेस विजयी भएको हो । कास्कीको अन्नपूर्णमा २६४ मतान्तर सहित कांग्रेस उम्मेदवार विजयी भएका थिए । पर्वतको विहादी गाउँपालिकामा २०३ मतान्तर थियो भने महाशिलामा ४४३, फलेवाससमा ३४८ मतान्तर छ । सबै स्थानीय तहमा सत्तारुढ माओवादीको मत मिलाउँदा एमालेभन्दा अघि पुग्छ । सबै पालिकामा कांग्रेस दोस्रो भएको थियो । म्याग्दीको धवलागिरि गाउँपालिकामा ३२२ सहित एमाले विजयी हुँदा बेनी नगरपालिकामा ४५ मतान्तरले मात्रै कांग्रेस विजयी भएको हो । मालिकामा पनि ८४ मतान्तर र अन्नपूर्णमा १९३ मतान्तरका साथ कांग्रेस विजयी भयो ।

बागलुङको नतिजा भने निकै मतान्तरका साथ निस्किएको थियो । कुनैपनि पार्टीले ५ सय भन्दा कम मतान्तरमा जितेका छैनन् । जैमिनी नगरपालिकामा १०६ मतान्तरले कांग्रेस विजयी हुँदा राष्ट्रिय जनमोर्चा दोस्रो भएको थियो । नवलपुरको गैँडाकोट नगरपालिकामा २२५ मतान्तरसाथ एमाले विजयी हुँदा माओवादीको १७२५ मत सोही समयमा आएको थियो । कावासोतीमा पनि ४४७ मतले एमालेले जित्दा कांग्रेस दोस्रो भएको हो । देवचुलीमा ६९ मतान्तरले मात्रै कांग्रेस विजयी भएको हो । बौंदीकालीमा १५२ मतान्तर र हुप्सेकोटमा २३४ मतान्तरबाट कांग्रेसले चुनाव जितेको हो । दुवै पालिकामा माओवादीको नि राम्रो मत छ । अहिलेको सत्तारुढ गठबन्धन मिलाउँदा पुरानै मत आए धेरै पालिकाहरू एमालेले गुमाउने सम्भावना छ ।

प्रदेशभरि अध्यक्षमा सबैभन्दा बढी कांग्रेसले जितेको थियो भने दोस्रोमा एमाले, तेस्रोमा माओवादी र चौथोमा राष्ट्रिय जनमोर्चा थियो । कांग्रेसले ४४, एमालेले ३४, माओवादीले ४, जनमोर्चाले एउटा स्थानीय तहको नेतृत्वमा जीत हात पारेको हो । एउटा पालिकामा स्वतन्त्र उम्मेदवार विजयी भएका थिए ।

स्थानीय तहकाे निर्वाचन आउँदै गर्दा सबैतिर कसले जित्ला भन्ने चासो त छँदै छ । कम मतान्तरले विजेताको छिनोफानो भएका पालिकाको नतिजा के होला भन्ने चासो झन धेरै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *