प्रदेश १ सरकारद्वारा सार्वजनिक बिदा तय

विराटनगर । प्रदेश १ सरकारले प्रदेश सरकारले दिने सार्वजनिक बिदा स्वीकृत गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रस्तुत गरेको विसं २०७९ सालमा प्रदेश सरकारले दिने सार्वजनिक बिदासम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्ले स्वीकृत गरेको हो ।

बैठकले भदौ ४ गते मनाइने राधाकृष्ण रथयात्रा, कात्तिक १४ गते हुने छठ पर्वको समापनका दिन र कात्तिक २५ गते मनाइने फाल्गुनन्द दिवसकालाई सार्वजनिक बिदा दिने निर्णय गरेको हो । प्रदेश सरकारलाई थप ६ वटा बिदा दिन पाउने अधिकार भए बमोजिम उक्त बिदा दिइने निर्णय गरिएको यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरेले जानकारी दिए ।

आर्थिक सहयोग उपलब्ध गराउने सम्बन्धी प्रस्ताव पनि मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ । यस्तो सहयोग असाध्य रोग लागेका बिरामीलाई उपचार खर्च बापत हुने घिमिरेले बताए । अन्तर्राष्ट्रिय विकास सहायता परिचालन तथा समन्वय सम्बन्धी कार्यविधि,२०७८ स्वीकृत गरी राजपत्रमा प्रकाशन गर्ने र वित्तीय समानीकरण अनुदान तथा राजश्व बाँडफाँटको बजेट सीमा निर्धारण गर्ने सम्बन्धको प्रस्ताव पनि बैठकले पारित गरेको छ ।

मन्त्रिपरिषद् बैठकले ‘प्रदेश कृषि व्यवसाय प्रवर्द्धन अनुदान ‘पहिलो संशोधन नियमावली, २०७८’ स्वीकृत गरेको छ । पर्यटन तथा संस्कृति मन्त्रालयले प्रस्तुत गरेको पदमार्गमा आधारित पर्यटन विकास परियोजना प्रतिवेदन स्वीकृत गर्दै प्रदेश प्रज्ञा प्रतिष्ठान विधेयक, २०७८ प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको मन्त्री घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *