नोबेलमा फेरि शुरु भयो इआरसीपी

मुखबाट इण्डोस्कोप छिराएर निकालिँदै पित्त नलीको पथरिया

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा फेरि इआरसीपी सेवा शुरु भएको छ । कोरोनाका कारण करिब दुई वर्षयता स्थगित भएको यो सेवा अहिले फेरि सुचारु गरेर पित्त नलीको पथरिया विना चिरफार निकाल्न थालिएको हो ।

मुखबाट इण्डोस्कोप छिराएर पित्त नलीमा भएको पथरिया विना चिरफार निकाल्ने विधि नै इआरसीपी हो । सामान्यतया पित्त नलीको ढुङ्गा पेट र पित्त नली दुवै चिरेर निकाल्ने गरिन्छ । ल्याप्रोस्कोपिक विधिबाट पनि पित्त नली चिर्नुपर्ने बाध्यता हुन्छ । तर, इआरसीपी विधिमार्फत विना चिरफार मुखबाट इण्डोस्कोप छिराएर ढुङ्गा निकाल्ने गरिन्छ । यो विधि बिरामीका लागि निकै सहज र फाइदाजनक मानिन्छ ।

नेपालका केही अस्पतालहरूमा मात्र प्रयोगमा रहेको यो उपचार पद्धति नोबेलले पूर्वी नेपालमै पहिलो पटक २०७५ सालबाट प्रयोगमा ल्याएको थियो । तर, कोरोनाको महामारी फैलिएपछि यो सेवा अवरुद्ध भयो । कोरोनाको प्रभाव घटेपछि अहिले नोबेलका डा.मोहन खड्का र डा.अमित भट्टराईसहितको टिमले पुनः इआरसीपी सुरु गरेको हो ।

यसअघि पित्त नलीको ढुङ्गा निकाल्न चिरफार वा ल्याप्रोस्कोपिक विधि प्रयोग गरिन्थ्यो । अप्रेसन गर्दा पेट र पित्त नली दुवै चिर्नुपर्छ । ल्याप्रोस्कोपिक विधिमा पनि पेटमा प्वाल पारेर पित्त नली चिरेर मात्र ढुङ्गा निकाल्न सकिन्छ । पित्त नली चिरेर ढुङ्गा निकाल्दा निको हुन बढी समय लाग्ने, चिरेको ठाउँमा सिलाउन गाह्रो हुने, सङ्क्रमणको खतरा हुने लगायत समस्या हुनसक्ने चिकित्सकहरू बताउँछन् ।

तर, इआरसीपी विधिमार्फत मुखबाट इण्डोस्कोप छिराई ढुङ्गालाई तानेर निकालिने हुनाले बिरामीलाई खासै असर पर्दैन । यसबाट घाउ नहुनाले बिरामी दुई दिनमै घर फर्कन सक्ने डा.भट्टराई बताउँछन् । ‘बिरामी छिटै निको हुनाले अस्पतालको बसाई, बाह्य असर र खर्च पनि कम हुन्छ ।’ डा.भट्टराई भन्छन्, ‘पित्त नलीको ढुङ्गा निकाल्न इआरसीपी विधि एकदमै प्रभावकारी हुन्छ ।’

पित्त नलीमा क्यान्सर वा ढुङ्गा बसेर जण्डिस भएका बिरामीको उपचार र आन्द्राको क्यान्सर तथा पैंक्रियाजको क्यान्सर पत्ता लगाउन पनि यो विधि लाभदायी हुने चिकित्सकहरूको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *