कानुनी बाटो खुल्ला, दुई साताभित्रै रेल उद्घाटन हुने

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश, २०७८ जारी गरेकी छन् । नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसबमोजिम राष्ट्रपति भण्डारीले मंगलबार सो अध्यादेश जारी गरेकी हुन् ।

योसँगै रेल सञ्चालनका लागि कानुनी बाटो खुल्ला भएको नेपाल रेलवे कम्पनीका महाप्रबन्धक नीरञ्जन झाले बताए । ‘अब रेल सञ्चानका लागि कानुनी समस्या हुने छैन,’ उनले भने, ‘बढीमा दुई साता भित्र रेलको आाधिकारिक रुपमा उद्घाटन गरेर सञ्चालन गरिनेछ ।’

गत फागुन १ गतेदेखि यात्रुबिना ‘ड्राई रन’ जारी छ । यसअघि दुई पटक जारी भएको अध्यादेशको समय गुज्रिएको थियो । अब भने सबै तयारी पुरा भएकाले सञ्चालनमा समस्या नहुने नेपाल रेलवे कम्पनीले जनाएको छ । महाप्रबन्धक झाका अनुसार भारत र नेपालका प्रधान मन्त्रीले संयूक्त रुपमा उद्घाटन गरी रेल सेवा व्यवसायिक रुपमा सञ्चालन ल्याउने तयारी छ ।

रेल जयनगरदेखि जनकपुर हुँदै कुर्थासम्म ३४ दशमलव ९ किलोमिटर दूरीमा दिनमा एक पटक चल्ने छ । कुर्थादेखि जयनगरसम्म यात्रा गर्ने यात्रुले सामान्य ७० रुपैयाँ र एसी सिटको ३ सय रुपैयाँ तिर्नेगरी भाडादर कायम गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *