कमिसन माग्दै गण्डकीका पेट्रोलियम व्यवसायी आन्दोलित, माग पूरा नभए इन्धन नबेच्ने चेतावनी

पोखरा । गण्डकी प्रदेशका पेट्रोलियम व्यवसायीहरू आन्दोलित भएका छन् । इन्धन आपूर्ति र दुवानी गर्ने व्यवसायीहरूले विभिन्न माग राखी आन्दोलनको घोषणा गरेका हुन् । कास्कीका प्रमुख जिल्ला अधिकारी मार्फत आयल निगमलाई पत्र पठाएर उनीहरूले २० गतेसम्मको आन्दोलन कार्यक्रम सार्वजनिक गरेका छन् ।

मुल्यवृद्धिपछिको पेट्रोलियम पदार्थको कारोबारमा पाउनुपर्ने कमिसन नपाएको उनीहरूको गुनासो छ । तत्काल रोकिएको कमिसन उपलब्ध निगमसँग माग गरिएको छ । यसैगरी प्राविधिक नोक्सानीका लागि नापतौल तथा गुणस्तर विभागका महानिर्देशकको संयोजकत्वमा गठित अध्ययन समितिको प्रतिवेदन लागु गर्न समेत माग गरेका छन् ।

राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिमा आवद्ध नेपाल पेट्रोलियम डिलर्स एशोसियन, नेपाल एलपी ग्यास उद्योग संघ र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले संयुक्त रूपमा आन्दोलनको घोषणा गरेको हो । एलपी ग्यास ढुवानीमा भाडा समायोजन गर्नुपर्ने, पेट्रोलियम ऐन बनाई लागु गर्नुपर्ने, निगमको एलपी ग्यास विनियमावली, विक्रेता विनियमावली तथा ढुवानी नियमावली संसोधन गर्नुपर्ने र त्यसमा व्यवसायीको प्रतिनिधि राखिनु पर्ने माग अघि सारिएको छ ।

यसैगरी, पेट्रोलियमको कारोबार, आयल निगमको सुधार र भविष्यमा गर्नुपर्ने कार्य लगायतमा व्यवसायी सहित विज्ञ टोलीको उपस्थितिमा अध्ययन हुनुपर्ने लगायतका माग राखेर आन्दोलन गरिएको हो । गण्डकी प्रदेशका पेट्रोलियम डिलर्स एशोसियशन अध्यक्ष राजन गोगंजुको संयोजकत्वमा संघर्ष समिति गठन भएको छ । समितिले चैत १५ गतेसम्म स्थानीय स्तरमा तीनवटै क्षेत्रका प्रतिनिधि सम्मिलित स्थानीय आन्दोलन समिति गठन गर्ने, उपभोक्ता र सरोकारवाला एवं संचार माध्यममा अन्तरक्रिया गर्ने, एलपि ग्यास उद्योगहरूले नेपाल आयल निगमबाट पिडिओ एल ग्यास लोड बन्द गर्ने, एलपि ग्यास लोड भएका गाडीहरू भन्सार छुटाउने कार्य बन्द गर्ने कार्यक्रम तय गरेका छन् ।

यसैगरी चैत १६ गतेदेखि पेट्रोलियम पदार्थको ढुवानी ट्यांकरले पिडिओ नलिने, १७ गते देखि एलपी ग्यास उद्योगबाट विक्रेतालाई ग्यास विक्री नगर्ने र चैत १८ देखि पेट्रोलियम पदार्थको लोड अनलोड बन्द गर्ने कार्यतालिका छ भने २० गते देखि देशभर ग्यास विक्री बन्द गर्ने गरी कार्यक्रम बनाईएको गोंगजुले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *