टिलपिल आँखा र भावशून्य मुद्रामा सहकर्मीलाई श्रद्धाञ्जली दिए प्रहरीले (तस्बिरहरू)

विराटनगर । कोशी अस्पतालमा बिरामीले औषधि लिन लाइन लाग्ने ठाउँ सोमवार अरू दिनभन्दा फरक थियो । औषधिका लागि तँछाडमँछाड हुने त्यो ठाउँ सोमवार दिउँसो वेदना बिसाउने चौतारी जस्तो बन्न पुगेको थियो ।

अस्पतालमा सँधै भन्दा धेरै संख्यामा प्रहरी थिए । तर उनीहरू बोल्न सक्ने अवस्थामा थिएनन् । हातमा श्रद्धाञ्जलिका लागि खादा बोकेका उनीहरू आँखामा आँसु टिल्पिलाएको थियो ।

उच्च मनोबलका साथ अहोरात्र ड्युटीमा खटिने प्रहरीको यो दशा देख्दा अस्पतालमा पुगेका अरू व्यक्ति पनि भावशून्य देखिन्थे । कोही चुकचुकाइरहेका थिए भने कोही घटनामा संलग्नलाई कडा कारबाही गर्नुपर्ने बताइरहेका थिए ।

अस्पतालभित्रको शव गृहमा पोष्टमार्टम सकेर शव बाहिर निकाल्दा अस्पताल क्षेत्र नै स्तब्ध बनेको थियो । अस्पताल परिसरमै प्रहरीले श्रद्धाञ्जलि दिने कार्यक्रम थियो । श्रद्धाञ्जलि दिन आइपुगेका प्रदेश १ का प्रहरी प्रमुख डिआईजी अरुणकुमार बिसीका आँखा रसाएका थिए । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले पनि आँसु थाम्न सकेनन् । माहोल नै भावुक बन्यो ।

अस्पतालमा आइतबार मध्यरातिदेखि राखिएको थियो उर्मिला श्रेष्ठको शव । मोरङको लेटाङमा शान्ति सुरक्षा कायम गर्न खटिएकी उनले स्थानीयको चक्कु प्रहारबाट ज्यान गुमाएकी थिइन् । श्रेष्ठको शव अन्त्येष्टीका लागि उदयपुर लगिने कार्यक्रम छ ।

आइतवार साँझ मोरङको लेटाङ नगरपालिका ५ को शिक्षा विकास माविका शिक्षक मनोज पौडेलले ७ कक्षामा पढ्ने बालिकामाथि यौन दुर्व्यवहार गरेको भन्दै विद्यालयमा तनाब भएपछि उनलाई पक्राउ गर्न र शान्तिसुरक्षा कायम गर्न पुगेकी खोटाङको बाह्रपोखरी गाउँपालिका ४ की उर्मिला श्रेष्ठलाई स्थानीयले नै छुरा प्रहार गरी हत्या गरेका थिए । उनको शव पोष्टमर्टमको लागि कोशी अस्पतालमा पुर्याइएको थियो ।

उर्मिला श्रेष्ठ २०७६ साल साउन १ गते नेपाल प्रहरीमा भर्ती भएकी थिइन् । श्रेष्ठले ‍‍‍‍‍एकै पल्टनमा कार्यरत प्रहरी जवान नवीन श्रेष्ठसँग गत बैशाखमा विवाह गरेकी थिइन । उर्मिलाका दाजु पनि नेपाल प्रहरीमै कार्यरत छन् । शान्ति स्थापनाका लागि खटिएको नेपाल प्रहरीमाथि आक्रमण र छुरा प्रहार भएको र एकजनाको ज्यानै गएको यो घटनाको सर्वत्र विरोध भइरहेको छ । घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा सजाय दिनुपर्ने माग सबैले गरेका छन् ।

तस्वीरः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *