६ दिनदेखि थुप्रिएको फोहोर उठाउन थालियो, स्थानीयका माग पूरा गर्ने सहमति

पोखरा । ल्यान्डफिल साइट प्रभावित क्षेत्रका नागरिकहरूको अबरोधले रोकिएको पोखराको फोहोर ६ दिनपछि उठाउन थालिएको छ । प्रभावित स्थानीय, जिल्ला प्रशासन कार्यालय कास्की र पोखरा महानगरबीच आइतबार पुरानै सम्झौता कार्यान्वयन गर्ने सहमति भएको हो ।

स्थानीय र पोखरा महानगरबीच ०७८ माघ १२ गते ७ बुँदे सम्झौता भएको थियो । पटकपटक सम्झौता गर्ने तर कार्यान्वयन नगर्ने समस्याबाट आजित भएपछि स्थानीयले बाटो छेकेर फोहोर बोकेर गएको गाडी फर्काइदिएका थिए । सम्झौता अक्षरंश कार्यान्वयन गर्ने सहमतिपछि पोखरामा ६ दिनदेखि थुप्रिएको फोहोर आईतबारदेखि उठाउन थालिएको हो ।

सम्झौता अनुसार ल्याण्डफिल साइट क्षेत्रमा ल्यावसहितको सहरी स्वास्थ्य केन्द्र स्थापना गर्ने, वडा नम्बर १४ र ३३ जोड्ने सडक पुल निर्माणको डीपीआर यसैवर्ष गर्ने र अर्को वर्ष निर्माणका लागि बजेट विनियोजन गर्ने, ल्याण्डफिल साइट स्यानिटाईज सहित व्यवस्थित गर्ने लगायत बुँदा छन् ।

‘महानगरले गरेका सबै सम्झौता कार्यान्वयन गर्ने सहमति भयो । योसँगै स्थानीयले फोहोर बोकेको गाडी अवरुद्ध गर्दैनौं,’ जनसरोकार समितिका अध्यक्ष बोधराज कार्कीले भने, ‘सहमति समयमा कार्यान्वयन नभए फेरि उही अवरोध दोहोरिन्छ ।’

नगर क्षेत्रमा थुप्रिएका फोहोर पुरै हटाउन ५ दिन लाग्ने महानगरले जनाएको छ । महानगरकी सरसफाई शाखा प्रमुख कल्पना बरालले स्थानीयको मागमा आफुँहरू गम्भीर रहेको बताईन् । ‘स्थानीयका माग जायज छन् । ति माग पूरा गर्न महानगर प्रतिबद्ध छ,’ उनले भनिन् ।
पोखरामा दैनिक १ सय १० टन फोहोर उत्सर्जन हुन्छ । सबैजसो फोहोर पोखरा १४ को ल्याण्डफिल साइटमा लगेर फाल्ने गरिएको छ । पोखराको फोहोर व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई दिईएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *