माओवादी कर्णाली प्रदेशका प्रमुख सचेतक विष्ट निलम्बित

सुर्खेत । नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक ठम्मरबहादुर विष्टलाई दलको सदस्यबाट निलम्बन गरेको छ । दलका नेता महेन्द्रबहादुर शाहीले विज्ञप्ति जारी गर्दै विष्टलाई दलको सदस्यबाट निलम्बन गरिएको जानकारी दिएका हुन् ।

विष्टले निरन्तर दलको विधान विपरीतका अभिव्यक्ति र गतिविधि गर्दै आइरहेकाले उनलाई निलम्बन गरिएको दलका नेता शाहीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । ‘नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश सभा दलका सदस्य मा. ठम्मर बहादुर विष्टले निरन्तर दलको विधान विपरीतका अभिव्यक्ति र गतिविधि गर्दै आइरहेको एवं प्रदेश सभा सदस्यबाट राजीनामा समेत पेश गरेको सन्दर्भमा यही चैत्र ३ गते प्रदेश सभा दलको बैठक सम्पन्न भयो,’ विज्ञप्तिमा अगाडि भनिएको छ, ‘उक्त बैठकले राजीनामा फिर्ता लिएर नियमित कार्यमा क्रियाशील हुन उहाँलाई दिएको निर्देशनको अवज्ञा गरेकाले दलको सदस्यबाट निलम्बन गरिएको सूचित गरिन्छ ।’

एमालेमा प्रवेश गर्दै
निलम्बित विष्ट आज नेकपा एमाले प्रवेश गर्ने भएका छन् । वीरेन्द्रनगरमा रहेको सिटी हलमा आयोजना गरिएको बृहत् कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेलले उनलाई स्वागत गर्ने भएका हुन् ।

विष्टसहित थप केही जिल्ला कमिटीका सदस्यहरू समेत एमालेमा प्रवेश गराउने तयारी भइरहेको नेकपा एमाले कर्णालीले जनाएको छ । प्रमुख सचेतक रहेकै समयमा उनले फागुन २७ गते पार्टीबाटै राजीनामा दिएको घोषणा गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *