बेनीमा ३२ करोड खर्चेर ‘रावण पार्क’ बनाइँदै

पोखरा । रावणको जन्म हालको बेनीमा पर्ने भूमिमा भएको पौराणिक ग्रन्थहरुमा उल्लेख भएको आधारमा म्याग्दीकाे बेनीमा ‘रावण पार्क’ निर्माण गर्न लागिएको छ । ३२ करोड रुपैयाँ लगानीमा उक्त पार्क निर्माण गर्न लागिएको हो ।

पुराणमा उल्लेख भएअनुसार रावण पुलस्ते ऋषिका नाती हुन् भने विभष्भा ऋषिका छोरा हुन् । पुलस्ते ऋषि सपरिवार ध्यान गर्न बेनी आईपुगेको किवंदन्ती छ । सोही क्रममा रावणको जन्म भएको मानिन्छ । १० वटा टाउको भएका रावणको जन्म भएकोले उक्त क्षेत्रमा अद्भुत शक्ति भएको दावी स्थानीयको छ ।

‘यज्ञस्थल, सुत्केरी स्यहार केन्द्र बनाइएको छ । नाभी गाडेको ढुंगा छ,’ स्थानीय कृष्ण बानियाँले भने, ‘रावण हुर्केपछि मात्रै लंकामा राजा बनेको पुराणमा पढ्न पाइन्छ । त्यसैले यो ठाउँको महत्व बढी छ ।’

बेनी नगरपालिका ५ पुलाको पछैमा पार्क निर्माण गर्न लागिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यो दिने बजेटसहित ३ करोड २५ लाख बजेटमा पार्क निर्माण हुन लागेको हो ।

मन्त्रालयले २ करोड ११ लाख र नगरपालिकाले १ करोड १४ लाख रुपैयाँ लगानी गर्ने भएका छन् । ‘बीस फिटको रावणको १० टाउका भएको पित्तलको मुर्ति बन्ने छ । हवन कुण्ड, नाभी गाडेको ठाउँ समेत ब्यवस्थित हुनेछ,’ इन्जिनियर विमल कार्कीले भने, ‘यो वर्ष नसकिएको काम क्रमागत रुपमा हुँदै जान्छ ।’ पार्क निर्माणको ठेक्का एस कस्यप जेभी काठमाडौँले पाएको छ ।

२०७९ फागुनमा काम सक्ने गरी कम्पनीले १ करोड ७६ लाख ७७ हजारमा ठेक्का लिएको हो । त्यस ठाउँमा जाने सडक कालोपत्रेका लागि पनि बजेटको ब्यवस्था गरिएको मेयर हरिकुमार श्रेष्ठले जानकारी दिए । डीपीआर बनाएरै निर्माणको प्रक्रिया सुरु भएको उनको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *