भोटेकोशीमा छालसँग जिस्किँदा (तस्वीरहरू)

सुकुटे । नेपालका नदीनालाहरू साहसिक जलयात्राको लागि विश्वभर प्रसिद्ध छन् । विशेषगरी नेपालका हिमाली नदीहरू जलयात्रा अर्थात् र्‍याफ्टिङको लागि उपयुक्त मानिन्छन् ।

पश्चिम सेती, कर्णाली, कालीगण्डकी, मर्स्याङ्दी, त्रिशूली, उपल्लो र तल्लो भोटेकोशी , तमोर लगायतका नदीहरू र्‍याफ्टिङका लागि  विशेष छन् ।

काठमाडौँबाट नजिकको दूरीमा रहेका त्रिशूली र भोटेकोशी नदी र्‍याफ्टिङका लागि  उपत्यकावासीको प्रमुख गन्तव्य बन्दै आएको छ । गर्मी बढेसँगै यी नदीहरूमा जलयात्रा गर्ने आन्तरिक पर्यटकको सङ्ख्या दिनानुदिन बढ्दै छ ।

सिन्धुपाल्चोकको चेहेरेदेखि सुकुटे क्षेत्रमा जलयात्रा सञ्चालन गर्ने रिसाेर्टहरू उल्लेखनीय मात्रामा खुलेका छन् ।टुनिबोटेस्थित राफ्टिंग स्टार रिसोर्टका सञ्चालक दीपक राईका अनुसार फागुनको पहिलो हप्ता लागेदेखि नै नेपाली आन्तरिक पर्यटकको भोटेकोशीमा चाप बढिसकेको छ ।

राफ्टिंग स्टार रिसोर्टले मात्र हप्तामा करिब ३०० जना नेपालीलाई र्‍याफ्टिङ गराउँदै आएको सञ्चालक राई बताउँछन् । झन् गर्मी बढेसँगै सप्ताहान्तमा करिब ५००० को हाराहारीमा आन्तरिक पर्यटकले सुकुटे क्षेत्र भरिभराउ हुने गरेको छ ।

समग्रमा सस्तो र नजिकैको गन्तव्य भएको हुनाले भोटेकोशीमा र्‍याफ्टिङ गर्न आन्तरिक पर्यटकको मोह बढेको हो । चार छाक खाना, यातायात, बसाइँ र र्‍याफ्टिङसहित त्यहाँस्थित रिसोर्टहरूले ३५०० देखि ४००० रुपैयाँको  प्याकेज निर्माण गरेका छन् ।

तर, आजकाल नदीकिनारबाट बालुवा /गिट्टी जस्ता निर्माण सामाग्री निकाल्ने काम तीव्र रहेकोले जलयात्रामा केही कठिनाइ भएको राफ्टिंग स्टारका सञ्चालक दीपक राईले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *