ल्याण्डफिलमा तनाव, ४ दिनदेखि उठेन पोखराको फोहोर

पोखरा । महानगरले गरेको सहमति कार्यान्वयन नगरेको भन्दै पोखरा १४ स्थित ल्याण्डफिल साइट नजिकका स्थानीयले फोहोर फाल्न रोकेका छन् । महानगरसँग धेरै पटक सम्झौता गरेर आर्थिक सहयोग मागेका उनीहरूले सम्झौता अनुसार रकम नपाएपछि फोहोर फाल्न जाने बाटो नै बन्द गरिदिएका हुन् ।

फोहोर बोकेर गएका ट्रकहरू गैरी गाउँको चोकबाटै फर्किन्छन् । त्यहाँ स्थानीयले विरोध कार्यक्रमको बोर्ड टाँगेर पोखरा महानगरसँग भएको २८ बुँदे सहमति कार्यान्वयनको माग गरेका छन् । सम्झौता कार्यान्वयनका लागि ल्याण्डफिल साइट प्रभावित जनसरोकार समिति गठन भएको छ ।

सरोकार समितिका अध्यक्ष बोधराज कार्कीले कार्यालयको उदासीनताले गाडी रोक्न बाध्य भएको बताए । ‘राज्यले गर्नैपर्ने कामको माग गरेका छौँ । एउटा स्वास्थ्य चौकी बनाइदिनु भनेको हो । सधैँ हिँड्ने बाटो मर्मत गरिदिनु भनेका छौँ,’ उनले भने, ‘माग गर्ने भनेर पूरा नहुने कुराको खोजी गरेको होइन ।’ उनले केही करोडमै आफ्ना मागहरू सम्बोधन हुने भन्दै त्यसमा सचेत रहन महानगरलाई आग्रह गरेका छन् । ‘माग पूरा नभए हामी फोहोर फाल्न दिन्नौँ । मागका बारेमा छलफल हुनुपर्ने हो । उल्टै जे सुकै गर भनेर चेतावनी दिएका छन्,’ उनी भन्छन्, ‘हामीले सक्ने भनेकै बाटो बन्द गरिदिने हो । हेरौँ कहाँ लगेर फाल्ने रहेछन् ।’

पोखराका अधिकांश वडाका फोहोर यही ल्याण्डफिलमा लगेर फालिन्छ । दैनिक १ सय १० टन फोहोर उत्पादन हुने फोहोरमध्ये सबैजसो ल्याण्डफिल साइटमा लैजाने गरिएको ल्याण्डफिल साइट इन्चार्ज नेत्र तिमिल्सीनाले बताए । २०५७ सालमा ल्यान्डफल साइट बनाउने बेलामै त्यस क्षेत्रमा थप काम गर्ने सम्झौता थियो । ‘यो नयाँ माग होइन । पुरानै सम्झौता कार्यान्वयन नगरिएका कुरा हुन्,’ कार्कीले थपे, ‘२८ बुँदे सम्झौता पुरा नभएपछि पछिल्लो पटक ७ बुँदे सम्झौता गरिएको थियो । कुनै सम्झौतामा पोखराले काम गरेन ।’ उनीहरूले फोहोर फालिसकेपछि गाडी सेनिटाइज गर्ने, स्वास्थ्यकर्मीसहितको ल्याब स्थापना गर्ने, सडकखण्डको काम बहुवर्षीय योजनामा समेट्ने, वडा २१ र ३३ लाई जोड्ने गरी मोटरेबल पुल बनाउने, दाहसंस्कार, खेल मैदान निर्माण लगायतका योजना प्रमुख रूपमा मागिएको छ ।

प्रभावित क्षेत्र र तत्कालीन पोखरा उपमहानगरबीच २०५७ भदौ १३ मा २८ बुँदे सम्झौता भएको थियो । त्यसपछि २०६५ चैत ११ मा पुनः अर्को सम्झौता भयो । महानगर बनेपछि २०७७ मङ्सिर २ मा सात बुँदे सम्झौता गरियो । २०७८ माघ ९ गते बसेको ल्यान्डफल साइड प्रभावित जनसरोकार समितिको बैठकले २४ घन्टे अल्टिमेटमको पत्र पोखरा महानगरलाई बुझायो । त्यसको पनि बेवास्ता गरेपछि बाटो बन्द गर्न बाध्य भएको समितिले जनाएको छ । सहमति अनुसार महानगरले गरेको निर्णय कार्यान्वयन नगर्दा अहिलेको समस्या आएको वडा नम्बर १४ का अध्यक्ष प्रेमबहादुर कार्कीले बताए । ‘आश्वासन मात्रै दिने र पैसा नदिने गर्दा अहिलेको समस्या आएको हो,’ उनले भने, ‘सधैँ निर्णय गर्ने तर निर्णय कार्यान्वयन भएन । स्थानीयले निर्णयमा मात्रै मानेनन् । अब पैसा दिएपछि खुल्छ ।’

महानगरका प्रवक्ता धनबहादुर नेपालीले सम्झौताका विषयमा छलफल हुन सक्ने भन्दै गाडी बन्द गर्नु गलत भएको बताए । ‘छलफल गर्न सकिन्छ । कमजोरी महानगरको हुन सक्छ । तर वार्ता र संवादबाट सबै समस्या टुङ्गो लाग्छ,’ उनले भने, ‘गाडी रोक्दा महानगरको स्वास्थ्य अवस्था रन्थमोल हुन्छ । फोहोरले पोखराको इमेज बिग्रिन्छ ।’ स्थानीयको जायज माग पूरा गर्न महानगर तयार रहेको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *