नोबेलका डाक्टरले गरे माया घरका असहायको निःशुल्क उपचार

सुनसरी । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका डाक्टरहरूले सुनसरीको इटहरी उपमहानगरपालिका-२ स्थित माया घरमा पुगेर त्यहाँ रहेका असहायहरूको निःशुल्क उपचार गरेका छन् । बिहीबार एक दिने स्वास्थ्य परीक्षण कार्यक्रम आयोजना गरी माया घरमा आश्रित व्यक्तिहरूको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको हो ।

सडक मानव, मानसिक रोगी लगायत असहायहरूलाई माया घरमा आश्रय दिएर राख्ने गरिएको छ । अहिले माया घरमा १०३ जना व्यक्तिहरू आश्रय लिएर बस्दै आएका छन् । उनीहरूको स्वास्थ्य परीक्षण गरिएको माया घरकी सचिव सुभद्रा प्याकुरेलले जानकारी दिइन् । स्वास्थ्य परीक्षणका लागि नोबेलबाट चार जना विशेषज्ञ डाक्टरहरूको टोली गएको थियो । परीक्षणका क्रममा धेरैमा छालाको समस्या देखिएको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले बताए ।

माया घरमा आश्रितहरुलाई नोबेलले एक वर्षसम्म निःशुल्क स्वास्थ्य परीक्षण गर्ने गरी सम्झौतासमेत भएको छ । असहायहरूको उपचारका लागि नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्मा सकारात्मक बनेपछि एक वर्षसम्मका लागि अस्पतालले माया घरका आश्रितहरुलाई निःशुल्क स्वास्थ्य परीक्षण गर्ने गरी सम्झौता गरेको हो । सोही बमोजिम उनीहरूलाई निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *