दुर्गा प्रसाईंको दाबीः

‘आसन्न निर्वाचनपछि ७० प्रतिशत जनमतका साथ एमालेले सरकार बनाउँछ’ (भिडिओवार्ता)

'नेताका घर धाएर बीएण्डसीलाई सम्बन्धन दिन्नँ'

काठमाडौँ । दुर्गा प्रसाईं व्यावसायिक पृष्ठभूमिका व्यक्ति हुन् । उनी पछिल्लो पटक मंसिर २६ गते नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सदस्यमा मनोनीत भएका छन् । त्यसभन्दा अघि आफू माओवादी केन्द्रमा रहेको उनले दाबी गर्दै आएका छन् । यद्यपि उनी एमाले केन्द्रीय सदस्य बन्दै गर्दा माओवादी नेताहरूले भने प्रसाईं कहिल्यै पनि माओवादी केन्द्रमा नरहेको बताउँथे । त्यतिबेला माओवादी नेता सूर्य सुवेदीले भनेका थिए— ‘दुर्गा प्रसाई कुनै वैचारिक आस्थाका आधारमा माओवादी पार्टीमा जोडिएका थिएनन् र उनीहरूको बहिर्गमनमा शोकधुन र सत्तोसराप दुवैको आवश्यकता छैन । बरु गम्भीर आत्मसमीक्षा गर्न जरुरी छ र पूरै जोड दिएर भन्न र गर्नुपर्छ कि— आगामी पार्टी पुनर्निर्माण र पुनर्गठन अभियानमा विजातीय वर्ग र व्यक्तिलाई होइन, आफ्नै वर्गमा भर पर्ने र उनीहरूलाई नै पार्टीमा स–सम्मान फिर्ती गरिनेछ ।’

दुई वामपन्थी नेताहरू केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चरेसको थालमा मार्सी चामलको भात खुवाएर चर्चामा आएका उनले एमाले प्रवेश गरेयता माओवादी केन्द्र र प्रचण्डको डटेर विरोध तथा आलोचना गर्दै आएका छन् । मंसिर १० गतेदेखि १८ गतेसम्म चितवनका सौराहामा सम्पन्न एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा महाधिवेशन प्रतिनिधिका रूपमा देखिएका उनी धेरैभन्दा धेरै माओवादी कार्यकर्ता एमाले प्रवेश गराउने शर्तमा एमाले केन्द्रीय सदस्यमा मनोनीत भएका समाचारहरू बाहिरिएका थिए ।

त्यसो त प्रसाईं अहिलेसम्म आफूले झन्डै ५ हजारभन्दा बढी नेता/कार्यकर्तालाई एमाले प्रवेश गराएको दाबी गर्छन् । ‘मैले विर्तामोडबाट ४ हजार प्रवेश गराएँ,’ मकालुखबरसँगको कुराकानीका क्रममा उनले दाबी गरे, ‘धनकुटाबाट जिल्ला नै स्वीप गरेको हुँ । यस्तै संखुवासभाबाट ३७ सय प्रवेश गराएँ, जसमा कांग्रेसकै थिए ७ सय त ।’ अझै आफ्नै पहलमा एमाले प्रवेश गर्नेहरूको संख्या टन्नै रहेको उनको दाबी छ ।

अन्य जिल्लाहरूमा पनि एमालेप्रतिको आकर्षण लोभलाग्दो रहेको प्रसाईं बताउँछन् । यसका लागि आफ्नै अध्यक्ष (ओली) ले दौडधुप गरिरहेको सुनाउँदै उनले भने, ‘अब हेर्नुस्, आउँदो चुनावमा एमालेले ७० प्रतिशत जनमत ल्याउँछ र एकल सरकार बनाउँछ ।’ अहिल्यै कसरी भन्न सक्नुहुन्छ ? भन्ने प्रश्नमा उनको जवाफ छ— ‘अहिल्यै देखिँदै छ । कांग्रेस–माओवादीा छाड्नेहरूको लर्को लाग्ने गरेको छ । एमालेले सरकार बनाएपछि भने हिजो एमालेकै पालाबाट अडिएका विकासका काम पुनः शुरू हुन्छ । अहिलेपनि एमाले सबैभन्दा ठूलाे दल हाे । अब पनि ठूलै दल बन्ने कुरामा किन शङ्का ?’

प्रसाईं जुनसुकै नेतासँग जहाँबाबट भएपनि चुनाव लडेर जित्ने चुनौती दिन्छन् । ओलीबाहेकका नेताहरूसँग आफू उनीहरूकै क्षेत्रमा आफ्नै एजेन्डा लगेर चुनाव लडेर जित्ने अनौठो चुनौती छ उनको, भन्छन्— ‘प्रचण्ड, शेरबहादुर देउवा, राजेन्द्र लिङ्देन, कृष्ण सिटौला, गगनकुमार थापा, विश्वप्रकाश शर्मा ह्याबी वेट नेताहरू हुन् । तर, म उनीहरूकै क्षेत्रमा उठेर जित्न सक्छु ।’ यो धाक कहाँबाट आउँछ ? भन्ने प्रश्नमा उनले भनेका छन्— ‘मसँग सत्य छ । म सत्य छु । जित्छु । राजनीतिक गर्ने भन्दै इमान, इज्जत र इथिक्स त फाल्नु भएन नि । यी नेतहरूले यी सबै कुरा गुमाइसकेका छन् ।

‘नेताहरूको घर धाएर बीएण्डसीलाई सम्बन्धन दिन्नँ’

प्रसाईं नेताहरूको घर धाएर आफ्नो मेडिकल कलेज बीएण्डसीलाई सम्बन्धन नदिने बताउँछन् । ‘बीएण्डीसबारेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । यसबारे सर्वोच्च अदालतले कस्तो निर्णय गर्छ, त्यो मान्छु । तर, नेताहरूको घर धाएरचाहिँ सम्बन्धन दिन्नँ,’ प्रसाईंले भनेका छन् ।

बीएण्डसीले सम्बन्धन नदिँदा आफूलाई भन्दा पनि नेपाली समाजलाई नै घाटा हुने उनको भनाइ छ । ‘मैले १० प्रतिशत गरिबका छोराछोरीहरूलाई पढाउँथे,’ उनले भने, ‘अब उनीहरूले पढ्न पाएनन्, नपाउने भए । कसलाई घाटा भयो भन्दाखेरि ति नै गरिबका छोराछोरीहरूलाई, जसले पढ्न पाएनन् । उनीहरूकाे भविष्य बिग्रन्छ र घाटा समग्र नेपाललाई हुन्छ/ समग्र नेपालीलाई र समाजलाई हुन्छ ।’

आफू प्रधान मन्त्री नै भएपनि आफ्नो बीएण्डसीका लागि पहल नगर्ने प्रण प्रसाईंको छ, भन्छन्— ‘मैले भनिसकेँ, आफ्नो लागि पहल गर्दिनँ । मेरो बीएण्डसी चलिरहन्छ । अहिले पनि चलिरहेकै छ । मेरो केही जाने छैन । मेराे त मेडिकल चलिरहन्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *