यातायात सुधारकाे एजेण्डा लिएर सातै प्रदेशका मन्त्री पोखरामा

पोखरा । नेपालको यातायात क्षेत्रको सुधार गर्न ७ वटै प्रदेशका मन्त्रीहरू पोखरामा भेला भएका छन् । अहिलेसम्मका पुर्वाधारका योजना, समस्या र समाधानको खोजी गर्न गण्डकी सरकारको निमन्त्रणामा उनीहरू पोखरामा भेला भएका हुन् ।

बैठकमा मधेश प्रदेश बाहेक सबै प्रदेशका यातायात तथा पुर्वाधार हेर्ने मन्त्रीहरू सहभागी छन् ।

गण्डकीले यसअघि मुख्यमन्त्रीहरूको पहिलो भेला राखेको थियो । त्यसपछि आन्तरिक मामिला मन्त्रीहरूको भेला र सभामुखहरूको भेला बसेको थियो । अहिले भौतिक पुर्वाधार विकास मन्त्रीहरूको भेला पहिलो पटक भएको हो ।

‘प्रदेशहरूले ४ वर्षको अनुभव पाइसकेका छन् । भौतिक पुर्वाधारको काम प्रदेश सरकारले मात्रै गर्न असम्भव छ,’ गण्डकीका भौतिक सचिव रामचन्द्र श्रेष्ठ भन्छन्, ‘विकास निर्माणका क्रममा देखा परेका समस्याको समाधान खोज्नुपर्ने बेला भएको छ । त्यसैले यो भेला राखिएको हो ।’

भेलामा मन्त्रीहरूले यातायात सेवा महत्वपूर्ण भएकोले यसकै ब्यवस्थापनमा प्रदेश सरकारमाथीको विश्वास कायम हुने बताए । ‘हेर्दा साना देखिने तर धेरै महत्वपूर्ण समस्या छन् । जग्गा प्राप्ति र बिरुवा हटाउने काम प्रमुख समस्या हो,’ उनीहरूले भने, ‘कर्मचारीहरू दरबन्दी भन्दा निकै कम छ । प्रदेशहरूमा समस्या र चुनौती फरक हुनसक्छन् तर समस्या छन् र समाधान खोजिनुपर्छ ।’

आपसी अनुभव साटासाट गरेर समाधानको खोजी गर्ने र एकीकृत समस्याका लागि साझा धारणा बनाउन यो भेला प्रमुख हुने गण्डकीका भौतिक पुर्वाधार विकास मन्त्री कुमार खड्काले बताए । पारस्पारिक सहकारिता, सह अस्थित्व र समन्वयको आधारमा समस्याको समाधान खोजी गर्ने उनले बताए । भेला बुधबारसम्म चल्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *