सांसद नभएको नेकपा एसलाई पनि गण्डकी प्रदेश सरकारमा समावेश गर्ने तयारी

पोखरा । गण्डकी प्रदेशसभामा नेकपा एकीकृत समाजवादीका एकजना पनि सांसद छैनन् । तर प्रदेश सरकारमा नेकपा एसलाई पनि सहभागि बनाउने तयारी शुरू भएको छ ।

सुदूरपश्चिम प्रदेशमा कांग्रेसलाई पनि सहभागि गराउने तयारी हुँदै गर्दा गण्डकीमा एसलाई सहभागी गराउने तयारी थालिएको हो । केही दिनअघि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम सरकारमा कांग्रेसलाई पनि सामेल गराउने गरी छलफल अघि बढेको बताएका थिए ।

यदी उता कांग्रेस सरकारमा सहभागी भयो भने गण्डकीमा एकीकृत समाजवादी पनि सहभागी हुने गरी छलफल भइरहेको गण्डकीका नेकपा एसका एक नेताको भनाइ छ ।

‘उता हाम्रै पार्टीका मन्त्रीलाई फिर्ता बोलाएर कांग्रेसलाई सामेल गर्ने कुरा छ । त्यसो भयो भने गण्डकीमा समाजवादी पनि सरकारमा सामेल हुन पाउनुपर्छ,’ उनले भने, ‘‍‍ यसबारे पार्टीभित्र छलफल भैरहेको छ । तर निर्णय भइसकेको भने छैन ।’

संविधान अनुसार सांसद नभएको व्यक्ति पनि एक पटकका लागि ६ महिनासम्म सरकारमा रहन मिल्ने भएकाले त्यसै अनुसार गैर सांसद नेतालाई सरकारमा सहभागी गराउनेबारे छलफल भइरहेको उनले बताए । श्रो तका अनुसार समाजवादीबाट मन्त्रीको नाममा समेत छलफल शुरू भएको छ ।

नेताहरू श्रीनाथ बराल र प्रतापलाल श्रेष्ठ मध्ये १ जनालाई मन्त्रीमा पठाउने सम्भावना रहेको स्राेत बताउँछ । ‘व्यक्तिका बारेमा छलफल चलिरहेको छ । केन्द्रित तहमा भएको कुरा प्रदेशसम्म पनि आइसक्यो,’ ती नेता भन्छन्, ‘केन्द्रमा निर्णय भएपछि सकियो । त्यही निर्णय कार्यान्वयन हुन्छ ।’

स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा चुनावलाई केन्द्रित गरेर एकीकृत समाजवादीलाई पनि सरकारमा सामेल गराउने तयारी गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *