त्रिवि केन्द्रीय पुस्तकालयको शिलान्यास

कीर्तपुर । त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयको अत्याधुनिक भवनको शिलान्यास भएकाे छ ।

मंगलवार शिक्षा विज्ञान तथा प्रविधिमन्त्री एवम् सहकुलपति देवेन्द्र पौडेल र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले संयुक्त रूपमा भवनकाे शिलान्यास गरेका हुन् ।

२०७२ सालको भूकम्पले क्षतिग्रस्त भएको त्रिवि केन्द्रीय पुस्तकालयको नवनिर्मित भारत सकारको आर्थिक अनुदानमा निर्माण हुन लागेको हो । ३६ करोड ११ लाख ६६ हजार २ सय ९१ रूपैयाँ ३७ पैसा लागत मा निर्माण हुन लागेको उक्त भवनमा भवनमा पाठक तथा अनुसन्धानकर्ताका लागि २४ सै घण्टा बसेर अध्ययनगर्न सक्ने व्यवस्थाका साथैई–लाइब्रेरी सुविधाका लागि छुट्टै कम्प्युटर ल्याव, सेमिनार वर्कशपका लागि हल, प्रर्दशनी कक्ष आदिको व्यवस्था रहनेछ ।

भवन निर्माण कार्यको प्रारम्भ पुष ६ देखि भएकाे हाे । भवन १५ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरिएको छ । भवन निर्माणको जिम्मेवारी केसी हनुमान जेभि, भैसेपाटी, ललितपुरलाई दिइएको छ ।

शिलान्यास कार्यक्रममा संक्षिप्त मन्तव्य व्यक्त गर्दै शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले त्रिविले दक्ष र गुण्स्तरीय जनशक्ति निर्माण गरी मुलुकको समृद्धि र विकासको नेतृत्व गर्नुपर्ने बताए ।

देशको शैक्षिक विकासका लागि शैक्षिक पूर्वाधार निर्माणमा भारत सरकारले महत्वपूर्ण सहयोग उपलब्ध गराउँदै आइरहेको उल्लेख गरे । त्रिविको गुणस्तर सुधार गरी उत्कृष्टताको केन्द्रको रूपमा विकसित गर्न शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय सबैप्रकारका सहयोग उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गरे ।

मन्त्री पाैडेलले उच्चशिक्षालाई सर्वसुलभ र गुणस्तरीय बनाई अर्बौ रकम विदेशिनबाट जोगाउनुपर्ने धारणा समेत व्यक्त गरे । कार्यक्रममा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले सभ्यतादेखि मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको नेपाल भारत सम्बन्धलाई थप विश्वसनीय, दिगो र मजबुत बनाउन यस सहयोग महत्वपूर्ण रहेको बताए ।

पुस्ताकालय सामाजिक जीवनलाई व्यवस्थित गर्ने,विचार र दर्शन आदान प्रदान गर्ने, नवीनतम खोज र अनुसन्धान गर्ने महत्वपूर्ण स्थान रहेको उल्लेख गर्दै विश्वविद्यालय परिचरमा रहेको गान्धी भवन,जाकिर हुसेन उद्यान र त्रिवि केन्द्रीय पुस्तकालय निर्माणमा भारतले सहयोग गर्न पाएकोमा भारतीय दूतावास हर्षित भएको बताएका छन् ।

त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा।डा शिवलाल भुसालले नेपाल र भारतबीच प्राचीनकाल देखिँदै आत्मिय सम्बन्ध रहँदै आइरहेको र त्रिभुवन विश्वविद्यालयको विकासका लागि भारत सरकारले लामो समयदेखि सहयोग उपलब्ध गराउँदै आइरहेको बताए ।

त्रिविका आंगिक क्याम्पसमा हालसम्म पनि भारतीय प्राध्यापकहरू कार्यरत रहेको उल्लेख गर्दै त्रिवि केन्द्रीय पुस्तकालयको स्थापनाकाल देखि नै सहयोग गर्दैआइरहेको भारत सरकारले हाल पुस्तकालयको अत्याधुनिक भवन निर्माण गर्न आर्थिक सहयोग गरेर सम्बन्ध थप प्रगाढ र मजवुत बनाएको धारणा व्यक्त गरेका थिए ।

विश्वविद्यालयले गुणस्तर सुधारका लागि अधिकतम प्रयत्न गरिरहेको उल्लेख गर्दै एक्जिम बैंकको सहयोगमा त्रिविका ३८ वटा आंगिक क्याम्पसहरूको भौतिक पुर्वाधारलाई थप व्यवस्थित र सृदृढ बनाउने समेत जानकारी गराएका थिए । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको आन्तरिक योजना कार्यान्यन इर्काका योजना प्रमुख रामशरण सापकोटाले भारत सरकारको सहयोगमा २०७२ सालको भूकम्प पश्चात ७० वटा विद्यालयहरू निर्माणमा आर्थिक सहयोग प्राप्त भएको र अन्तिम कार्यक्रमको रूपमा त्रिवि केन्द्रीय पुस्तकालयको शिलान्यास गरिएको उल्लेख गरेका थिए ।

त्रिवि केन्द्रीय पुस्तकालयका प्रमुख पूर्णलाल श्रेष्ठले पुस्तकालयलाई प्रविधीमैत्री र अत्याधुनिक बनाई घरमै बसेको विश्वविद्यालयमा उपलब्ध पुस्तकहरू पढ्न सक्ने वातावरण बनाउने बताए । उनले अन्तर्राष्ट्रिय स्तरको पुस्तकालयले मुलुकको शैक्षिकस्तरोन्नतीमा सकरात्मक योगदान पुयाउने उल्लेख गर्दै २४ सै घण्टा सेवा दिन त्रिवि केन्द्रीय पुस्तकालय तयार रहेको समेत बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 19 =